कुखुरा किसान मारमा : नाकावन्दीपछि कै ठूलो धक्का

मंसिर १२, चितवन । यतिबेला कुखुरा किसानलाई भात खाउँ कि थाल खाउँ भएको छ । उत्पादित कुखुरा बिक्री गरेर लागतअनुसारको मूल्य नपाएपछि किसान भात खाउँ कि थाल खाउँ अवस्थामा पुगेका हुन् । 

‘दानाको मूल्यले आकाश छोएको छ, मकैको मूल्य त्यस्तै बढेको छ तर कुखुराको अण्डादेखि मासुको मूल्य घटेको घट्यै छ’ नेपाल अण्डा उत्पादन संघका अध्यक्ष त्रिलोचन कँडेलले भने, ‘यतिबेला कुखुरा किसानहरुलाई नाकाबन्दीपछिकै ठूलो धक्का लागेको छ ।’ नाकाबन्दीका बेला पेट्रोलिम पदार्थ आयात नहुँदा कुखुरापालक किसानले ठूलो नोक्सानी बेहोर्नु परेको थियो । 

उनका अनुसार अहिले कुखुरा किसानले एउटा अण्डालाई ७ रुपैयाँ ५० पैसामा बिक्री गरिरहेका छन् । जबकी एउटा अण्डाको लागत नै कम्तीमा ९ रुपैयाँ पर्छ । एउटा अण्डामा किसानले कम्तीमा डेढ रूपैयाँ घाटा खाइरहेका छन् । अध्यक्ष कँडेलले भने, ‘यतिबेला पोल्ट्रीमा डिजाष्टर आएको छ, यसको समाधान तत्काल राज्यले गर्न जरुरी छ ।’ कुखुरा किसानका अनुसार अहिले दाना प्रतिकिलो ४५ देखि ५० रुपैयाँ पर्छ । मकै प्रतिकिलो ३२ रुपैयाँ छ । तर किसान उत्पादित अण्डा ७ रुपैयाँ ५० पैसामा बेच्न बाध्य भएका छन् । 

null

‘बाहिरबाट कुखुरा, अण्डा केही आएको छैन, तर किसानले उत्पादिन वस्तु यहाँ बेच्दा लागत मूल्य नै पाएका छैनन्’ अण्डा उत्पादन संघका अध्यक्ष कँडेलले भने, ‘राखिराखौँ झन् बिग्रेर नोक्सान हुन्छ, त्यसैले जति मूल्य पाउँछन्, त्यतिमै बेचिरहेका छन् ।’ उनले यही अवस्था अझै एक–दुई महिना कायम रहे धेरै व्यवसायीहरु विस्थापित हुने बताए । 

अण्डा उत्पादन संघको मूल्य निर्धारण समितिले अण्डाको मूल्य निर्धारण गरेको छ । समितिले किसानको एउटा अण्डाको मूल्य आठ रुपैयाँ नघट्ने र उपभोक्ता मूल्य ११ रहने गरी मूल्य निर्धारण गरेको छ । अध्यक्ष कँडेलले भने, ‘यो मूल्य निर्धारण गर्दा पनि किसानलाई घाटा छ, तर ठूलो घाटा नहोस् भनेर मूल्य निर्धारण गरिएको हो ।’ नवलपुर दाना अण्डा कुखुरा वितरण संघका अध्यक्ष तेजनारायण पाण्डेले कुखुरा र अण्डाको उत्पादन बढी र माग कम भएका कारणले कुखुरा र अण्डाको मूल्य घटेको बताए । 

उनले भने, ‘बेच्न सक्ने गरी सप्लायर्सहरुले खरिद गर्ने हो, अहिले बजारमा कुखुरा र अण्डाको माग अत्यन्तै कम छ ।’ उनले सप्लायर्सहरुले किसानहरुलाई मारमा पार्ने उद्देश्य नभएको बताउँदै भने, ‘कुनै बेला प्रतिक्रेट अण्डा ३६० पुगेको थियो, कुखुराको मासु प्रतिकिलो ३४० पुगेको थियो त्यतिबेला माग बढी थियो बढी परर्यो, अहिले माग कम छ कम परर्यो ।’ 

अहिले ब्रोइलर कुखुराको मासु प्रतिकिलो १३० रुपैयाँ छ । जबकि १८० रुपैयाँ प्रतिकिलो किसानको लागत नै पर्छ । किसानहरु राज्यले नै कुखुरा र अण्डाको मूल्य निर्धारण गरिदिनुपर्ने बताउँछन् । उनीहरु बजार व्यवस्थापनको समस्या, अनुगमन नहुनु, राज्यले मूल्य निर्धारण नगर्दा यस्तो समस्या आएको बताउँछन् । कुखुरा किसान राजबहादुर भुजेलले आत्मनिर्भर भएको पोल्ट्री क्षेत्रमा निराशा छाएको बताए । उनले भने, ‘कुखुरा र अण्डाको मूल्य निर्धारण व्यवसायीले गरिरहेका छन्, राज्यले एउटा मूल्य निर्धारण गरिदनुपर्छ । नत्र पोल्टी क्षेत्र धराशायी हुने अवस्था सिर्जना हुँदै गएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *