वाग्मती कार्ययोजनासम्बन्धी छुट्टै ऐन बनाइने

काठमाडौँ, साउन १० गते  । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कार्ययोजनाको प्रभावकारी सफलताका लागि छुट्टै ऐन बनाइने भएको छ ।

विद्यमान कानुन र संरचनाले मात्र वाग्मती सभ्यताको विकास र संरक्षणका चुनौतीको सामना गर्न कठिनाइ भएको भन्दै सरोकारवाला निकायका प्रतिनिधिले त्यससम्बन्धी छुट्टै ऐनको खाँचो औँल्याउनुभयो ।

समितिको संस्थागत सुदृढीकरणसम्बन्धी आज यहाँ आयोजित छलफल कार्यक्रममा सहरी विकासमन्त्री एवं समितिका अध्यक्ष प्रभु साहले वाग्मती सभ्यतालाई यथार्थमा जोगाउन र सम्बद्र्धन गर्न आवश्यक सुझावसहित छुट्टै ऐन ल्याइने बताउनुभयो ।

उहाँले सम्बन्धित निकायसँगको छलफल गरी प्रारम्भिक मस्यौदा तयार गर्न समितिका सदस्य–सचिवको नेतृत्वमा समिति सदस्य, वाग्मती सरसफाइका अभियन्ता, मन्त्रालयको कानून महाशाखाका प्रतिनिधि र समितिका वरिष्ठ इन्जिनियर रहने पाँच सदस्यीय समिति गठन हुने प्रस्ताव गर्नुभएको थियो ।

मन्त्री साहले काठमाडौँ उपत्यकाभित्रका नदीलाई मात्र समेटेर छुट्टै ऐन बनाउने वा मुलुकका अन्य नदीलाई पनि समेट्ने भन्ने सम्बन्धमा आवश्यक छलफल गरेर निर्णय लिइने जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाको प्रमुख नदी वाग्मतीमा सिधै ढल मिसाउनाले प्रदूषण बढ्दै गएको छ । नदी सरसफाइका लागि सरकार र नागरिक समाजका तर्फबाट ठूलो लगानी र सहभागिता रहँदै आए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन ।

नदीको पानीको मात्रा र गुणस्तरमा सुधार, नदी वरपरको क्षेत्र व्यवस्थापन र सुन्दरता अभिवृद्धि, नदीको बहाव क्षेत्र निर्धारण गरी नदीको प्राकृतिक मार्ग सुरक्षित गर्ने र संस्थागत सुदृढीकरण गर्नुपर्ने सम्बन्धित निकायको सुझाव छ ।

कार्यक्रममा वातावरण संरक्षण समितिका सभापति गीता क्षेत्रीले औचित्यका आधारमा वाग्मतीका लागि छुट्टै ऐन ल्याउन सकिने बताउँदै वाग्मती सभ्यता संरक्षणमा कार्यरत सबै संघसंस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।

काठमाडौँबाट प्रतिनिधित्व गर्नुहुने सांसद रामेश्वर फुयालले वाग्मती सभ्यता बचाउन उपत्यकामा खुला स्थान र हरियाली पार्क निर्माण, ठूला रुख वृक्षारोपण, सहरी पूर्वाधार निर्माण, अधिग्रहण गरिएका जग्गाको छानबिन गरी मुआब्जा वितरणलगायत काम गर्नुपर्ने बताउनुभयो ।

ललितपुरबाट प्रतिनिधित्व गर्नुहुने सांसद चन्द्र महर्जनले उपत्यकाको बस्ती व्यवस्थापनका लागि पानीका स्रोत संरक्षण, नदी अतिक्रमण नियन्त्रण, ढल निकासको उपयुक्त व्यवस्था, नयाँ नगरका लागि आवश्यक पूर्वाधार विकासलगायत कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले वाग्मती नदी, नदी मात्र नभएर मुलुकको ऐतिहासिक सभ्यतासँग सम्बन्धित भएकाले यससँग जोडिएका संस्कृति, पाटीपौवा, मठमन्दिरलगायत पुरातत्विक महत्वका वस्तुको संरक्षणलाई पनि समेटेर अभियान सञ्चालन गर्न सुझाव दिनुभयो ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले वाग्मती सभ्यता बचाउन पानीको बहाव बढाउने, नागरिक सचेतना बढाउने र कानुनको प्रभावकारी कार्यान्वयन गर्न अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, कागेश्वरी नगरपालिका प्रमुख कृष्णहरि थापा, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, समितिका पूर्व अध्यक्ष कृष्ण केसी, समितिको आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठलगायतले उपत्यकाका स्थानीय तहको समेत संलग्नतामा वाग्मती सभ्यता सम्वद्र्धनका लागि समन्वात्मक रुपमा एकीकृत अभियान सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपालभित्र वाग्मतीको कुल लम्बाइ २०० किमी छ भने काठमाडौँ उपत्यकाभित्र करिब ४४ किमी लम्बाइ रहेको छ । उपत्यकामा वाग्मती नदीमा विष्णुमती र मनहरा नदी तथा टुकुचा, धोबी, हनुमन्ते, कोट्कू, नख्खु र बल्खु खोला मिसिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *