केशव स्थापित सरकारबाट विस्थापित होलान् ?

काठमाडौं महानगरको मेयर बनेर ०५६ सालताका चर्चामा आएका केशव स्थापित अहिले पनि त्यही राजनीतिको ब्याज खाइरहेका छन् । त्यतिवेला एमालेबाट मेयर बनेका उनी कहिले माले कहिले प्रजापरिषद्, कहिले संघीय समाजवादी हुँदै अहिले पुनः एमालेमै फर्किएर ३ नं प्रदेश सांसद हुँदै अहिले सोही प्रदेश सरकारको भौतिक पूर्वाधारमन्त्री बनेका छन् । 

केही न केही गरेर चर्चामा आइरहने स्थापित अहिले पनि दुई कुराले चर्चामा आएका छन् । एकजना महिलाले ‘स्थापितले आफूलाई यौन प्रस्ताव राखेको, तर आफूले सो प्रस्ताव नमानेका कारण जागिरबाटै हटाइदिएको’ भनेर दिएको बयान सामाजिक सञ्जालभर भाइरल भएको थियो । स्थापित अहिले फेरि भाइरल भएका छन्, प्रदेश ३ का मुख्यमन्त्रीसँगको झगडाका कारण । 

सो झगडाले यतिसम्म चरम रूप लिएको छ कि स्थापितलाई मन्त्री पदबाट बर्खास्त गर्ने तयारीमा मुख्यमन्त्री डोरमणि पौडेल पुगेको खबर बाहिरिएको छ । हटाउने प्रक्रिया शुरु भएको छ । मन्त्रीको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोप स्थापितमाथि लागेको छ । मुख्यमन्त्री पौडेलले उनलाई हटाउने अनुमतिका लागि नेकपा नेतृत्वसँग छलफल गरेका छन् । 

null

केशव स्थापितले सम्हालेको भौतिक पूर्वाधार मन्त्रालयले १७ अर्ब बजेट पाएको भए पनि सो मन्त्रालयको प्रगति नदेखिएको र पटक–पटक सम्झाउँदा पनि स्थापित नसुध्रिएका कारण उनलाई हटाउने तयारी गरिएको हो । 

त्यसो त मुख्यमन्त्री डोरमणि पौडेलसँग मन्त्रिपरिषद्मै विवाद भएको कुरालाई मन्त्री स्थापितले स्वीकार गरेका छन् । तर, आफूलाई हटाउने वा राजीनामा दिने सम्भावना नरहेको उनको दाबी छ । आफूले लक्ष्यभन्दा बढी काम गरिसकेको प्रस्टीकरण दिँदै उनले भनेका छन्, ‘१३ अर्बको टार्गेट रहेकोमा २० अर्बको कम गरिसकेको छु ।’ 

मेयर हुँदा काठमाडौंको रत्नपार्क र माइतीघर मण्डलामा बनेका अवैध घरहरू भत्काएर चर्चा कमाएका स्थापितले त्यसपछि खासै उल्लेख्य काम गरेका छैनन् । बाबुराम भट्टराई प्रधानमन्त्री भएका वेला महानगर विकास प्रधिकरणको जिम्मा पाएका उनी त्यतिवेला पनि विवादमा आएका थिए । 

कहिले काठमाडौंमा लभ पार्क खोल्छु भनेर त कहिले वर्तमान राष्ट्रपति विद्या भण्डारीको साडीमा रातो रङ छर्केर उनलाई चुनाव जिताएको बयान दिएर उनी चर्चामा आइरहे । भलै चर्चा नकारात्मक नै किन नहोस् । 

गुमनाम हुनभन्दा बदनाम हुनमै रमाइलो मान्ने स्वभावका स्थापित प्रदेश नं ३ को मन्त्रीबाट विस्थापित हुन लागेको खबरले अहिले राजनीतिक बजार तातेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *