छानविन समितिसँग जब वीपीका उपकूलपति जंगीए !

धरान, साउन ३० । आइतबारको कुरा हो, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका अनियमितताका विषयमा शक्तिशाली छानविन समितिले प्रतिष्ठानका पदाधिकारी र विभागीय प्रमुखसँग बयान लिने कार्यक्रम थियो ।

शनिबार प्रतिष्ठानको गेस्ट हाउसमा बसेका ९ सदस्यीय छानविन समितिले उपकूलपतिको कार्यकक्षमा आइतबार विहानदेखि विभिन्न ब्यक्तिहरुसँग प्रतिष्ठानमा भए गरेका काम कारवाहीका विषयमा सोधपुछ गर्न थाले ।

प्रधानमन्त्री कार्यालयका सचिब केदारबहादुर अधिकारीको संयोजकत्वको टोलीले दिउसो खाना खाइसकेपछि प्रतिष्ठानका सिनियर डाक्टर र विभागिय प्रमुखसँग समुहगत र एक्ला एक्लै भेट्ने कार्यक्रम राखे ।

सोहि क्रममा प्रतिष्ठानका सिनेट सदस्य डा. विएन यादव र छानविन समितिका संयोजक अधिकारीहरु कोठामा पस्दा पस्दै डा. संजिव शर्मापनि छिरे । लगत्तै डा. यादवले ढोकामा चुक्कुल लगाइदिए ।

कोठा बाहिर केहि आफ्ना समर्थक सहित उभिएका प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियार एक्कासी जंगिदै बयान कक्ष भित्र छिर्न ढोका ढक्ढक्याए, ढोका खोलिएन ।

त्यसपछि बाहिरबाट उपकुलपति ‘एक्लाएक्लै बयान लिन पाइन्न’ भन्दै ढोका बजार्दै गर्दा भित्रबाट ढोकाको चुकुल खोल्न आएका रहेछन्, उनकै मित्र डा. विएन यादव । रौनियारको इशारामा उनका चार पाँच जना समर्थकहरु भित्र छिर्न खोजे, त्यसबेला रौनियारले विएन यादवलाई ढकेली दिए । अनी रौनियारका मान्छे ग्वारग्वार्ती कोठाभित्र छिरे । राैनियारले ढकेल्दा डा. यादवलार्इ सामान्य चाेट लागेकाे स्राेतकाे दावि छ । यद्यपि, यादवले भने दुर्ब्यहार भएपनि खासै चाेट नलागेकाे बताए ।

किन डा. रौनियारले अवरोध गरे ?

छानविन समितिले सबैलाई पालैपालो एक्लाएक्लै भेट्ने योजना बनाएको थियो । तर, डा. रौनियारले हरेकलाई एक्लाएक्लै समिति भित्र पठाउँदा आफ्नो पोल खोलिने भयले कसैलाई जान दिएनन् ।

तर, डेढ वर्षदेखि डा. रौनियारको कालो कर्तुत झेलिरहेका विभागिय प्रमुख र कर्मचारीहरुले छानविन समितिका अगाडी सबै भडास पोखिदिए । ‘अब प्रतिष्ठान जोगाउन भएपनि यसलाई हटाउनै पर्छ, यसले सखापै पारिसक्यो ।’ एक चिकित्सकले समितिलाई भनिरहँदा अर्का डा. निर्मल बरालले पनि भने, ‘संसारमै यो (डा. रौनियार) जस्तो भ्रष्टाचारी भेट्न मुस्किल छ । प्रतिष्ठान भित्रभित्रै खोक्रो भइसक्यो बचाउनुस ।’

चिकित्सक प्राध्यापकले नै डेढ वर्षदेखिको पिडा छानविन समितिलाई सुनाउन थालेपछि अरुले पनि कर्तुतहरु सुनाउन थाले । एक फ्याकल्टीले त रौनियार जस्तो असक्षम ब्यक्ति रहुन्जेल प्रतिष्ठान अगाडी नबढ्ने जिकिर गरे । रौनियार इतरका केहिले बचाउ गरेपनि तिनीहरुको भनाइको अर्थ रहेन । बयानका लागि आएका ८५ प्रतिशत बढिले उपकुलपतिको विरोध गरेपछि छानविन समिति पनि छक्क पर्यो ।

बेलुकी करिब चार बजेसम्म प्रतिष्ठानका कर्मचारी, विभागीय प्रमुख लगायतसँग समितिले धारणा लियो । बयान दिन पूर्वउपकुलपति देखि बर्तमान सिनेट सदस्य, विभागीय प्रमुख लगायतको उपस्थिति थियो ।

नयाँ तथ्यहरु फेला पर्दै

समितिका संयोजक अधिकारीले अनुसन्धान नटुँगिएको भन्दै चाँडै प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने बताए । सात सदस्यीय टोली मध्येका एक सदस्यले आइतबारको छानविन र विभागिय प्रमुखहरुको बयानमा प्रतिष्ठानमा भएका विभिन्न भ्रष्टाचारहरुमा नयाँ तथ्यहरु फेला परेको दावि गरेका छन् ।

प्रतिष्ठानका उपकुलपति डा. रौनियारको १८ महिने कार्यकालमा भौतिक पूर्वाधार, मेडिकल उपकरण खरिद, करारमा कर्मचारी नियुक्ति, सवारी साधन खरिद, विद्यार्थी भर्ना लगायतमा भएका भ्रष्टाचारमा छानविन भइरहेको छ ।

रौनियारले एमआरआइ उपकरण खरिद, अंकोलोजी–कार्डियोलोजी भवन निर्माणको टेण्डर खारेज तथा कन्सल्टेन्सी नियुक्तिमा करोडौं भ्रष्टाचार गरेको देखिएको छानविन समितिका एक सदस्यले बताए ।

छानविन समितिमा प्रधानमन्त्री कार्यालयका सचिव अधिकारी सहित स्वास्थ्य मन्त्रालयका सहसचिव तारानाथ पौड्याल, उपसचिव भवनाथ खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव प्रमिलादेवी बज्राचार्य लगायत छन् ।

छानबिन टोलीले ERCP मेसिन खरिद, Color Doppler ultrasound machine मेसिन खरिद, C-Arm खरिद, Cattery Machine, Endobroncho Altera sound (EBUS) खरिद, हेमोडालिसिस मेसिन खरिद, फार्मेशीको औषधि खरिदमा अपनाइएको बाटो लगायतमा गहन छानविन गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयबाट अनुदान दिएको ERCP मेसिन सामान्य मर्मत गर्दा चल्न सक्ने भएपनि नबनाई दोब्बर दाममा नयाँ मेसिन खरिद गरेको, Close specification बनाई एउटै व्यक्तिले टेन्डर पर्ने गरी मिलेमतोमा दोब्बर दाममा Color Doppler Ultrasound बनाई एउटै व्यक्तिले टेन्डर पर्ने गरी मिलेमतोमा Close Specification बनाई एउटै व्यक्तिबाट दोब्बर भन्दा बढी मूल्यमा खरिद गरिएको देखिएको छ ।

यसैगरी एमआरआई मेसिन खरिद प्रकरणमा पुरानो एमआरआई मेसिन सामान्य मर्मतले चालु हन सक्ने भएपनि मर्मत नगराएको, ०७३/०७४ मा भवन निर्माण (कार्डियोलोजी र अंकोलोजी) कार्य नगराई रु १७ करोड मेसिन उपकरणमा रकमान्तर गराएको पुष्टि भएको स्रोतको दावि छ ।

स्रोतका अनुसार एउटै कम्पनीलाई मिल्ने क्लोज स्पेसिफिकेसन बनाई नयाँ एमआरआई मेसिनमा ठूलो रकम कमिशन असुल्ने दाउमा खरिद कार्य अगाडी बढाउँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेपश्चात सार्वजनिक खरिद नियमावली विपरीत टेन्डर रद्द गरेको, भवन निर्माणको रकम रकमान्तर गरी एमआरआइ खरिद गरी भ्रष्टाचार गर्ने योजना बनाएको समेत पुष्टि हुने आधार पाइएको छ ।

विदेशी विद्यार्थी नअाउँदा २० कराेड बढि घाटा

वीपी प्रतिष्ठानले जुन १६, २०१८ मा पिजी (पोस्ट ग्राजुएट) इन्ट्रान्स राखेको थियो । १६३ सिट मा २८ सिट विदेशी विद्यार्थीको थियो जसमा २ जनाले मात्र भर्ना लिए । त्यसपछि प्रतिष्ठानले पुनः ४ अगस्ट २०१८ मा इन्ट्रान्स खोल्यो । दोस्रो इन्ट्रान्समा पनि ८ जनाले मात्र भर्ना लिए । अहिले पिजीको विदेशी सिटमा १६ ओटा सिट खाली रहेको छ ।

प्रतिष्ठानको एकेडेमिक सेक्सनमा विदेशी विद्यार्थीको सिट संख्या अनुसार विद्यार्थी नआएको पहिलो पटक हो । यसवर्ष १६ ओटा विदेशी सिट खाली हुँदा प्रतिष्ठानलाई प्रत्यक्ष रुपमा २० करोड घाटा भएको छ ।

यसरी विदेशी विद्यार्थी नआउनुको कारण प्रतिष्ठानको एकेडेमिक क्षमता कमजोर हुँदै जानु रहेको हो । ‘परीक्षालाई ब्यवस्थित गरौं भनेर ब्यवस्थापनलाई बारम्बार भन्दा कसैले चासो देखाएनन् । सिट संख्या बढेर मात्र हुँदैन । क्वालिटि मेन्टेन पनि गर्न आवश्यक छ, यो संगै अन्तराष्ट्रिय सम्बन्ध पनि बनाउन सक्नुपर्छ ।’ एक प्राध्यापकले बताए ।

पीजी इन्ट्रान्सको लफडा

पीजी सिटका लागि प्रतिष्ठानले पहिलो पटक इन्ट्रान्सबाट विदेशी कोटामा जम्मा २ जना विद्यार्थी आए । त्यसबेला धरानका एक ब्यापारी र एक स्थानीय नेताले विदेशी विद्यार्थी भर्ना गराउन भनेर उपकूलपतिसँग ठूलो चलखेल गरे ।

विद्यार्थीको नाम निकालिदिने भन्दै मोटो रकमको चलखेल भयो तर, अन्तिम अवस्थामा विद्यार्थीको नामै निस्किएन । त्यसपछि ती ब्यापारी, स्थानीय नेताले उपकूलपतिलाई किन सहयोग नगरेको भन्दै ठूलै लफडा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *