नेकपामा ओलीको संकट चुलिँदै, विरोधी खेमाले घेर्दै

काठमाडौँ, साउन २९ । नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएको ६ महिना पुग्न एकहप्ता पनि बाँकी छैन । गत फागुन ३ गते ओली प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । यस अघिका कम्युनिष्ट नेताको सत्तारोहण हेर्ने हो भने जोड–घटाउ गर्ने बेला भएको हो ओली सरकारको पनि ।

तर व्यवस्था फेरियो । त्यसैले तत्कालै कसैले चाहेर वा नचाहेर पनि ओलीलाई हटाउने बाटो छैन । संविधानले त्यो ढोका बन्द गरिदियो ।

ओली दोश्रो पटक प्रधानमन्त्री भएका हुन् । पहिलो पटक जसले प्रधानमन्त्रीको कुर्सीबाट खँदार्यो, उसैले दोश्रो पटक त्यो कुर्सीमा पुर्याएको हो ओलीलाई । पहिलो पटक २०७२ असोज २४ गते पनि पुष्पकमल दाहाल प्रचण्डले नै ओलीलाई प्रधानमन्त्री बनाए ।

पछि आफैं बन्ने चान्स आएपछि प्रचण्डले ओलीलाई बाँकी राखेनन् । दोश्रो पटक ओलीलाई त्यहाँ पुर्याउने माध्यम पनि बने प्रचण्ड । चुनाव पहिले नै गठबन्धन गरेका ओली प्रचण्डलाई त्यसको नतिजाले मिल्न बाध्य बनायो । नमिले दुवैलाई असहज थियोे ।

जनतालाई स्थायी सरकारको ललिपप देखाएर भोट बटुलेका ओली–दाहालले बाटो मोडेको भए, संभवतः उनीहरुको राजनीति पनि सकिन्थ्यो होला । मिल्दा सुविधा सम्पन्न बहुमत पुग्ने भएपछि त्यही बहुमतलाई ५ वर्षसम्म स्थायीत्व गर्न अनि शक्तिशाली बन्नका लागि बाम पार्टी एकीकरणलाई सहज बाटो बनाइयो ।

दुवैले राष्ट्रिय सभाबाट पार्टी एकीकरणको घोषणा गरे, दुवै तर्फका नेता कार्यकर्तालाई दुई तिहाईको स्थायी सरकारको ललीपप देखाएर गरिएको हतास एकीकरण अहिले नै धर्मराउन थालेको छ ।

एमाले–माओवादी एकीकरणमा दाहाल र ओलीका आ–आफ्ना इन्ट्रेष्ट थिए र छन् । ओलीलाई जसरी हुन्छ ५ वर्ष सत्तामा टिक्नु छ । दाहाललाई ओलीपछि प्रचण्ड युगको सुरुवात गर्नुछ । दुईतिहाईको स्थायी सरकार गठन गरेर देशमा स्थीर राजनीति स्थापित गर्यौं भन्ने ओली दाहालको मित्रतामा पछिल्ला दिनमा विस्तारै दरार पैदा भएको छ।

दुवै तिरका दोस्रो दर्जाका नेताहरुबीच देखिएको अविश्वास र शंकाले ओलीलाई कमजोर बनाउँदै लगेको छ । यसमा ओलीका केहि किचन क्याविनेट सदस्य समेत लागेकाले ओली अहिले आफ्नै नेता र कार्यकर्ताको घेराबन्दीमा परेका छन् ।

पार्टी एकीकरण तल्लो तहसम्म पुग्न नपाउँदै खटपट सुरु हुँदा त्यसले सबैभन्दा बढी फाइदा पार्टी भित्रकै ओलीका विरोधीलाई पुग्ने देखिन्छ । एकीकरणकै दिनदेखि शीर्षनेता झलनाथ खनाल पनि ओलीसँग रुष्ट छन् । वरिष्ठ नेता माधवकुमार नेपाल खासै बोल्दैनन् । युवा नेता योगेश भट्टराईको अभिव्यक्ति काँग्रेस नेता गगन थापाकै शैलीमा आउन थालिसके । ओलीका धर्मपूत्र भनिने महेश बस्नेत पनि आजकल ओली कहाँ हत्पती जाँदैनन् ।

नारायणकाजीले पार्टी प्रवक्ताबाट राजीनामा दिएपछि ओली विरोधी खेमालाई बल पुगेको छ । श्रेष्ठको राजीनामा १० दिन गुपचुपमै राखियो । पछि खुल्यो ओलीको बोली र गुटकै कारण श्रेष्ठ रुष्ट भएका रहेछन् । डा. गोविन्द केसीका माग सम्बोधन गर्न खेलेको भूमिकालाई लिएर ओली श्रेष्ठसँग झोक्किए ।

फरक पार्टीबाट आएका श्रेष्ठले त्यो पचाउन सकेनन् र तत्कालै राजीनामा थमाए । ‘म पार्टीको नेता हुँ, नोक्कर होइन । अध्यक्षले बोलभन्दा बोल्ने नबोल भन्दा नबोल्ने म गर्न सक्दिन’ भन्दै श्रेष्ठले ओलीलाई काउन्टर दिएपछि ओली– श्रेष्ठको सम्बन्धमा चिरा परिसकेको छ ।

माओवादीबाट आएका नेता खुशी छैनन् ओलीसँग । पूरानो एमालेका नेताको असन्तुष्टी झनै बढि छ । नेकपा श्रोत भन्छ–ओलीसँगको असन्तुष्टीको परिणामले पार्टीलाई छिन्नभिन्न बनाउन बेर मात्र लगाउँदैन, ५ वर्षे स्थायी सरकार समेत नढल्ला भन्न सकिन्न ।

सरकारमा पनि उस्तै असन्तुष्टी

नेकपाका नेताहरुले नै भन्ने गरेका छन्– अहिलेको सरकारले गरेका कामबाट सन्तुष्ट हुने ठाउँ छैन । तर उनीहरुभन्दा रुष्ट छन् जनता । जसले राष्टवादी ठानेका नेताबाट यो अपेक्षा कल्पना पनि गरेका थिएनन् ।

भारतको विरोध गर्दै जस्तो छवी बनाएका थिए, त्यो निक्कै धमिलिएको छ । जे बोलेका थिए त्यो पूरा नगरेपछि विपक्षीले भनेजस्तै जनतामा पनि ओलीले गर्दैनन् बोल्छन् मात्रै भन्ने छाप पर्न थालेको छ । उतिबेला जति धेरै भारतको विरोध गरे त्यति नै उनको राष्ट्रवादीको हाइट बढ्यो ।

यस्तो राष्ट्रिवादी थिए उनका विरुद्ध वोले राष्ट्रघाती हुन्थे । त्यसैगरी व्याख्या पनि गरिएको थियो । त्यो राष्टवादी छवि बचाउन ओलीले लामो समय सकेनन् । त्यो ढाकिएको जालो ६ महिना प्रधानमन्त्रीको कुर्सीमा बस्दै भत्कीयो । ओलीको भारत भ्रमण होस् या मोदीको नेपाल भ्रमण दुवैले ओलीको राष्ट्रवादी छवि मेटाउन मद्दत ग¥यो ।

एक पटक जुन छवि थियो, राष्ट्रवादी भनेकै ओली हुन् र एमाले पनि उनै हुन् ।

जसलाई पार्टीभित्रबाट पनि केहि भन्न सक्ने स्थिति नै थिएन । ओलीविरुद्ध बोल्नेलाई उनका गुटका कार्यकर्ताले मात्रै होइन जनताले पनि मन पराउँदैनथे ।

अहिलेको प्रतिपक्षि पनि सुनेको नसुनै गथ्र्यो । जो (नेपाली कांग्रेस) निरन्तरको सत्तारोहनले खोक्रो हुँदै गएको थियो । जनताले विश्वास गर्न छाडिसकेका थिए ।

त्यसले पनि ओलीलाई सत्ताको बाटोमा पुर्याउन सहयोग गर्यो । तर सत्तारोहणले ओलीलाई बलियो बनाएन झनझन कमजोर बनाउँदै छ पाटी र जनताको बीचमा ।

केहि दिनदेखी यसका असरहरु देखिन थालेका छन् । कानूनमन्त्री शेरबहादुर तामाङको राजीनामा पनि उनको विवादस्पद अभिव्यक्ति मात्र होइन, ओलीइत्तर खेमामा भएका कारण पनि हो ।

पार्टीभित्रकै नेताको स्वार्थसँग पनि जोडिएको थियो । तामाङले भाषा सच्याएर पत्रकार सम्मेलन गरिसकेका थिए । तर ‘के निउँ पाउँ कनिका पकाउँ’ भनेर बसेकालाई यो कारण बन्यो ।

मन्त्री त्याग्दै गर्दा तामाङले रुँदै भनेका थिए– मैले जे भनेको थिएँ, त्यसलाई बंग्याइयो । हो तामाङ राजनीतिक सिकार पार्टी भित्रैबाट भएका हुन् । नैतिकताकै नाममा शिकार बनाइएको हो ।

ओलीसँग ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन पनि खुशी छैनन् । कहिले हस्तक्षेप र कहिले ‘वाइपास’ गरेर ओलीले अर्को अहम्ता देखाएका छन् । अरुण तेश्रोको शिलन्यास गर्दा वर्षमान पुनलाई वाइपास गरे ओलीले । त्यसपछि अरु आयोजनामा लगानी बोर्डलाई टेकेर हस्तक्षप सुरु गरेका छन् ।

बुढीगण्डकीमा ओलीको हस्तक्षप नस्वीकार्ने वर्षमानले चेतावनी दिइसकेका छन् । यसबाहेक पनि केहि मन्त्रीलाई ओलीले रुचाएका छैनन् ।

अर्थमन्त्रीसँग पनि पार्टीको ठूलो पंक्ति असन्तुष्ट छ । शक्तिशाली ओलीविरुद्ध एक पछि अर्को गर्दै असन्तुष्टिका विषय थपिँदै छन् । जसले ओलीको हेपाह प्रवृतिको बदला लिने मौका बनाउन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *