काराबाओ कपः लिभरपुललाई २–१ ले पराजित गर्दै चेल्सी चौथो चरणमा

“
एजेन्सी, असोज ११ । चेल्सी काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारबाओ कप अन्तर्गत बुधबार रातिको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी लिभरपुललाई २–१ ले पराजित गर्दै चेल्सी चौथो चरणमा पुग्न सफल भएको हो ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा चेल्सीको खेलको अन्त्यतिर गोल गर्दै चौथो चरणमा पुग्न सफल भएको हो । चेल्सीका लागि इमर्सन र इडेन हाजार्डले गोल गरे । लिभरपुलका ड्यानियल स्टुरिजले गोल गरे ।
प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा कुनैपनि गोल सम्भव भएको थिएन । तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ५९औं मिनेटमा ड्यानियल स्टुरिजले गोल गरेपछि लिभरपुल खेलमा १–० ले अघि बढेको थियो । तर, लिभरपुल अन्तिम ११ मिनेट सम्हालिन सकेन ।
७९औं मिनेटमा इमर्सनले गोल गरेपछि खेल १–१ गोलको बराबरी भएको थियो । हाजार्डको फ्रिकिकमा गोलरक्षक मिग्नोलेट र बार्कलेको आपासी तालमेल मिल्न नसक्दा इमर्सनले हेडमार्फत गोल गर्न सफल भएको थियो । तर, उक्त गोल भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहायताबाट मान्यता पाएको थियो । इमर्सनलको यो चेल्सीका लागि पहिलो गोल हो ।
८६औं मिनेटमा निर्णायक गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए ।
“








