आधा साउन सकियो, खेत बाँझै 

किशोर खनाल, भरतपुर । आधा साउन सकिँदा पनि चितवनमा अझै १५ प्रतिशत धान खेत बाँझै बसेको छ । पर्याप्त पानीको अभावमा पश्चिम चितवनका १५ प्रतिशत खेतीयोग्य जमिन बाँझै भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
भरतपुर महानगर पश्चिमतर्फका शिवनगर, फूलबारी, पार्वतीपुर, शुक्रनगर, दिव्यनगर, गुञ्जनगर, शारदानगरका केही खेतीयोग्य जमिन पानीकै अभावले बाँझै बसेको हो । ‘साउनका आधासम्म चितवन जिल्लामा ८५ प्रतिशत रोपाइँ भइसकेको छ । जिल्लाको पश्चिमतर्फका केही भूभागमा रोपाइँ हुन बाँकी नै छ’ जिल्ला कृषि विकास कार्यालका प्राविधिक सहायक नोधनाथ लामिछानले भने । उनले पानीको अभाव भएन भने केही दिनभित्रमा चितवनमा रोपाइँ सकिने बताए ।
चितवनमा गत वर्ष साउन आधाआधीसम्म धान गोढ्ने बेला भएको थियो । ‘गत वर्ष पानीको अभाव भएको थिएन, तर अहिले पर्याप्त पानीको अभाव भएकाले रोपाइँ समयमै हुन सकेन’ प्राविधिक सहायक लामिछानेले भने, ‘बल्ल पानी पर्दैछ, केही दिनमा रोपाइँ सकिएला ।’
पश्चिम चितवनका अधिकांश खेतहरु आकाशे पानीको भरमा निर्भर छन् । पर्याप्त पानीको अभाव भएपछि कतिपय किसानले बोरिङबाट खेत रोपाइँ गरेका छन् । बोरिङबाट खेत रोपाइँ गर्दा किसानको लागत बढेको छ । रोपाइँ गर्दा लाग्ने खर्च गत वर्षको तुलनामा यस वर्ष बढी परेको छ ।

‘व्याडको बीउ बूढो भइसक्यो, गरा पूरा भिज्ने गरी पानी परकै छैन । स्यारस्यार परेको पानीले रोपाइँ हुन सक्दैन’ भरतपुर महानगर २५ का दीपक खनालले भने, ‘बोरिङबाट केही त रोपियो, तर अझै रोपाइँ गर्न बाँकी नै छ यहाँ ।’
जेठ २९ गतेबाट नेपालको पूर्वी भाग हुँदै प्रवेश गरेको मनसुन सक्रिय हुन नसक्दा अझै खेत बाँझै बसेको छ । मनसुनको आगमन नै कमजोर अवस्थाले भएको हुँदा पर्याप्त पानी पर्न नसकेको मौसमविद्हरु बताउँछन् । पश्चिमी वायुको प्रभाव कम हुन थालेपछि पर्याप्त पानी पर्ने र त्यसको लागि अझै केही दिन लाग्ने मौसमविद्हरुले अनुमान गरेका छन् ।
‘पूर्वीचितवनमा ९५ प्रतिशत रोपाइँ भइसकेको छ, पश्चिम चितवनमा रोपाइँ हुन अझै बाँकी छ’ प्राविधिक सहायक लामिछानेले भने । साउन आधा सकिँदा देशभर अझै ३२ प्रतिशत जमिनमा धान रोपाइँ हुन सकेको छैन । रोपाइँ ढिलो भएको हुनाले यस वर्ष धानको उत्पादन घट्ने सम्भावना देखिएको छ ।
चितवनमा यस वर्ष १ लाख २५ हजार मेट्रिक टन धान फल्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय भरतपुरका प्रवक्ता कमला न्यौपानेले जानकारी दिइन् । चितवनमा पनि रोपाइँ गर्न ढिलाइ हुँदा धानको उत्पादन घट्ने अनुमान गरिएको छ । यो वर्ष चितवनमा २९ हजार २०० हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ ।
नेपालको खेती हुने कुल क्षेत्रफलमध्ये ५०.२ प्रतिशत जग्गामा धानखेती हुन्छ । यसमध्ये तराईमा ६९.१ प्रतिशत, पहाडमा २६.८ प्रतिशत र उच्च पहाडी क्षेत्रमा ४.१ प्रतिशत हेक्टरमा धानखेती हुन्छ । यस वर्षको आर्थिक सर्वेक्षणअनुसार यो वर्ष कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २८.९ प्रतिशतमा सीमित रहनेछ । अघिल्लो आर्थिक वर्ष जीडीपीमा कृषिको योगदान ३१ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण जीडीपीमा कृषि क्षेत्रको हिस्सा घट्दै गएको हो । कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *