दाँत किन हुन्छ पहेँलो र कालो ? यस्ता छन् दाग हटाउने उपाय

“खानेकुरा चपाउनका लागि नभई नहुने दाँत सुन्दरताको प्रतिक पनि हो । पछिल्लो समय दाँतसम्बन्धी रोग र नमिलेका दाँतको उपचारप्रति मानिसहरु सजग हुँदै गएका पनि छन्। दाँतका विभिन्न समस्यामध्ये दाँतको रङ पनि एउटा हो। दाँतको रङ सामान्य सेतोभन्दा बेग्लै छ भने मानिस चिन्तत हुन्छन्। कसैलाई पहेँलो दाँतले समस्या पार्छ त कसैको कालो दागले हैरान। दाँतको रङ फरक हुनासाथ मानिस हाँस्न र बोल्न नै कञ्जुसी गर्न थाल्छन्। यसले मानिसको आत्मविश्वासमा कमी ल्याउन सक्छ।
दाँतमा बस्ने दाग प्रायः दुई किसिमका हुन्छन, बाहिरी र भित्री। बाहिरी दाग प्रायः अस्थायी हुन्छन् र मेसिनले सफा गर्दा हट्छ। भित्री दाग भने हट्दैन र यिनीहरु स्थायी हुन्छन् र यसले सम्पूर्ण दाँतको रङ नै परिवर्तन गरिदिन्छन्। दाँतमा दाग बस्ने र रङ परिवर्तन हुने कारणहरु निम्नानुसार छन् ।
बाहिरी दागका कारणः कफी, चिया, केही ठाउँका जमिनमुनिको पानीको प्रयोग, रक्सी, खैनी र चुरोटको सेवन आदिले दाँतको बाहिरी भागको इनामेलमा दाग बस्छ। दाँत राम्ररी सफा नगर्नाले र कुनैकुनै मुख कुल्ला गर्ने औषधिको प्रयोगले पनि दाग बसेर दाँत नराम्रो देखिन्छ।
भित्री दागका कारणः क्यानसरको उपचारमा प्रयोग हुने औषधि, साइकोसिसमा प्रयोग हुने औषधि, एलर्जीको औषधि, फ्लोराइडको चाहिनेभन्दा बढी प्रयोगले गर्दा दाँतको भित्री भागमा दाँग बस्छ। यस्तै आमाले गर्भावस्थामा विभिन्न औषधिको सेवन गर्दा र आमा र बच्चाले बच्चाको दाँत बन्दै गरेको बेला प्रयोग गर्ने विभिन्न औषधिले पनि दाँतको भित्री भागमा दाग बस्छ। यसैगरी, चोटपटकका कारण दाँतको नशा मरेर दाँतको रङमा स्थायी परिवर्तन आउन सक्छ। नशा मरेको दाँतको जरैदेखि उपचार गरेपछि पनि दाँतको रङमा परिवर्तन आउँछ।
दाँतको दाग हटाउने र सेतो बनाउने उपायहरुः
दाँतमा दाग बस्ने खालका धूमपान, खैनी, गुट्खा, चिया, कफी आदिको सेवन त्याग्ने।
प्रत्येक पटक खाना खाँदा वा चिया, कफी खानेबित्तिकै मुख कुल्ला गर्ने।
दिनमा दुईपटक ब्रस गर्ने।
बाहिरी दागहरु दन्त चिकित्सककोमा गएर समय(समयमा मेसिनले सफा (स्केलिङ) गर्ने।
दाँतको रङमा सामान्य मात्र परिवर्तन छ भने सेतो बनाउने मञ्जन प्रयोग गर्ने।
ब्लिचिङ गर्नेः ब्लिचिङ दाँत सेतो बनाउने प्रविधि हो। यो घरमा तथा दन्त चिकित्सककोमा गएर गर्न सकिन्छ। पेरोक्साइड केमिकलको प्रयोगद्वारा दाँत सेतो बनाइन्छ। यो नशा मरिसकेको र जरैदेखि उपचार गरेको दाँत तथा स्वस्थ दाँत दुवैमा प्रयोग गर्न सकिन्छ। यो पद्दतिले स्थायी रुपमा परिवर्तन भएको दाँतको रङलाई पनि सेतो बनाउन मद्दत गर्छ। भित्री दाग हटाउन यो तरिका उपयुक्त मानिन्छ।
दाँतको बाहिरी भाग छोप्ने र दाँतमा खोल लगाउनेः दाँतको बाहिरी भाग जहाँ रङ परिवर्तन भएको छ त्यस भागलाई दाँत रङको सिमेन्टले छोप्ने ९भिनिएरिङ० वा दाँतमा खोल हाल्ने। यो प्रविधि अधिक रङ परिवर्तन भएको अवस्थामा अपनाउन सकिन्छ।
प्रत्येक ६-६ महिनामा दन्त चिकित्सककोमा गएर आफ्नो दाँत परीक्षण गराउने।
पटक-पटक विभिन्न सञ्चार माध्यममा दाँत चम्काउने उपायहरु भन्दै भ्रामक विज्ञापन आउने गरेका छन्। त्यस्ता भ्रामक कुराको पछि नलागी आफ्नो दाँतको समस्या पत्ता लगाई सही उपचार पद्दति अपनाउनुपर्छ। सबैभन्दा ढुक्क हुने कुरा भनेको दन्त चिकित्सकसँग सल्लाह लिएर उपचार गराउनु नै हो।
एजेन्सी“








