आविष्कार केन्द्रलाई सहयोग जुट्दै

बागलुङ, १६ साउन । राष्ट्रिय आविष्कार केन्द्रका लागि यहाँ सञ्चालन गरिएको ‘महावीर पुनलाई हाम्रो साथ’ अभियानमा आर्थिक सहयोग जुट्न थालेको छ । ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’ नामक युवा समूहले थालेको अभियानबाट हालसम्म रु ६० हजार संकलन भएको छ । विभिन्न संस्था र व्यक्तिबाट उक्त रकम सहयोग आएको युवा समूहका अध्यक्ष सोम शर्माले जानकारी दिनुभयो ।

“चारजनाले रु पाँच हजारभन्दा बढी सहयोग दिनुभएको छ”, अध्यक्ष शर्माले भन्नुभयो, “तीन महिनासम्म चल्ने अभियानमा रु दुई लाख बढी उठाउने लक्ष्य छ ।” समूहले आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनकै उपस्थितिमा डेढ महिनाअघि अभियान शुरु गरेको थियो । देश विदेशमा रहेका नेपालीले स्वःस्फूर्तरुपमा अभियानमा सघाएको अध्यक्ष शर्माले बताउनुभयो । आविष्कार केन्द्र राष्ट्रिय मुद्दासँग जोडिएकाले अभियानमा सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

“हाम्रो सानो युवा समूह यस अभियानमा जुटेको छ, सबैको सहयोग हुनेमा विश्वस्त छौँ”, शर्माले भन्नुभयो, “तीन महिनाको अवधिमा संकलित रकम आविष्कार केन्द्रलाई हस्तान्तरण गर्छौं ।” प्रतिष्ठित म्यागासेसे पुरस्कार विजेतासमेत रहनुभएका पुनको अवधारणामा बन्न लागेको केन्द्रलाई देशविदेशमा सहयोग अभियान चलेको छ ।

पुनले मुलुकको समृद्धिका लागि आविष्कार केन्द्रको खाँचो औँल्याउँदै आउनुभएको छ । पूर्वाधार क्षेत्रमा राज्यले खर्चने रकमको एकदुई प्रतिशत आविष्कार केन्द्रका लागि छुट्याउनुपर्ने उहाँको माग छ । आविष्कार केन्द्रले प्रतिभा पलायनलाई रोक्ने र त्यसले मुलुकलाई सम्पन्नशाली बनाउने उहाँको दाबी छ ।

पूर्वाधार निर्माणले मात्र समृद्धि प्राप्त नहुने भन्दै मानवीय संशाधनलाई मुलुकमै टिकाउने वातावरण बनाउनुपर्ने पुनको तर्क छ । आविष्कार केन्द्रको अवधारणालाई राज्यले जिम्मेबार ढंगले लिन नसकेको उहाँको गुनासो छ । सामाजिक अभियान्तासमेत रहनुभएका पुनले अपेक्षित रकम नजुटेपछि गत महिना आफूले पाएका पदक तथा पुरस्कार बिक्रीमा राख्नुभएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *