आज नागपञ्चमी र रक्षाबन्धन, ५० वर्षपछिको संयोग

आज नागपञ्चमी र जनैपूर्णिमा । ५० वर्षपछि नागपञ्चमी र जनैप्रर्णिमा एकै दिन परेको हो ।
जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ धारण गर्ने र रक्षा सूत्र बाँध्ने प्रचलन छ तर २३ गते जनैपूर्णिमाको दिन चन्द्र ग्रहण परेको छ । हिन्दुधर्म संस्कार अनुसार चन्द्र ग्रहण लाग्ने दिनलाई शुभ मानिँदैन र मांगलिक कार्य गरिँदैन । त्यसैले साउन १३ गते नाग पञ्चमीकै दिन जनैपूर्णिमा अर्थात् रक्षा बन्धन गर्ने निर्णय गरेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।

नागपञ्चमीः महत्त्व र विशेषता

हिन्दु धर्ममा लेखिएअनुसार नाग (सर्प) लाई देवताको रूपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पुराण तथा धर्मग्रन्थ आदिमा नाग देवताको विशेष महत्त्व रहदै आएको पाइन्छ । भगवान् शंकरजीको आभुषण होस् वा भगवान् विष्णुजीको शैया होस्, विभिन्न स्थानमा नागको स्वरूप र आकारप्रकार सचित्र देख्न पाइन्छ ।

पौराणिक कथनअनुसार राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक (जरत्कारु र मनसादेवी सुपुत्र) ले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ ।
त्यस्तै भविष्योत्तर पुराणमा पनि नाग पञ्चमीको चर्चा गरिएको छ यो पर्व हिन्दु संस्कृतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ ।

नागपञ्चमी पूजा र विधि

प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथि नागपञ्चमी हो । यो दिन बिहानै उठी, स्नान गरी नागको चित्रमा वा मूर्तीमा पूजा गर्नाले नागको भय हुँदैन भन्ने विश्वास छ । गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दही, दुबो, कुश, फुल, सिन्दूर, चन्दन आदिले नागको पूजा गरी, धूप दीप, नैवैद्य सहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले कालसर्प आदि योग पनि नष्ट हुन्छ ।

प्रार्थना मन्त्रः

‘आस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणि । एह्येहि मनसे देवी नागमातर्नमस्तुते ।। अनन्तो वासुकी पद्मो महापद्मञ्च तक्षकः । कुलीरः कर्कट शंखश्चाष्टौ नागाः प्रकीर्तिता ।।’

रक्षा बन्धन, जनै र रक्षाबन्धनको महत्त्व

रक्षा बन्धन हिन्दु धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र चाड हो । यो चाड श्रावण शुक्ल पूर्णिमाको दिनमा हिन्दु धर्मावलम्बीहरुले मनाउने गर्दछन् । विशेषतः ब्रामह्ण क्षेत्री जातिका वर्तवन्ध गरेका अथवा जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । तागाधारी (जनैधारी) हरुले यस दिन बर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गर्दछन् ।
यस दिन नेपालमा ब्रामह्णहरू नुहाई–धुवाई गरेर पूजा पाठ गरी सके पछि पवित्र धागो, जसलाई रक्षा बन्धन भनिन्छ, त्यसलाई बोकेर गाउँ गाउँ गएर सबै जनालाई रक्षा बन्धन बाँधेर टिका लगाईदिने गर्छन् । त्यसको बदलामा मान्छेहरूले पुरोहित, ज्वाई, भानिज र बामह्णहरुलाई रूपयाँ पैसा दिने गर्छन् ।

रक्षाबन्धन के हो ?

येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले ‘म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी धागो र डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा हिन्दु धमावलम्वीबीच प्रचलित छ ।
यसै गरी जनैपूणीमाकै दिन देह शुद्ध गरी देवता, सप्तषि तथा पितृको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ‘ऋषितर्पणी’ का नामले पनि चिनिन्छ । यस दिन सप्तर्षिद्वारा कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ । आजको दिन एघारथरीका गेडागुडी मिर्साई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वषार्का कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।

यस पर्वको पौराणिक कथा

पौराणिक कथा अनुसार देवराज इन्द्र र दैत्यराजबीच १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बाँच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिएका थिए । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी रक्षाको विधान श्रावण मासको पूर्णिमाको शुभ मूहूर्तमा इन्द्रलाई रक्षाको बन्धन बांध्दै निम्न मन्त्र जप्नुहुन्छ । तत्पश्चात् इन्द्राणीले इन्द्रको दाहिने हातमा रक्षासूत्र बाँधे र जुन रक्षासूत्र बांध्नाले देवराज इन्द्र विजयी बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो । त्यही रक्षासूत्रको सम्झना गर्दै रक्षाबन्धन बाँध्ने प्रचलन रही आएको छ ।
तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । आजका दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।

नयाँ जनै लगाउने मन्त्र

यज्ञोपवितं परमं पबित्रम, प्रज्ञापतेर्यत्सहजम पुरास्तात आयुष्यार्मग्नम प्रतिमुन्च शुभ्रम, यज्ञोपवितं बलामस्तु तेज

हातमा डोरो र रक्षाबन्धन बाँध्ने मन्त्र

येन बद्धो बलि राजा दानबिन्द्रो महावल तेन त्वं प्रति बध नामी रक्षे मा चल मा चल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *