टर्की हुँदै ग्रिस हिँडेका २२ आप्रवासीको सडक दुर्घटनामा मृत्यु

टर्कीमा आप्रवासीले खचाखच भरिएको एउटा ट्रक नहरमा खस्दा कम्तीमा २२ को मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिकासमेत रहेको त्यहाँको सरकारी  मिडियाले जानकारी दिएको छ । 

टर्कीको पश्चिमी प्रान्त इजमिरमा उक्त दुर्घटना भएको हो । सडक अवरोधका लागि राखेको ब्यारियरसँग ठोक्किएपछि ट्रक २० मिटर तल सिँचाईका लागि बनेको नहरमा खसेको बताइएको छ । दुर्घटनामा मारिएकाको सनाखत हुन सकेको छैन । 

एक दिनअघि मात्र ग्रिसमा एउटा कारमा आगो लागेका कारण ११ प्रवासीको मृत्यु भएको थियो ।अनादोलू एजेन्सीको एक रिपोर्ट अनुसार आइतबार दुर्घटनाग्रस्त भएको उक्त ट्रक एदिन र इजमिरको बीचमा यात्रा गरिरहेको थियो । 

null

रिपोर्टका अनुसार ती प्रवासी समुन्द्री तटतर्फ जाँदै थिए जहाँबाट उनीहरु सानो ढुङ्गामार्फत ग्रीसको सामोसद्वीप जाने तयारीमा थिए । दुर्घटनामा १३ जना घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । 

३५ वर्षे टर्कीका ट्रक ड्राइभरले विपरित दिशाबाट आइरहेको गाडीबाट बच्नका लागि ट्रकलाई मोडेको पुलिसलाई जानकारी दिए । पुलिसका अनुसार उक्त दुर्घटनामा दुई बच्चा, दुई नवजात र एक गर्भवती महिलाको पनि मृत्यु भएको छ । 

अनुसन्धानकर्ताका अनुसार अस्पतालबाट डिस्चार्ज भएपछि ड्राइभरलाई पक्राउ गरिने सम्भावना छ । युद्ध प्रभावित सिरिया र अन्य क्षेत्रबाट पश्चिमी युरोपतर्फ जाँदा धेरैजसो प्रवासी टर्कीको बाटो रोज्छन् । 

सन् २०१५ मा टर्कीको बाटो हुँदा १० लाखभन्दा बढी प्रवासी ग्रिस पुगेका थिए । तर टर्की र युरोपेली संघबीच सम्झौता भएपछि युरोप जाने प्रवासीको संख्यामा कमी आएको छ । 

संयुक्त राष्ट्रका अनुसार यसवर्ष अहिलेसम्म टर्कीको बाटो हुँदै २४ हजार पाँच सयभन्दा प्रवासी युनान पुगेका छन् । यीमध्ये एक सय १८ को बाटोमा नै मृत्यु भयो ।-बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *