डिना बाङदेलको निधन

काठमाडौं, साउन ११ ।  ख्यातिप्राप्त कला अन्वेषक/इतिहासकार (आर्ट हिस्टोरियन) डिना बाङदेलको अमेरिकाको भर्जिनियास्थित एक अस्पतालमा मंगलबार निधन भएको छ ।

प्रारम्भिक सूचना अनुसार साइनसको शल्यक्रियाका लागि उनी दुई साता अघि अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रियापछि भएको संक्रमणले उनमा मेनिन्जाइटिस देखिएको थियो ।

५४ वर्षीया बाङदेल पछिल्लो समय कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागको निर्देशक थिइन् ।

प्रसिद्ध कलाकार–लेखक लैनसिं बाङदेलकी छोरी डिना हिमाली, नेपाली र बौद्ध कलाका लागि अन्तर्राष्ट्रियस्तरमै ख्यातिप्राप्त थिइन् ।

सन् १९६० को दशकयता अन्तर्राष्ट्रिय क्षेत्रमा ओझेलमा परेको नेपाली कलालाई पछिल्लो समय विश्व समुदायमाझ परिचित गराउनमा डिना सक्रिय थिइन् ।

फ्रान्सको एक कला संग्रहालय ‘म्यूजे गिमे’ सँगको सहकार्यमा नेपाली कलालाई विश्वका विभिन्न शहरमा प्रदर्शन गर्ने योजना पनि उनले अगाडि बढाएकी थिइन् ।

पिता लैनसिं बाङ्देलले नेपालबाट चोरी भएर विदेशिएका मूर्तिबारे पुस्तक प्रकाशन गरेका थिए, यतिबेला डिना ती मूर्तिहरु स्वदेश फर्काउने अभियान चलाइरहेकी थिइन् ।

गत चैतमा काठमाडौं र ललितपुरमा सम्पन्न कलामहोत्सव ‘काठमाडौं ट्रिएनाले’ को आयोजनामा उनको विशेष योगदान थियो ।

विश्वस्तरकी आर्ट क्युरेटर समेत रहेकी कला अध्येता डिना नेपाल कला परिषदकी बोर्ड अर्फ डाइरेक्टर्सकी सदस्य, नेपालका ग्रामिण क्षेत्रको शिक्षामा काम गरिरहेको संस्था रिड ग्लोबलकी ट्रष्टी समेत थिइन् ।

अमेरिकाको ओहायो युनिभर्सिटीबाट विद्यावारिधी डिनाले दक्षिणएशियाली समकालिन कला र सिनेमामा लैङ्गिक र पहिचानका मुद्दामा अनुसन्धान पनि गरेकी थिइन् ।

कला इतिहास र समकालिन कलाबारे थुप्रै पुस्तककी लेखक एवम् सम्पादक डिना कतारमा अध्यापन गर्न थालेपछि प्रत्येक महीना जसो नेपाल आउने गर्थिन् ।

लैनसि‌ बाङ्देल दम्पत्तीकी एकमात्र सन्तान डिनाका आमा, श्रीमान र दुई छोरा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *