एचआइभी उपचारमा नयाँ सम्भावनाको संकेत


साउन ११, काठमाडौँ । एचआइभीको संक्रमणमा नयाँ सफलता हात पर्ने सङ्केत देखा परेको छ । एचआइभी संक्रमणसहित जन्मिएका दक्षिण अफ्रिकाका ९ वर्षका बालकले जीवनको अहिलेसम्मको समय कुनै उपचार बिना नै स्वस्थ रूपमा बिताएको डाक्टरले बताएका छन् ।
डाक्टरले पहिचान नखुलाएका बालकलाई जन्मिएको केही समयमा नै उपचार गरिएको थियो । त्यो उपचार अन्र्तगत औषधि दिन बन्द गरिएपछिको साढे ८ वर्ष बालकमा एचआइभी भाइरस सक्रिय भएको कुनै लक्षण नदेखिएको र औषधि पनि गर्नु नपरेको डाक्टरको भनाई छ ।
बालकको परिवारले आफूहरू निकै खुसी रहेको बताएका छन् । एचआइभी संक्रमित भएका मानिसमा भाइरसबाट रोग प्रतिरोधात्मक क्षमता जोगाउनका लागि हरेक दिन उपचार वा औषधिको खाँचो पर्छ । यसो नगरेमा चाँडै नै एचआइभी संक्रमण एड्सको अवस्थामा पुग्ने गरेको छ । तर ती बालकको अवस्थामा भने जन्मने बित्तिकै उपचार गरिएको र त्यसपछि अहिलेसम्म उपचार नगर्दा पनि एचआइभीको कुनै लक्षण देखिएको छैन ।
बालकमा पाएको सफलताले बालबालिकामा एचआइभी संक्रमण रोक्न वा त्यसको प्रभाव रोक्नका लागि नयाँ औषधि वा खोप विकासका लागि सहयोग पुग्ने अनुसन्धानमा संलग्न डाक्टरले बताएका छन् । सन् २००७ मा जन्मिएका ती बालकमा आमाबाट एचआइभी संक्रमण भएको थियो । बालकी आमाको रगतमा एचआइभी भाइरसको मात्रा उच्च थियो ।
भर्खरै जन्मिएका बालबालिकामा एन्टिरेट्रोभाइरल थेरापी (एआरभी) उपचार त्यस बेला नगरिने भए पनि परीक्षणको रूपमा ती बालकलाई ९ हप्तादेखि एआरभी उपचार सुरु गरिएको थियो । ४० हप्ताको भएपछि बालकमा एआरभी उपचार बन्द गरिएको थियो । त्यसयता बालकमा एचआइभीको कुनै लक्षण देखिएको छैन ।
बालबालिका जन्मेको केही समयपछि नै एआरभी उपचार गर्दा एचआइभी भाइरसले आफूलाई बालबालिकाको शरीरमा पूर्णरुपले स्थापित गर्न नसक्ने देखिएको अनुसन्धानमा संलग्न डाक्टरको भनाई छ । यो सफलता एचआइभीको उपचारमा महत्त्वपूर्ण बन्न सक्ने उनीहरूको भनाई छ । बालकमा एचआइभीको संक्रमणको प्रभाव वस्तुतः (भर्चुअल रूपमा) नदेखिए पनि फेरि देखिन नदेखिने भने यकिन गर्न नसकिएको डाक्टरले बताएका छन् ।
भर्चुअल उपचार
केही मानिसमा प्राकृतिक रूपमा नै एचआइभी संक्रमणसँग लड्न सक्ने क्षमता हुन्छ, यसलाई इलाइट कन्ट्रोलर पनि भन्ने गरिएको छ । तर दक्षिण अफ्रिकाका बालकमा देखिएको अवस्था भने इलाट कन्ट्रोलर भन्दा फरक रहेको डाक्टरले बताएका छन् । यसले एचआइभीको औषधि तथा खोप बनाउन सकिने सम्भावना देखाएको छ ।
बालकको एचआइभी भाइरस निष्क्रिय अवस्थामा रहेको र यो नै ठुलो सफलता रहेको डाक्टरको भनाई छ । एचआइभी भाइरस बालकको प्रतिरोधात्मक कोषमा रहेको छ तर निष्क्रिय रूपमा । यसलाई ल्याटेन्ट एचआइभी भन्ने गरिएको छ । एचआइभी भाइरस लामो समयसम्म यसरी रहन सक्ने तर भविष्यमा सक्रिय हुने खतरा पनि रहन्छ । यसले गर्दा भविष्यमा उपचारको खाँचो पर्न सक्ने डाक्टर डायना गिब्बले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *