साँधीखोल्चामा आएको बाढीले बाह्रबिसे–तातोपानी जोड्ने पुल बगायो !


“
सिन्धुपाल्चोक, भदौ ३ । अविरल वर्षाका कारण आएको बाढीले बाह्रबिसेको खोर्सानीबारीमा रहेको पक्की पुल बगाएको छ । शुक्रबार राति आएको वर्षाले क्षतीग्रस्त बनाएको अरनिको राजमार्ग अन्तर्गत खोर्सानीबारीमा रहेको पक्की पुल शनिबार रातिको बाढीले पूर्ण रुपमा बगाएको हो ।
पुलमा ठूला ढुंगा आएपछि खोला थुनिएर बजारमा पसेको थियो। बाढी बजारमा पसेपछि बजार नै अस्तव्यस्त बनेको छ । अबिरल बर्षापछि साँधीखोल्चामा आएको बाढी पुलमा थुनिदाँ बाह्रबिसे–तातोपानी जोड्ने पुल बगेको हो। गएराति पुल बगाए पछि बाह्रबिसे– तातोपानी सम्पर्क टुटेको छ ।
शनिबार दिउँसो पुलमुनी रहेको ठूलो ढुङ्गा हटाएर सडक विभागले क्षतिग्रस्त पुल मर्मत सुरु गरेपनि राति करिब १० बजेतिर आएको पहिरोसहितको बाढीले पुल पूर्णरुपमा बगाएको हो ।
पासाङल्हामु राजमार्गमा पर्ने नुवाकोटको त्रिशूली–बेत्रावती खण्डको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ।
आइतबार बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ।
“
