रुकुम र नवलपरासीको विवाद टुङ्गो लगाईदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं, साउन १३ । निर्वाचन आयोगले प्रदेशको सीमांकनका क्रममा विभाजित भएका दुई जिल्लाबारे टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री देउवालाई भेट गरी दुई वटा प्रदेशमा पर्ने नवलपरासी र रुकुम जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचन गर्नका लागि नेपाल सरकारको तर्फबाट जिल्ला समन्वय समितिको गठन कसरी गर्ने भन्ने सम्बन्धमा स्पष्ट हुन आवश्यक रहेको बताएका हुन् ।

भेटमा आयोगका पदाधिकारीहरुले २०७४ माघ ७ गतेसम्म सम्पन्न गर्नुपर्ने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि आवश्यक कानून र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन समयमै उपलब्ध हुनुपर्नेमा जोड दिएका थिए । स्थानीय तह प्रदेश नम्बर २ को निर्वाचनको तयारीको बारेमा आयोगले गरेका तयारी तथा निर्वाचन सम्पन्न भएका जिल्लाहरूमा जिल्ला समन्वय समितिको निर्वाचन सञ्चालन भइरहेको सन्दर्भमा समेत छलफल भएको थियो ।

आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मतपत्रको वैकल्पिक उपाय विद्युतीय मेशिनको प्रयोग गरी निर्वाचन सञ्चालन गर्ने सम्बन्धमा समेत छलफल भएको थियो । साथै निर्वाचनको लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिटै आयोगलाई उपलब्ध गराई दिन तथा निर्वाचनको मिति यथाशक्य छिटो घोषणा गर्न पनि आग्रह गरिएको आयोगका प्रवक्ता सुर्य शर्माले जानकारी दिनुभयो ।

जावाफमा प्रधानमन्त्री देउवाले छिटै आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आयोगलाई उपलब्ध गराउने विश्वास दिलाउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *