विराटनगरको सडकः पानी पर्दा हिल्लामे, घाम लाग्दा धुलाम्मे

विराटनगर, मंसिर ५ । पानी पर्दा केही समय हिलाम्मे हुने र घाम लागेपछि धुलाम्मे हुने विराटनगरका सडकहरु अझै फेरिन सकेका छैनन् । जनताले पाउने कष्ट र उनीहरुको स्वास्थ्यमा विचार नगरी अझै सुस्त गतिमै विकास निर्माणका कामहरु भइरहेका छन् । 

सडक नालाहरु बनाउने क्रममा उत्पन्न हुने धुलो धुवाँलाई व्यवस्थित नगरिँदा सर्वसाधारणहरु यसको जोखिम सहन बाध्य छन् । नेपालमा वायु प्रदुषणका कारण वर्षेनी हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन् । त्यसको मुख्य कारण भनेको धुलो धुवाँ नै भएको चिकित्सकहरु बताउँछन् । 

धुलो धुवाँ र सवारी चाप बढेसँगै विराटनगरमा प्रदुषणको मात्रा पनि बढेको छ । वर्षायाममा केही हल्का भएको धुलोधुवाँ हिउँद लागेसँगै बढ्न थालेपछि यहाँका स्थानीय आजित बनेका छन् । 

null

 

विराटनगरमा सिटि रिक्सा चलाउँदै आएका घनश्याम महतोले विराटनगर महानगरपालिकाले विकासका नाममा विगत दुई वर्षदेखि धुलो आतंक मच्चाई रहेको आरोप लगाए । उनले विराटनगर महानगरपालिकाका अधिकांश खनिएका सडकहरु व्यवस्थित नहुँदा धुलो धुँवाले हैरान बनाउने गरेको बताए । उनले भने ‘ विराटनगरमा यति धेरै धुलो उड्छ बिहान बजार आएर बेलुका घर पुग्दा चिन्नै नसकिने अवस्थामा पुगिन्छ ।’ 

उनले विराटनगर महानगरपालिकाले भत्काइएका सडकहरू चाँडै निर्माण नगर्नाले धुलो आतंक फैलिरहेको आरोप लगाए । महतोले विराटनगरका होटल तथा पशलहरुमा धुलोकै कारण स्वस्थ्य खानेकुरा नपाइने गरेको दाबी गरे । उनले धुलोले नगरवासिहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्या उत्पन्न हुने गरेकाले महानगरले तत्काल यस तर्फ ध्यान दिनुपर्ने बताए । 

 

त्यस्तै विराटनगरका व्यवसायी घनश्याम कुमार शाहले विराटनगरको अत्याधिक धुलोले व्यापार व्यवसाय गर्न समेत समस्या परिरहेको गुनासो गरे । उनले भने ‘धुलोकै कारण व्यापारमा बिक्री बट्टा छैन । दिनहुँ विराटनगर बजार धुलोले कुहिरी मण्डल जस्तै देखिन्छ । विराटनगर महानगरपालिका विकास निर्माणको काम चाँडै सम्पन्न गर्नुभन्दा पनि टावर बनाउने तिर अगाडी बढ्दैछ । हामी सँग कर धेरै लिएपछि सुविधा दिनुपर्ने हो तर यसो गरेको छैन । अब पनि चाँडै धुलोको समस्या समाधान गरेन भने चुप लागेर बस्नेवाला छैनौँ ।’ 

विराटनगरमा सबै भन्दा बढी धुलोको मारमा ट्राफिक प्रहरीहरु पर्ने गरेका छन् । ट्राफिक व्यवस्थापनमा अहोरात्र खटिएका उनीहरु धुलोकै कारण विभिन्न रोगको शिकार बन्न बाध्य हुँदै आएका छन् । उनीहरुले सबैभन्दा बढी समय सडकमै बिताउनु परेका कारण धुलोबाट उनीहरु नै बढी पिडित छन् । 

डियुटिमा भेटिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक हवल्दार विष्णु गेलालले भने ‘ विराटनगरमा सबै सडकको दुरावस्था छ । ठेकेदारले राम्रो काम गरेको हो की नगरेको हो थाह भएन, तर विकास निर्माणको काममा निकै ढिला सुस्ति भएको महसुस गरेको छु । सवारी साधनको चाप अत्याधिक बढेको छ । ट्राफिक प्रहरीले मात्र सबै काम भ्याउनु परेको छ । सडक पहिलो प्रथामिकता भएपनि प्रथामिकता नदिँदा उड्ने धुलोले ट्राफिक व्यवस्थापन र स्वास्थ्य नकारात्मक असर पारिरहेको छ ।’ 

 

यता विराटनगर महानगरपालिकाले भने धुलो न्यूनिकरणका लागि बेला बेलामा पानी छर्ने गरिएको बताएको छ । विराटनगर महानगरपालिकाका प्रवत्ता राजेन्द्र प्रधानले विराटनगरमा हाल एसियाली विकास बैंकको परियोजना अन्तर्गत सडक र ढल निर्माणको काम भइरहेकाले विभिन्न सडकहरु भत्काईएको र निर्माण कार्य जारी रहेकाले केही हद सम्म धुलो बढ्नु स्वभाविक भएको बताए । उनले धुलो न्यूनिकरणका लागि बेलाबेलामा सडकमा पानि छर्किरहेको दाबी गरे । 

धुलोमा उडेका प्रदुषणका कणहरु फोक्सोको नलीमा गएर जम्ने गर्छन्, जसले दीर्घकालमा स्वास्थ्यमा ठूलो खतरा निम्त्याउँछ । पछिल्लो समय यस्तो प्रदुषणका कारण फोक्सो, मुटु, आँखा र छालाका रोगको जोखिम बढेको छ । वायु प्रदुषणले रुघाखोकी, ब्रोनकाईटिस, सि.ओ.पी.डि, दम, निमोनिया, छातीमा पानी जम्ने, छातीको क्यान्सर हुने जस्ता रोगहरुलाग्ने गर्छन् । 

विराटनगरको कोशी अञ्चल अस्पतालमा गएको वर्ष भर्ना भएका १७ हजार ७ सय ३३ बिरामी मध्ये ८५३ जना निमोनियाका रहेका छन् । जसमा ३ जनाको मृत्यु भएको तथ्यांक छ । त्यस्तै अन्य रोगहरु ब्रोनकाईटिसका ११ जना, दमका ५५ जना, छातीमा पानी जम्ने ४९ जना र सि.ओ.पी.डिका करिब ४ सय जना बिरामी भर्ना भएका छन् । 

गत वर्ष सि.ओ.पी.डिका कारण भर्ना भएका १० जना बिरामीको मृत्यु भएको छ । गएको दुई वर्षयता विराटनगरमा धुलोधुवाँले बिरामीको मात्रा बढेको जानकारी दिँदै कोशी अञ्चल अस्पतालका छाती रोग विशेषज्ञ डा. पुरु कोइरालाले यसबाट बच्न धुलो धुवाँ भएको ठाउँमा जान कम गर्नुपर्ने बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *