सुनसरीः सुमो र मोटरसाइकल एक आपसमा ठोक्किदा एकको मृत्यु, तीनजना घाइते


“
धरान, भदौ ५ । सुनसरीको बराहक्षेत्र चतरामा टाटा सुमो र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
बराहक्षेत्र– नगरपालिका–१ खारखोला स्थित इटहरी–उदयपुर सडक र चतरा बजारदेखि धरान जाने सडकको चौबाटोमा सो दुर्घटना हँुदा एक जनाको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन् ।
इटहरीबाट उदयपुर जाँदै गरेको को २९ प १३३६ नं. मोटरसाइकल र चतराबाट धरानतर्फ जादै गरेको मे १ ज २३८७ नं. को टाटा सुमो एकआपसमा ठोक्किदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको र एकजना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार इटहरी ८ बस्ने महानन्द सरदारको मृत्यु भएको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको प्रहरी बिटका भूपेन्द्र खत्रीले जानकारी दिए ।
इनरुवा ७ बस्ने लक्ष्मण उराउ गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय चतराका सइ चक्रमणी थापाले बताए ।
उता सुमोमा सवार उदयपुर बेलका नगरपालिका वडा नं. ३ बस्ने लक्ष्मी चौधरी र उनको २ वर्षका छोरा समेत घाइते भएका छन् । उनीहरुलाई उपचारको लागी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ ।
टाटा सुमो चालक बेलका ३ बस्ने गोपाल कुमार खड्का र दुवै सवारी चतरा प्रहरीको नियन्त्रणमा रहेको छ ।
“
