छोरीलाई जन्मनै निषेध ! क्रान्तिकारी भनिएकाहरु पनि छोरा नै चाहन्छन् किन ?

काठमाडौँ, साउन २८ । पहिलो सन्तान छोरी जन्मिए दोस्रोपटक लिंग पहिचान गरेर गर्भपतन गर्ने प्रवृत्तिले छोरीको जन्मदर नै घट्दो छ ।

नेपालमा पुरुषभन्दा महिलाको संख्या करिब ८ लाख बढी छ । तर, छोरी जन्मने क्रम हरेक वर्ष घट्दै छ । छोरीको जन्मदर अहिलेकै अनुुपातमा घट्दै जाने हो भने केही वर्षभित्रै देशमा लैंगिक असन्तुलन आउनेछ ।

विज्ञहरूका अनुसार सुरुमा छोरा जन्मिए अर्को सन्तान नजन्माउने, पहिलो छोरी जन्मिए दोस्रो सन्तान पाउँदा लिंग पहिचान गरेर गर्भपतन गराउने, छोराको चाहना बढी हुनेलगायत कारणले छोरीको जन्मदर घट्दै गएको खबर आजको नयाँ पत्रिकामा छ ।

केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणअनुसार (०६८ को राष्ट्रिय जनगणना) एक सय २१ छोरा जन्मिँदा सय मात्र छोरी जन्मिन्छन् । सबैभन्दा धेरै प्रसूति सेवा दिने थापाथलीस्थित प्रसूतिगृहको तथ्यांकमा पनि ५४ प्रतिशत छोरा र ४६ प्रतिशत मात्रै छोरी जन्मिएका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य महाशाखाको तथ्यांकनुसार आर्थिक वर्ष ०७३÷७४ मा देशभर एक लाख ७७ हजार २ सय ५३ छोरा जन्मिए । सोही वर्ष जन्मिने छोरीको संख्या भने एक लाख ६६ हजार ३ सय २४ मात्र थियो । त्यस्तै, आब ०७२र७३ मा एक लाख ८६ हजार ८ सय १७ छोरा जन्मिँदा एक लाख ७३ हजार ४ सय ९६ मात्र छोरी जन्मिए । आर्थिक वर्ष ०७१र७२ मा एक लाख ४७ हजार ४ सय २४ छोरा जन्मिए भने एक लाख ४३ हजार ४ सय १६ मात्र छोरी जन्मिए ।

प्रसूतिगृहमा आर्थिक वर्ष ०७३–७४ मा १८ हजार ७ सय २० बच्चा जन्मिएका थिए । तीमध्ये १० हजार १ सय ३ छोरा र ८ हजार ६ सय १७ छोरी थिए । आब ०७२–७३ मा ९ हजार ९ सय २७ छोरा र ८ हजार ३ सय ८५ छोरी जन्मिए । त्यस्तै, ०७१–७२ मा १० हजार १ सय ९२ छोरा र ८ हजार ६ सय २१ छोरी मान्छे जन्मिए । आव ०७०–७१ मा ९ हजार ९ सय ५३ छोरा र ८ हजार ७ सय ९० छोरीको जन्म भएको अस्पताल प्रशासनले जनाएको छ ।

तथ्यांक विभागका सूचना अधिकारी प्रमोदराज रेग्मीका अनुसार नेपालमा छोरीको जन्मदर भारतमा भन्दा धेरै कम हुँदै छ । भारतमा एक सय ११ छोरा जन्मिँदा सय मात्र छोरी जन्मिन्छन् । त्यस्तै, सिंगापुरमा एक सय ७ छोरा जन्मिँदा सय छोरी जन्मिन्छन् । यो अनुपात २५ वर्षदेखि स्थिर छ ।

पूर्व स्वास्थ्य सचिव डा. किरण रेग्मीले लिंग पहिचान गरी भ्रूणहत्या गराउन महिलाहरु बाध्य भएको बताइन् ।

सुरक्षित मातृत्व र सुरक्षित गर्भपतनको अधिकार दिने भनेर कानुन बनाएतापनि समाजमा रहेको पुरातनवादी पितृसतात्मक सोच बदल्न नसकेको बताउँदै उनले भनिन्, ‘राज्यका निकायमा महिलाको प्रतिनिधित्व बढ्यो भनेर हामी गर्व गर्छौँ । तर, हामीकहाँ छोरीको बाँच्न पाउने र जन्मने अधिकार नै खोसिँदै छ भन्ने तथ्यलाई नजरअन्दाज गरिरहेका छौँ ।’

त्यस्तै परिवार स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. तारानाथ पोखरेलले पढेलेखे पनि, क्रान्तिकारी भए पनि सबैले छोरा नै चाहने बताए ।

‘नेपालमा जतिसुकै पढेलेखे पनि, क्रान्तिकारी भए पनि छोरै होस् भन्ने चाहना राख्छन् ’, उनले भने । ‘कुल जन्मदरमा छोराको संख्या धेरै छ र त्यो किन भइरहेको छ भन्नेबारे विस्तृत अध्ययन जरुरी छ । अप्राकृतिक कारण हो भने त्यसलाई कडाइका साथ रोक्नुपर्छ । कानुन कडा बनाउने विषयमा सोच्नुपर्ने वेला भइसकेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *