बङ्गलादेशविरुद्धको खेलमा ४-४-२ काे पाेजिसन, नेपाललार्इ जित्नै पर्ने दबाब

“
भाद्र २३, काठमाडाैं । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबलअन्तर्गत आज साँझ हुने बङ्गलादेशविरुद्धको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ ।
नेपालले भुटानविरुद्ध खेलेका मध्ये दुई खेलाडी परिवर्तन गरेको हो । बङ्गलादेशविरुद्ध पनि गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्नेछन् । नेपालले आज अन्जन विष्टको स्थानमा भरत खवास र विशाल राईको स्थानमा निराजन खड्कालाई टोलीमा राखेको नेपाली प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए । सेमिफाइनलमा स्थान बनाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।
मुख्य प्रशिक्षक महर्जनले आजको खेलमा नेपाली टोलीलाई चार, चार, दुईको ढाँचामा खेलाडी मैदान उतार्ने बताएका छन् । नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङ, डिफेन्डरमा सुमन अर्याल, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, मिडफिल्डरमा रोहित चन्द, निराजन खड्का, सुजल श्रेष्ठ, सुनिल बल र फरवार्डमा विमल घर्तीमगर तथा भरत खवास छन् ।
बङ्गलादेशविरुद्ध विगतको नतिजा हेर्ने हो भने नेपालको पक्षमा छैन । साफ च्याम्पियनसिपमा बङ्गलादेशविरुद्ध छ पटक प्रतिष्पर्धा गरिसकेको नेपालले चारमा पराजित र दुईमा जित हासिल गरेको छ । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले पराजित गरेपछि सेमिफाइनल पुग्न यस खेलमा नेपालले जित दर्ता गर्नुपर्नेछ ।
गोलकिपर – किरण कुमार लिम्बु
डिफेन्डर – आदित्य चौधरी, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी
मिडफिल्डर – रोहित चन्द, निराजन खड्का, सुनिल बल, सुजल श्रेष्ठ
फरवार्ड – भरत खवास, बिमल घर्ती मगर
“








