राजनीतिक अधिकार स्थापित गर्न मंगलादेवीको योगदान

काठमाडाैं, साउन २५ । नेपाली काँग्रेसका नेताहरुले महिलाको राजनीतिक अधिकार स्थापित गर्नका लागि मंगलादेवी सिंहको अतुलनीय योगदान रहेको बताएका छन् । नेपाल महिला संघको ७१औँ स्थापना दिवस पारेर नेपाल महिला संघले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले स्व सिंहको महिला अधिकारको आन्दोलनसँगै राजनीतिक अधिकारप्राप्तिका लागि गरेको योगदानको चर्चा गरेका हुन् ।

कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणले महिला नेत्री गुठकोभन्दा पनि पार्टीको हितका लागि लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘गुठबन्दी अन्त्यका लागि महिला नेत्री सशक्त भएर लाग्न खाँचो छ ।’ महिला नेत्रीहरुले विगतदेखि नै राजनीतिक परिवर्तनका लागि गरेको योगदानको उहाँले प्रशंसा गरे ।

उनले सरकारले स्वतन्त्र न्यायलयमा हस्तक्षेप गरेको आरोप लगाए । उनले भने, ‘यसले गर्दा संविधान र कानूनकोसमेत उपहास गरेको छ ।’उनले सरकारले मूल्यवृद्धि चर्को बनाएकोसमेत आरोप लगाएका छन्। संसदीय दलका सचेतक पुष्पा भुसालले विगतमा मंगलादेवी सिंह लगायतले योगदानकै कारण आज उपलब्धि हासिल भएको बताइन् ।

उनले भनिन्, ‘उहाँहरुकै कारण आज संसद्मा ३३ प्रतिशत र स्थानीय निकायमा ४० प्रतिशत महिला सहभागिता सुनिश्चित भएको हो ।’उनले पार्टीभित्र र बाहिर महिला प्रतिनिधित्व बढाउनका लागि नियमित आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय सदस्य गुरु घिमिरले नयाँ पुस्ताका महिला अझै सशक्त ढंगले अघि बढ्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेलले महिला जागरुक बनाउनका लागि महिला संघले गाउँगाउँसम्म कार्यक्रम लिएर जानुपर्ने आवश्यकता औँल्याइन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *