‘अबको शिक्षालाई प्राविधिक र व्यावसायिक बनाइने छ’ नेकपा अध्यक्ष प्रचण्ड

मंसिर ४, चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब नेपालको शिक्षालाई प्राविधिक र व्यवसायिक बनाइने बताएका छन् । उनले हरेक सामुदायिक विद्यालयमा कुनै न कुनै प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने वातावरण सरकारले बनाउने बताए । 

भरतपुर महानगरपालिका २५ शुक्रनगरस्थित राष्ट्रिय मावि शोशीको स्वर्ण जयन्ती समापन समारोहमा प्रमुख अतिथिसमेत रहेका अध्यक्ष प्रचण्डले शिक्षामा भइरहेको व्यापारीकरणलाई नियमन गर्ने बताए । उनले भने– ‘सामुदायिक विद्यालयलाई सधैँ कमजोर बनाइनु हुँदैन, यसले गुणस्तरीय शिक्षा प्रदान गर्न सके शिक्षामा व्यापारीकरण विस्तारै कम हुँदै जान्छ ।’ 

उनले शिक्षामा व्यापारीकरण मौलाएको हुनाले सामुदायिक विद्यालयमा ठूलो असर परेको बताए । उनले भने–‘अबको शिक्षा व्यावसायिक, वैज्ञानिक र प्राविधिक खालको हुनुपर्छ । सरकारले सामुदायिक विद्यालयहरुमा प्राविधिक विषयहरु सञ्चालन गर्न जोड दिइरहेको छ ।’ 

null

‘प्रचण्ड’ले समृद्ध नेपालको सुखी नेपालीको परिकल्पना नै हाम्रो सपना भएको र सो सपना पुरा गर्ने आधारभुत तत्व शिक्षा भएको बताएका छन् । 

अध्यक्ष प्रचण्डले सामुदायिक विद्यालयलाई सधैँभर कमजोर अवस्थामा नराखिने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले भने–‘सामुदायिक विद्यालयमा सरकारले ठूलो लगानी गरेको छ, यसको सदुपयोग गर्दै गुणस्तरीय शिक्षा दिन सक्ने हुनुपर्छ । सरकार हरतरहले सहयोग गर्न तयार छ ।’ 

उनले देशमा निजीकरणले सामुदायिक विद्यालय बन्द हुने अवस्था सिर्जना भएको बताए । ‘निजीकरणलाई नियमन गरिन्छ, सामुदायिक विद्यालयलाई शैक्षिक आकर्षणको केन्द्रविन्दू बनाइन्छ, सरकार यही मार्गमा हिँडेको छ ।’ उनले भने–‘सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तर सुधारका साथै भौतिक पूर्वाधारमा समेत ध्यान दिन पर्ने हुन्छ ।’ कार्यक्रममा अध्यक्ष प्रचण्डले शोशीको विद्यालयलाई संसद विकास कोषबाट तत्कालका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । 

स्वर्णजयन्ती समारोह अध्यक्ष घनश्याम चापागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्वउपप्रधानमन्त्री अमिक शेरचन, महानगर प्रमुख रेनु दाहाल, वडाध्यक्ष विजय भुजेललगायतले मन्तव्य दिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशी न्यौपानेले विद्यालयको भौतिक पूर्वाधार, गुणस्तर, शैक्षिक अवस्थाबारे मन्तव्य दिएका थिए । विद्यालयका प्राचार्य हरि सुवेदीले विद्यालयको शैक्षिक अवस्थाबारे बताए । 

कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने १५० भन्दा बढीलाई सम्मान गरिएको विद्यालयका सहायक प्राचार्य तारानाथ अधिकारीले बताए । आर्थिक विभाग प्रमुख केशव बस्यालले विद्यालयले स्वर्णजयन्तीको अवसरमा सालिक अनावरण, स्वर्णद्वार निर्माण गरेको बताए । 

चितवनमा शिक्षा विभागबाट स्वीकृत लिएर ६ वटा माध्यमिक विद्यालयले प्राविधिक विषयहरु सञ्चालन गरेका छन् । सीटीईभीटीबाट स्वीकृति लिएर प्राविधिक विषयहरु सञ्चालन गर्ने १० भन्दा बढी विद्यालयहरु छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *