बोलबममा निःशुल्क भोजन गराउँदै मारवाडी सेवा समिति

साउन २३, धरान । हरेक बर्षको साउन महिना सुरु भएसंगै चतराबाट कोशी नदीको पवित्र जल ल्याएर सुनसरीको धरान १४ स्थित पिण्डेश्वर बाबाधाममा जल चढाउने भक्तजनलाई लक्षित गरी पिण्डेश्वर मन्दिरमा मारवाडी सेवा समितिले साउने सोमबारका दिन निःशुल्क भोजन गराउँदै आएको छ ।

मारवाडी सेवा समिति धरानले १५ वर्षदेखि निरन्तर रुपमा पिण्डेश्वरमा जल चढाउन आउने भक्तजनलाई निःशुल्क भोजन गराउँदै आएको हो ।
धरानको पिण्डेश्वर बाबाधाममा जल चढाउन साउने सोमबारका दिन भक्तजनको ठूलो भिड लाग्ने गर्दछ । पूर्वका मात्रै नभई पश्चिम नेपाल तथा भारत, भुटान, बंगलादेश लगायतबाट समेत तीर्थयात्री जल चढाउन पिण्डेश्वर आउने गर्दछन् ।

पिण्डेश्वरमा जल चढाउन आउँदा तिर्थालु भक्तजन भोकै व्रत बसेर जल चढाउने गर्दछन् भने, टाढाबाट आउने भक्तजनहरुलाई जल चढाइसकेपछि साकाहारी खानाको अभाब देखिएपछि माडवारी सेवा समितिले १५ वर्षदेखि निःशुल्क खानाको ब्यवस्था गर्दै आएको हो ।

‘बाहिरबाट आएका भक्तजनलाई साकाहारी भोजन पाउन समस्या थियो, हामीले त्यस्ता भक्ताजनलाई निःशुल्क भोजनको ब्यवस्था गर्दै आइरहेका छौं ।’ मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवालले बताए ।

माडवारी सेवा समितिले निःशुल्क खाना खुवाउँदा अघिल्लो हप्ता मात्रै ४ बोरा चिउरा, १०० केजी आटा र ४ सिलिण्डर ग्यास सकिएको बताएको छ । पिण्डेश्वरमा मारवाडी सेवा समिति बाहेक अन्य सङ्घ–संस्थाले पनि निःशुल्क भोजन गराउने गर्दछन् । लायन्स क्लब अफ दन्तकाली तथा बुढासुब्बा, साथी समूह, पिण्डेश्वर टोल विकास संस्था, धरान मनिहारी तथा उपहार व्यापार संघ लगायतले निःशुल्क पानी फलफुल, बिस्कुट लगायतका प्रसादका सामग्री खुवाउँदै आएका छन् ।

तीर्थमा दान गर्नु, यात्रीलाई भोजन गराउनु, पानी खुवाउनु जस्ता कार्यले सबैभन्दा ठूलो धर्म कमाईन्छ भन्ने विश्वास हिन्दू धर्मावलम्बीहरूमा रहेको छ ।

मारवाडी सेवा समिति धरानले तिर्थालुलाई पुरी–तरकारी, चिउरा र हलुवा खुवाउँदै आएको छ भने, धर्मप्रति आस्था राख्नेहरू मारवाडी समाजमा धेरै रहेको अध्यक्ष अग्रवालले बताए ।

उनले आर्थिक रुपमा संघको प्रत्येक वर्ष ३ देखि ४ लाखसम्म समाजसेवामा खर्च गर्नेे गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *