नेकपा सचिवालय बैठक आज बस्दै, कार्यविभाजनको गृहकार्य जारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यको कार्यविभाजनका लागि सोमबार बस्ने भनिएको सचिवालयको बैठक मङ्गलबार बस्दैछ ।  

कार्यविभाजनका लागि गृहकार्य नपुगेको भन्दै मङगलवारका लागि बैठक सारिएको नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । मङ्सिर ८ गते शनिवार बसेको सचिवालयको बैठकमा कार्यविभाजनको बारेमा छलफल सुरु भएको थियो । आइतबार थप गृहकार्य गरी सोमबार त्यसको टुङ्गो लगाउने जानकारी गराइएको थियो ।  

तर आइतबारको गृहकार्य नपुगेकाले त्यसको विषयमा सोमबार पनि गृहकार्य भएको श्रेष्ठले जानकारी दिए। बैठकका लािग केन्द्रीय सदस्यको कार्यविभाजन गरी जनवर्गीय संगठन, प्रदेश समितिको पूर्णता, स्थायी समितिको बैठक लगायतका कार्यसूची तय गरेको थियो । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ । 

null

कार्यविभाजनका लागि गठन भएको कार्यदलले सोमवार थप गृहकार्य गरेको छ । कार्यदलले कार्यविभाजनको टुङगो लगाएपछि सचिवालयमा बुझाउनेछ र त्यसलाई सचिवालयमा बुझाएपछि छलफल गरि टुङगो लगाइनेछ । केन्द्रीय सदस्यको कार्यविभाजन टुङगो लगाउनुभन्दा पहिला पोलिटब्युरोको टुङ्गो लगाउनुपर्ने आवाज पनि पार्टीभित्र उठिरहेको छ तर सचिवालयले केन्द्रीय सदस्यको कार्यविभाजनलाई नै प्राथमिकतामा राखेको छ ।  

नेकपाले केन्द्रीय तहमा बनाउनुपर्ने पोलिटब्युरो, ३२ विभाग र सल्लाहकार परिषद् लगायतका समिति हालसम्म गठन गरेको छैन । केन्द्रीय कमिटीको एकतिहाइ सदस्य रहने गरी पोलिटब्युरो गठन गर्नुपर्नेछ । नौ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटी छ । सङ्गठन विभाग, विदेश मामिला विभाग, प्रचार तथा प्रकाशन विभाग र पार्टी स्कुलिङ विभाग लगायतलाई सचिवालयका सदस्यले नेतृत्व गर्ने भनिएको छ ।  

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई ४४१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको थियो । केन्द्रीय सदस्यहरुको कार्यविभाजन र प्रदेश कमिटीलाई पूर्णता दिने विषयमा अध्ययन गर्नका लािग कात्तिक ८ गते बसेको सचिवालय बैठकले सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदललाई पोलिटब्युरो, केन्द्रीय विभाग, जनवर्गीय सङ्गठनको टुङ्गो लगाउने जिम्मेवारी दिइएको थिएन । पोलिटब्युरो, केन्द्रीय विभागहरुको टुङ्गो सचिवालयले लगाउने बताइएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *