बहिर्गमित जनमुक्ति सेनाले रुँदै भने-‘ओली–प्रचण्डलाई अंगालो हालेर पड्किन्छौं’

मंसिर ७, काठमाडाैं । बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिले अबको दुई महिनाभित्र आफूहरुका माग सम्बोधन नगरे नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अंगालो हाली आत्मघाती बनेर पड्किने चेतावनी दिएका छन् । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलन गरेर जनयुद्ध र गणतन्त्रको लागि आफ्नो जीवनको बलिदान दिएका व्यक्तिहरुको बारेमा सरकार र नेकपाका अध्यक्ष प्रचण्ड बेखबर बनेको भन्दै यस्तो चेतावनी दिएका हुन् । 

समितिका अध्यक्ष अषिम लिम्बु ‘सुनिल’ले जनयुद्धका घाईते, बेपत्ता र पीडित परिवारहरुलाई सरकारले बेवास्ता गरेको आरोप लगाए । उनले भने,‘हामी कसरी अयोग्य भयौं ? हामीलाई किन जबरजस्ती अयोग्यको बिल्ला भिराईयो ? हामीले लडेर ल्याएको गणतन्त्र र परिवर्तन योग्य हुने, तर हामी कसरी अयोग्य ?’ 

null

 

उनले बहिर्गमित जनमुक्ति सेनाकाे समस्या हल गर्न सरकार र बर्तमान नेकपा गम्भिर नभएकाे जिकिर गरे । ‘हामी ४ हजार ९ जना साथीहरुको समस्या समाधान गर्न नसक्ने सरकारलाई कसरी परिभाषित गर्ने ? १८ करोडको विलाषी सुविधा खोज्ने र पुर्याउने सरकारले हाम्रा साथीहरु उपचार गर्न नसकेर रुदै हिँड्नुपरेको किन हेर्न सकिरहेकाे छैन ?’ उनले सरकार समक्ष प्रश्न गरे । अध्यक्ष लिम्बुले अाफ्ना साथीहरू गृहमन्त्रीकै सामु बिष सेवन गर्नुपरेको बताउँदै भने,‘यो सुरुवात हो, माग पुरा नगरे अब हामीसँग प्रचण्ड र नेकपाका शीर्ष नेतालाई अँगालो हालेर पड्किनुको विकल्प छैन् ।’ 

कालिकोट जिल्ला सान्नि त्रिवेणी गाउपालिकाका बहिर्गमित सेनाका कुलप्रसाद भट्टराई (कुसुम) ले गृहमन्त्रीकै कार्यकक्षमा पुगेर विष सेवन गरेका थिए । 

‘हामीले कुन गल्ती गर्यौं ? हामीले रगतसँग साटेर ल्याएको गणतन्त्रमा हामीलाई अयोग्यताको बिल्ला भिराएर किन अपमान गरियो ? 

त्यस्तै कार्यक्रममा समितिका उपाध्यक्ष यज्ञबहादुर कार्की (प्रदीप) ले गणतन्त्रको लागि रगत बगाउनेहरुले विष सेवन गरेर मर्नुपर्ने स्थिति आउनु दुःखद् रहेको गुनासो पोखे । उनले भने,‘हाम्रो देशमा सरकार छ कि छैन् ? यो सरकार कम्युनिष्ट सरकार हो कि दलालहरुको हो ? हामीले ल्याएको परिवर्तनको रातो कार्पेटमा उनीहरु हिँड्ने, हामी सडकमा पीडाका आँशु पोख्नुपर्ने ? शरीरमा भएका गोलीका छर्रा र अंगभग भएको शरिरलाई लिएर बाँच्नको लाथि भीख माग्नुपर्ने ? 

कार्यक्रममा भावुक बनेका कार्कीले रुँदै भने,‘हामीले कुन गल्ती गर्यौं ? हामीले रगतसँग साटेर ल्याएको गणतन्त्रमा हामीलाई अयोग्यताको बिल्ला भिराएर किन अपमान गरियो ? उनले प्रचण्डले कुनैबेला भनेकाे कुरा स्मरण गर्दै भने ‘बुर्जुवा शिक्षा पढ्नु पर्दैन सिरानीमा डिग्रीको मार्कसिट आउँछ भन्थे खै आज त्यो मार्क्सिट कता छ ? शान्ति सम्झौता १३ वर्षमा प्रवेश गरेको अवस्था छ, आजको दिनसम्म पनि हाम्रो स्थिति उस्तै छ, यसमा सरकार र नेकपाका नेताहरु गम्भिर छैनन् ।’ 

समितिका महासचिव राजन थापा ‘सुवास’ले तार्किक निश्कर्षसहितकाे वार्तामा बस्न आफूहरु तयार रहेको सुनाए । उनले भने,‘हामी लामो समयदेखि संघर्ष गर्दै आएका छौं, आजको दिनसम्म आईपुग्दा सरकारसँग धेरै चोटी वार्तामा बसेका छौं । सरकारले हामीसँग गुच्चा खेलेझै गरिरहेको छ, यो लज्जाबोधको विषय हो ।’ 

थापाले बहिर्गमित सेनाकाे धैर्यताको बाँध फुटेको दिन र त्यसपछि सिर्जना हुने अवस्था कसैले नसोचेको दावि गर्दै भने, ‘हामी बारुदसँग खेलेका मानिस हौं, बन्दुक बनाउन आउँछ, वैद्य, प्रचण्ड, बाबुराम, विप्लव, बादललाई बनाउने हामी नै हौं, उहाँहरुलाई खसाल्न परे कसरी रसातलमा ल्याउनुपर्छ त्यो कुरा हामीलाई थाहा छ ।’ 

समितिका अर्का उपाध्यक्ष खड्क बहादुर रम्तेल (सम्राट) ले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गर्दै तत्काल राजिनामा दिनुपर्ने माग गरेका छन् । उनले भने,‘यो सरकार हुतिहारा हो । अहिले देशमा सुशासनको अनुभुति गर्न पाईएको छैन् । भ्रष्टाचार,हत्या, हिंसा र बलात्कारजस्ता अपराध माैलाएका छन् । तर, सरकारले यसबारेमा कुनै ध्यान दिएको छैन् । प्रधानमन्त्री ओलीले तत्काल राजिनामा दिनुपर्छ ।’ 

कार्यक्रममा बहिर्गमित जनमुक्ति सेना नेपालका प्रेस संयोजक रोशन दानीले शान्तिप्रकृया पूर्णरूपमा सम्पन्न भईनसकेको अवस्थामा दिगो शान्ति निमार्णमा नेकपा सरकार कमजोर रहेको बताए । उनले देश विखण्डणन तर्फ लम्कँदै गए पनि सरकारलार्इ कुनै चासो नरहेको जिकिर गरे । 

 

कार्यक्रममा बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष रमेश बसेल (करन), उप–महासचिव कोपिला राई (कविता), कोषाध्यक्ष मोतीसरा खड्का, खड्क बहादुर रम्तेल (सम्राट), दुई नम्बर प्रदेशका संयोजक तथा घाईते रमेश कालिकोटे, तीन नम्बर प्रदेशका संयोजक मोहन कुमार योञ्जन, सुनिता श्रेष्ठलगायतले तत्काल आफूहरुलाई भरणपोषण र उपचारसँगै अयोग्यताको विल्ला हटाएर सम्मानपत्रसहित विशेष राहतको व्यवस्था गर्न माग गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nineteen =