संयोजक परिवर्तनसंगै राजपामा आन्तरिक विवाद गहिरिँदै, अध्यक्ष मण्डलको बैठक समेत प्रभावित

काठमाडाै‌ं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र अध्यक्ष मण्डलका सदस्यहरूबीच पार्टी संयोजक परिवर्तन गरिएको विषयलाई लिएर आन्तरिक विवाद थप गहिरिँदै गएको देखिएको छ। 

गत साता महन्थ ठाकुरलाई विस्थापित गर्दै राजेन्द्र महतो पार्टी संयोजक बनेपछि उक्त दलमा देखिएको आरोप प्रत्यारोपकाबीच सोमवार डाकिएको अध्यक्ष मण्डलको बैठक समेत प्रभावित हुन पुग्यो। 

तराई केन्द्रित छ वटा दल मिलेर बनेको राजपा नेपालका नेताहरूबीच लामो प्रयासपछि भएको संयोजक परिवर्तनसँगै आन्तरिक विवाद छताछुल्ल हुन पुगेको छ। 

null

मंसिर पहिलो साता अध्यक्षमण्डलको बैठकले पार्टी एकीकरणदेखिका संयोजक महन्थ ठाकुरको ठाउँमा राजेन्द्र महतोलाई संयोजक त बनायो तर त्यसको पक्ष र विपक्षमा ध्रुवीकरण देखा परेको छ। 

महतोको अध्यक्षतामा सोमवार पहिलो पटक डाकिएको बैठक हुन नसक्नुलाई त्यसकै असर ठानिएको छ। 

आउँदो वैशाखमा पार्टीको महाधिवेशन गर्ने निधो भइसकेका बेला संयोजक परिवर्तन गरिनुलाई महन्थ ठाकुर पक्षधर नेताले सहज रूपमा लिएको पाइँदैन। 

सम्झौता गरेर भए पनि सरकारमा पनि जानुपर्छ भन्ने पहिला पनि सुनिएको हो। अहिले जुन परिवर्तन भइरहेको छ वा देखिएको छ त्यो परिवर्तनको एउटा कारण यो पनि हुनसक्छ। राजपा नेपालका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले त्यसलाई सत्तामा जाने रणनीतिको रुपमा समेत आफूले बुझेको बताएका छन्। 

तर अध्यक्षमण्डलकै एक सदस्य राजकिशोर यादवले बाहिर सार्वजनिक भएजस्तो आफ्नो पार्टीभित्र आन्तरिक विवाद नरहेको दाबी गरेका छन्। 

नेता ठाकुरकै अनुरोध अनुसार पार्टीको संयोजक परिवर्तन भएको उनले दावी गरेका छन्।  

“ठाकुरजीलाई हटाएर अरु कसैलाई बनाएको होइन। न कसैलाई हटाएको हो न कसैलाई बनाएको हो। महतोजी मर्यादाक्रममा दोस्रो नम्बरमा पर्ने भएको हुनाले अब तेस्रोको पालो आउँछ त्यहाँ। त्यसैले यो एकप्रकारले जुन चक्रिय प्रणाली रोकिएको थियो। त्यो सुचारु भएको हो।”  

पार्टी एकताका बेला छजना अध्यक्ष चक्रिय प्रणाली अनुसार संयोजक बन्ने बताइए पनि त्यो लागू भएको देखिएको थिएन। 

पार्टी महाधिवेशन नजिकिँदै गर्दा देखिएको उक्त विवादलाई भावी नेतृत्व लक्षित कसरत ठान्नेहरूले संविधान संशोधनको पक्षमा राजपा नेपालले गर्दै आएको लामो प्रयास प्रभावित हुनसक्ने आशङ्का गर्छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *