२५.५० लाखमै फाँक्सवैगनको नयाँ पोलो १.० बजारमा

“
भाद्र २४, काठमाडौं । फाँक्सवैगनको नेपालका लागि आधिकारिक विक्रेता पूजा इन्टरनेशनल नेपाल प्रा.लि.ले फाँंक्सवैगनको नयाँ मोडलको गाडी पोलो १.० नेपाली बजारमा भित्राएको छ । कम्पनीले आज राजधानीमा पत्रकार सम्मेलन गरी नयाँ गाडी बजारमा आएको जानकारी दिएको हो ।
उक्त पोलो १.० गाडी तेक्वान्डो गोल्ड मेडलिष्ट दीपक विष्टले सार्वजनिक गरेका थिए । उनले चार वर्षयता आफुले फाँक्सवैगनकै गाडी प्रयोग गरिरहेको भन्दै यसको माइलेज, मर्मत खर्च र आरामदायीपन अन्य गाडीको भन्दा उत्कृष्ठ रहेको बताए ।
९९९ सीसी र ७६ एजपी इन्जिन क्षमता रहेको उक्त गाडी इन्धन बचतमा कोशेढुंगा बन्ने कम्पनीको दावी छ । ‘नेपाली बजारमा विलाशी गाडी भन्दा इकोनोमिक्स गाडीको शौखिनहरु धेरै भएकोले हामीले फाँक्सवैगनको पोलो १.० गाडी भित्र्याएका हौं । यसले नेपाली उपभोक्तालाई माइलेज सँगै उत्कृष्ट फिचर्स प्रदान गर्नेछ ।’ पूजा इन्टरनेशनल प्रा.लि. का कार्यकारी अधिकृत विबेक विजुक्छेले बताए ।
कर बृद्धिले असर नगर्ने
यसअघि नेपाली बजारमा फल्क्सवागन पोलो गाडी १६०० र १२०० सीसीमा उपलब्ध थियो । आर्थिक वर्ष ०७५÷०७६ को बजेटमा व्यवस्था भए अनुसार १००० सीसी भन्दा माथिका गाडीमा कर वृद्धि गरिएको भए पनि यो नयाँ मोडलको गाडी खरिदले उपभोक्तालाई उक्त कर वृद्धिले कुनै असर नपर्ने कम्पनीको दावी छ ।
दशैंको अवसरमा विशेष छुट
गाडीको बजार मुल्य २६ लाख पन्चानब्बे हजार रहने जानकारी कम्पनीले दिएको छ । नजिकिदै गरेको नेपालीहरूको महान चाड दशैंको शुभ अवसरमा कम्पनीले गाडीको मुल्यमा विशेष छुटको व्यवस्था गरेको छ । जस अनुसार गाडी बुक गर्ने प्रथम सय ग्राहकले २५ लाख ५० हजारमा गाडी पाउने छन् ।
विशेष छुट सहितको उक्त मोडलको गाडीमा सुरक्षाका विभिन्न व्यवस्था जस्तै एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), एयर ब्याग, गाल्भनाइज्ड बडि, पावर विन्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टर सहितको एयर कन्डिसन, पावर स्टरिङ आदि समावेश रहेको कार्यक्रममा जानकारी दिइयो ।
मर्मत संभारमा कम खर्चिलो
सन् २०११ मा नेपालको बजारमा ल्याएको पोलो १.६ ह्याचब्याक गाडी अत्याधिक सफल र दोस्रो बजारमा पनि सबै भन्दा बढी मुल्य पाउने गाडी रहेको कम्पनीको दावी छ । पोलो १.० ले पनि उपभोक्ताहरूबाट उस्तै माया र सद्भाव पाउने कम्पनीले आशा राखेको छ । फाँंक्सवैगन पोलो नियमित मर्मत सम्भारमा लाग्ने खर्चको हिसाबमा सबैभन्दा कम खर्चिलो गाडी रहेको कुरा स्वतन्त्र सर्भे गर्ने सँस्था ईलम कन्सल्टेन्सीले प्रमाणित गरेको जानकारी पनि कार्यक्रममा दिइएको थियो ।
अध्ययनले फाँक्सवैगन पोलो गाडी अन्य ब्राण्डका सोहि समूहका गाडी भन्दा ३० प्रतिशत कम खर्च पर्ने देखाएको छ । अध्ययन अनुसार अन्य ब्राण्डका गाडीहरु ५,००० कि.मी. मा सर्भिसिङ गर्नुपर्ने भएपनि फाँक्सवैगन पोलो गाडी १५ हजार कि.मी. सम्म निर्धक्क चलाउन सकिनेछ ।
फाँक्सवैगन अन्तराष्ट्रिय बजारमा अग्रपङतीमा
पूजा इन्टरनेशनल प्रा.लि. का कार्यकारी अधिकृत विबेक विजुक्छेले अन्तर्राष्ट्रिय गाडीकोे व्यापारमा पछिल्ला दुई वर्षमा फाँक्सवैगन अग्र पंक्तिमा रहेको बताए । कम्पनीले सन् २०१७ मा मात्रै १,०४,१३,३१५।– गाडी विक्रि गरेको तथ्यांकले पनि यस कुराको पुष्टि गर्ने विजुक्छेको दावी थियो ।
फाँक्सवैगनको नेपालमा हाल ९ वटा सर्भिस स्टेशन रहेको छ, जसमध्ये ३ वटा काठमाडौंमा रहेको छ । कम्पनीले बजारमा ल्याएको उक्त मोडलको गाडी लोकप्रिय करको रूपमा स्थापित हुने कार्यक्रममा जानकारी दिइयो ।
“








