घरेलुु मैदानमै लय गुुमायो बार्सिलोनाले, मुस्किलले टार्यो हार

“
एजेन्सी, असोज ८ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार रातिको खेलेमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना आफ्नै घरेलु मैदानमा बराबरीमा रोकिएको छ। यसअघिका ४ खेलमा जित निकालेको बार्सिलोना पाचौं खेलमा गिरोनासँग २-२ को बराबरीमा रोकिएको हो ।
आइतबारको खेल बार्सिलोनाका लागि बिर्सनलायक रह्यो । खेलको १९ औं मिनेटमा कप्तान मेसीले गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटको खेल चलिरहँदा बार्सिलोनाका डिफेन्डर क्लेमेन्ट लेङलेटले बल खोस्ने क्रममा विपक्षी खेलाडीको नाकमा हातले हानेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाए । १० खेलाडीमा सीमित भएको बार्सिलोना खेलमा प्रभाव जमाइ राख्न सफल भएपनि ४५ औं मिनेट स्टुनीले गिरोनाका लागि गोल गरेपछि पहिलो हाफ १-१ बराबरीमा सकियो ।
दोस्रो हाफ सुरु भएको केही छिनपछि ५० औं मिनेटमा स्टुनीले टोलीका लागि दोस्रो गोल गरेपछि बार्सिलोना २(१ ले पछि पर्यो । ६३ औं मिनेटमा डिफेन्डर जेरार्ड पिकेले बार्सिलोनाका लागि गोल गरी खेल बराबरी बनाए । १० खेलाडीमा सीमित भएपनि बार्सिलोनाका खेलाडीले जितका लागि निरन्तर आक्रमण जारी राखेका थिए । त्यसपछि कुनै गोल हुन नसक्दा खेल बराबरीमै सकियो ।
यस खेलको बराबरीपछि ५ खेलबाट १३ अंक बनाएको बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट समान अंक रहेको रियल मड्रिड गोलअन्तरमापछि पर्दै दोस्रो स्थानमा रहेको छ ।
ला लिगाका आइतबारका अन्य खेलमा सेभिल्लाले लेभान्टेलाई ६-२ को फराकिलो अन्तरले पराजित गर्यो । एथ्लेटिक बिल्बाओ-रियल बेटिसले २-२ र भिल्लारियल-भ्यालेन्सियाले गोलरहित बराबरी खेले ।
“








