बूढानीलकण्ठको ४० आना जग्गा ठगी प्रकरणमा मालपोत प्रमुखकै हात !

“
काठमाडौँ, असोज १४ । बूढानीलकण्ठको ४० आना जग्गा ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले मालपोत कार्यालय चाबहिलका प्रमुखलाई नियन्त्रणमा लिएको छ ।
मिलेमतोमा जग्गाको कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा प्रहरीले मालपोत कार्यालय चाबहिलका प्रमुख उपसचिव कमलप्रसाद तिमिल्सिनालाई नियन्त्रणमा लिएको हो । उपसचिव तिमिल्सिनासहित अन्य चार जना कर्मचारीलाई महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले नियन्त्रणमा लिएको हो ।
यसअघि पक्राउ परेका मलोपत कार्यालयका अधिकृत खगेन्द्र अर्याल, नासु रघुनाथ तिमिल्सिना र नासु रञ्जनकुमार खरेल र नासु जमुना कुमारी श्रेष्ठको बयान तथा अनुसन्धानका क्रममा प्रमुखको पनि संलग्नता देखिएपछि तिमिल्सिनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बुढानिलकण्ठमा रहेको चन्दनकृष्ण कायस्थको ४० आना जग्गा भदौ १८ गते मालपोत कार्यालयका कर्मचारीहरूको मिलेमतोमा ६ करोड रुपैयाँमा नक्कली व्यक्तिका नाममा किनबेच भएको थियो । प्रहरीले जग्गा खरिद गर्नेलाई पनि नियन्त्रणमा लिइसकेको छ। प्रहरीले जमिनको श्रेस्ताको जिम्मा राख्ने, श्रेस्ता तयार पार्ने र रुजु गर्ने कार्यमा संलग्न कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो।
कायस्थको नामका लालपुर्जा, नागरिकता, वारेस नामसहितका नक्कली कागजपत्र खडा गरेर जमिन किनबेच भएको थियो। मालपोतका कर्मचारीहरुले मिलेमतो गरेर कार्यालयको श्रेस्तानै फेरबदल गरेका थिए।
कर्मचारीको मिलेमतोमा ६ करोड रुपैयाँ बराबरको जग्गा कीर्ते गरी बिक्री भएको खुलेको छ । अर्काको नामको जग्गा कीर्ते कागजपत्र बनाएर बिक्री गरेको आरोप प्रहरीको छ । बूढानीलकण्ठ ७ को ‘ग’को कित्ता नम्बर ३२३, ३२५ र ३२९ का जग्गाको कागजपत्र कीर्ते गरी श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराईको नाममा पास गरिएको थियो।
“








