मेयरसाबले भन्नुभयोः खुरूक्क जानुहोस नत्र जे पनि हुन सक्दछ

“
धेरै पटक सोचें यो शिर्षकमा लेखौं वा नलेखौं ? लेखौं जम्मै नकारात्मक कुरा गर्ने भन्ने आरोप लाग्ला । नलेखौं विना कसुर मेयरसाबले पुलिस लगाएर जेलहाल्ने कुरा गर्नुभयो । मेरो अन्तिम निश्कर्ष यो रह्यो की, आखिर कुनै कसुर नगर्दा नगर्दै पुलिस लगाएर जेल हाल्छु भन्दा किन चुप लागेर बस्ने ? सिमा रेखाभन्दा माथि यसरी सत्ता छ भन्दैमा भन्न त मिल्दैन होलानी ?
प्रसंग आठविस नगरपालिकाको हो । दैलेख उद्योग वाणिज्य संघ, दैलेखको तर्फबाट नेपाल सरकार अर्थ मन्त्रालय, राजस्व विभाग अन्तर्रगत नेपालगंजमा रहेको राजस्व कार्यालयले प्रदान गरेको अख्तियारी बमोजिम हामी आठविस नगरपालिकाका ब्यवसायीहरुका घरमै पुगेर कर संकलन गर्ने क्रममा त्यहाँ पुग्यौं । हामी साउने पानीको झरीमा त्यहाँ पुगेका के थियौं त्यस नगरपालिकाका मेयरसाब हामी बसेको ठाउँमा आउनु भयो ।
हामीले नमस्कार गरेर हात मिलाई सकेपछि उहाँले शुरुमै ‘अनुमती नलिएर हजुरहरु किन हाम्रो नगरपालिकामा आउनुभयो ? भन्ने प्रश्न गर्नुभयो । त्यस पछि हामीले फोन सम्पर्क गर्न खोजेको भएन भन्यौं । जवाफमा उहाँले यहाँ नेटवर्कले काम गर्दैन भन्नुभयो ।
यति कुरा भईसके पछि स्थानीय तहमै पुगेर ब्यवसायीहरुलार्इ सुविधा प्रदान गर्न यस वर्षको कर उठाउन आएका हौं भन्यौं । कुरा गर्दै जाने क्रममा उहाँले हाम्रो स्थानीय तहमा दर्ता भएको उद्योग वाणिज्य संघ रहेको छ । हाम्रो कर जिल्लालाई दिन्नौं भन्नुभयो । हामीले त्यो उद्योग वाणिज्य संघलाई कर उठाउने अधिकार नेपाल सरकारले दिएको छैन । त्यही भएर हामी आएका हौं ।
हामीले संकलन गरेको कर दैलेख उद्योग वाणिज्य संघको नभई नेपाल सरकारको खातामा जाने रकम हो भन्यौं । त्यस पछि उहाँले हाम्रो वैधानिकता खोज्नु भयो । हामीले डे वान फारम, वैंकको पिन कोड र विधान देखायौं ।
कुरा अघि बढदै जाँदा बीचमा यहाँका ब्यवसायीहरु हाम्रो नगरपालिकामा दर्ता हुनु पर्दछ भन्नु भयो । हामीले पनि त्यो कुरा सही हो भन्यौ र नगरपालिकाको कार्यालयमै कर संकलन गर्ने, त्यहाँका ब्यवसायीहरुले पहिला नगरपालिकामा दर्ता गरेर कर बुझाउने सहमतिका कुरा भए ।
खै के सनक चढेको थियो मेयरसाबलाई फेरी बम्केर ‘तपाँईहरुलाई कर उठाउने अधिकार छैन । म तपाँईहरुलाई एक कदम अघि बढन दिन्न । अघि बढेको खण्डमा पुलिस लगाएर जेलहाल्छु’ भन्नुभयो । हामीले प्रतिउत्तरमा कर अर्थात आयकर उठाउनका लागि नगरपालिकासित अनुमति लिन नपर्ने र यो अधिकार संघीय सरकारले दिएकाले हामी जुन काममा आएका हौं त्यो काम गरेर फिर्ता हुने जवाफ दियौं र सोही बमोजिम सबै ब्यवसायीहरुसित भेटघाट गर्यौं । साँझको बास खिडकीज्यूलामा बस्यौं ।
भोलीपल्ट अर्थात साउन २८ गते विहान साउने झरी वर्षेको थियो । हामी नगरपालिकाको कार्यालयमा गयौं । भेटघाट भयो । त्यस पछि ब्यवसायीहरुलाई भेटघाट गरेर उद्योग वाणिज्य संघको शाखा कार्यालयमा आयौं । जब हामी शाखा कार्यालयमा त्यहाँका हालका अध्यक्ष दुर्गबहादुर सिजापतीसित कार्यालयको अवस्थाका बारेमा छलफल गर्दै थियौं त्यसै बीचमा नव गठित नगर संघका अध्यक्ष धनबहादुर सुनार हामीसित लडाँई लड्ने उद्देश्यले १२, १३ जनाको हुल लिएर आउनु भयो ।
‘तपाँईहरुले कर उठाएर भ्रष्टाचार गर्न आउनुभएको हो, ब्यापारी लडाउन आउनु भएको हो, यसभन्दा अघि उठाएको रकमले के गर्नु भयो ? खुरुक्क यहाँबाट कतै नबसेर जाने भए जानुहोस नत्र जे पनि हुन सक्दछ’ भनेर कुर्लनु भयो । हामीहरुले पनि प्रतिउत्तर दिने कोशिस गर्यौं ।
छलफल चल्दैथियो, कसैले मेयरलाई बाईकमा लिएर अलिमाथिको होटलमा आउनुभयो । हामी त्यहाँ गएनौं ।
निकै बेरको रसाकस्सी पछि हामी सोझै त्यहाँबाट नस्किए जे पनि हुने धम्कि दिनु, पुन मेयरलाई बोलाउनु र सांघातिक हमला गर्ने उद्देश्यले एक दर्जन युवा जमात लिएर आउनु जस्ता कुराले फेरी विगतमा तत्कालीन माओवादीले एक ठाउँबाट अर्को ठाउँमा जाँदा भिषा अनिवार्य गरेको शासनको झल्को आयो ।
हामीले धेरै बहस गरेनौं । हामी बजारका ब्यापारी साथीहरुलाई भेटघाट गरी कर संकलन गरेर राती ११ बजे दैलेख सदरमूकाम फिर्ता भयौं ।
दुईदिनसम्म चलेको वार्ताको यो सानो अंश मात्र हो ।
आठविसका मेयरसाब र संघका अध्यक्षले के के भन्नुभयो ? त्यसको वयान धेरै के गर्नु पर्यो र के के भयो भन्ने कुराको पुष्टि यति कुराले गरिहाल्दछ । त्यहाँका ब्यवसायीका हकहितका लागि स्थानीय स्तरमै समिति दर्ता गरेको भन्नुभयो उहाँहरुले ।
मेयरसाब अनि दर्ता गर्ने मित्रहरु ‘तपाँईले दर्ता गर्नु पूर्व त्यहाँका आम ब्यवसायीहरुलाई खै भेलाको सूचना गरेको ? जसले दर्ता गर्नुभयो त्यहाँभन्दा बाहेका अरु ब्यवसायीहरुलाई किन जानकारी दिनु भएन ? तपाँईहरुले दर्ता गरेको लामो समय भयो । तपाँईहरुभन्दा बाहेक अरु कसैलाई किन थाहा भएन । दर्ता गरेरमात्र हुँदैन । कानुनी प्रकृया सबै पुरा गर्नुपर्दछ । तपाँईहरुले कानुनी सबै प्रकृया पुरा गर्नु भएको छैन ।
तथापी हामीहरुले किन दर्ता गर्नुभयो ? हामी ठूला हौं ? हाम्रो सदस्य बनिरहनु पर्दछ भनेका पनि थिएनौं । वरु असाराघाट भन्ने ठाउँमा ती साथीहरुसित ३ घण्टा वहस गरेर संगै कर उठाउने, उठेको सेवाशुल्कको केही प्रतिशत नयाँ दर्तावाला संघलाई दिने सहमति भएर हामी टुनिवगरमा संगै कर उठाएका थियौं । उहाँहरुलाई खाना नै हामीले ख्वाएका थियौं । पछि फोनमा सम्पर्क गरेर केही साथीहरुको उत्साहटमा लागेर विशेष गरेर मेयरसाबको भनाईमा लागेर उल्टै राकम पुकेर सांघातिक हमला गर्न खोज्नु ? यो कस्तो अनौंठो कुरा हो ? हामीले बुझन सकेका छैनौं ।
अन्त्यमा, हामी चोर होइनौं, भ्रष्टाचार गर्न रकम उठाउन गएका पनि होइनौं ।
दैलेख उद्योग वाणिज्य संघको कार्य क्षेत्र जिल्लाभरी हो । नेपाल सरकार अर्थमन्त्रालय, राजस्व विभाग, राजस्व कार्यालयले सुम्पेको जिम्मेवारी पुरा गर्न, स्थानीय स्तरमै ब्यवसायीहरुलाई सेवा प्रदान गर्न गएका हौं । यो सेवा दिनु कानुन विपरित हो, अधिकार क्षेत्र विपरित हो भने अँझै पनि समय छ हामी माथि कानुनी कारवाही गरिनु पर्दछ । होइन भने नगरप्रमूख ज्यूजस्ताे सम्मानीत ब्यक्तित्व र संघका अध्यक्ष जस्तो सामाजिक जिम्मेवारीपूर्ण पद धारण गरेका मित्रहरुले यसरी हेपेर बोल्न सुहाँउदैन की ।
आठविसको सत्ता हाम्रो पनि सत्ता हो । त्यो सत्ताको नियम कानुन हामीले मान्नु पर्दछ र प्रदान गरिने सेवा हामीले पनि पाउनु पर्दछ । हामीले तपाँईले पूर्वाग्रही कुरा गर्नु भो मेयरसाब भन्दा हो मैले पूर्वाग्रही कुरा गरेको हो । तपाँईहरुको कुनै हैसियत नै छैन । म तपाँईहरुले चिन्दिन भन्नुभयो । यो भनाई अलि बढि भएन र ? उद्योग वाणिज्य महासंघ र नेपाल सरकारबीच १४ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ, त्यसको कार्यान्वय स्थानीय तहमा पनि हुनु पर्दछ भन्ने हाम्रो धारणा र माग रहेको छ ।
मेयरसाब हजुरले दैलेख उद्योग वाणिज्य संघलाई र संघको कार्यसम्पादन गर्न गएको टिमलाई जेलहाल्ने कुरा बताए पनि हामी सरकारसित सधैं सहकार्य गरेर साझा समस्या सामाधान गर्न र साझा उपलब्धि हाँसिल गर्दै देशलाई समृद्ध बनाउन चाहान्छौं । सहकार्य नै पूर्ण सफलताको आधारभूत पक्ष हो । निषेधको कुरा होइन, सहकार्यको कुरा गरौं । हाम्रा साझा समस्या र चुनौतीहरु साझा प्रयासबाट हल गरौं ।
हाम्रो यहि सुझाव छ । अहिले जसको सत्ता छ, उसकै नीजि क्षेत्र बनाए पनि पछि त्यही ठाउँमा सत्ता बदलिन सक्छ, त्यस बेला पनि यस्तै घटना दोहोरिन सक्छ । त्यो निषेधको खेल हामी कसैले नखेलौं ।
“








