‘कांग्रेसलाई बाहिरबाट हैन भित्रैबाट खतरा छ’ नेता केसी

“
असोज ९, काठमाडौं । कांग्रेसको लागि अहिलेसम्मकै जटिल एवम् चुनौतीपूर्ण कालखण्ड भएको नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले बताएका छन् ।
आज रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्दै नेता केसीले पार्टीलाई बलियो बनाउनका लागि नेतामुखी नभएर जनतामुखी र संस्थामुखी भएर अगाडी बढ्नुपर्ने बताए ।
‘अहिले कांग्रेस जटिल अवस्थामा छ, यसबाट अगाडी बढ्ने होभने, जनतामुखी र संस्थामुखी पार्टी भएर अगाडी बढ्नुपर्छ ।’ उनले भने ।
पूर्वमन्त्री समेत रहेका केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दा पनि पार्टीभित्रकै कुरीति र कुसंस्कारबाट बढी चुनौती रहेको दावि गरेका छन् । ‘पार्टीलाई बाहिरबाट भन्दापनि भित्रबाटै खतरा छ, जसलाई सुधार गरेर अगाडी बढ्न आवश्यक छ ।’ उनले भने ।
केसीले मुलुक संघीय संरचनामा गैसकेकोले अब विधान बनाउन मस्यौता समिति गठन भएको र समितिले प्रारम्भिक मस्यौदा तयार पारेको भन्दै पार्टीको ७ वटै प्रदेशमा १२ वटा भेला हुने बताए ।
उनले साक्षात्कारमा बोल्दै पार्टीलाई सामूहिक नेतृत्व पद्धतिमा लैजानुपर्ने, निर्वाचन पद्धतिबाट पदाधिकारी नियुक्त गर्नुपर्ने, १५ प्रतिशतमात्रै मनोनित गर्नुपर्ने, अरु सबैमा निर्वाचन पद्धतिबाट टुंगो लगाउनुपर्ने जिकिर गरे ।
केसीले आफुले १२ औं महाधिवेशन हुँदै गर्दा तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालालाई पार्टीलाई सामूहिक नेतृत्वबाट लैजानुपर्छ भन्दा कोइरालाले नमान्दा पार्टी कमजोर भएको जिकिर गरे । ‘मैले १२ औं महाविधेशनको उद्घाटनकै समयमा पार्टीलाई समय–अनुकुल सामुहिक नेतृत्वमा लानुपर्छ भन्दा उहाँले वीपीको सिद्धान्तको कुरा गर्नुभयो, एउटा व्यक्तिलाई सिंगारेर पार्टी चलाउँदा अहिलेको स्थिति आएको हो ।’ उनले भने ।
केसीले लोकतन्त्रलाई अझै मजबुत र सशक्त बनाउने प्रक्रियामा पार्टीको विधानमा निर्वाचन गर्ने र निर्वा्चित प्रतिनिधिहरूबाट (महाधिवेशनबाट) नै पदाधिकारी, संसदीय समिति र अनुशासन समितिजस्ता समितिहरू निर्माण हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको जिकिर गरे ।
उनले गिरिजाबाबु र सुशील कोइराला हुँदा पनि सभापति पद्धतिको कुरा गरेको भन्दै भने । ‘देउवाजीमात्रै होइन, एकचोटी सभापति हुनेहरूले सधैँभरि सभापति ‘मै हुन्छु’ भन्ने अहंकार र स्वप्न देखेका छन्, त्यो स्वप्न महाधिवेशनले नै भोलि टुंगो लगाउँछ ।’
पार्टीमा एउटै विचार जसले जे राख्छ त्यसैलाई मात्रै मानेर हिँड्नु भनेको अधिनायकवादी शासन पद्धति हुने भन्दै अधिनायवादको दुर्गन्धित वातावरणबाट पार्टीलाई मुक्त गराउन निर्वाचन पद्धतिबाट सबै तहमा निर्वाचन गर्नुपर्ने केसीको जोड थियो ।
“








