बाल विकास शिक्षक समिति कैलालीको अध्यक्षमा तिमिल्सैना

“
लम्की, साउन २१ । नेपाल बाल विकास शिक्षक समिति कैलालीको अध्यक्षमा निर्मला तिमिल्सैना चयन भएकी छिन्।
यसअघि अध्यक्ष रहेकी लक्ष्मी भट्ट प्रदेश नम्बर ७ को अध्यक्ष बनेपछि रिक्त रहेको उक्त पदमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयमा कार्यरत बाल विकास शिक्षिका निर्मला तिमिल्सैना अध्यक्ष चयन भएकी हुन् ।
यसअघि जिल्ला उपाध्यक्षमा रहेकी तिमिल्सैनालाई सोमबार धनगढीमा बसेको नेपाल बाल विकास शिक्षक समितिको बैठकले अध्यक्षमा चयन गरेको हो ।
यसैगरी सोमबारको बैठकले २१ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा गीता रावल कुँवर र उपाध्यक्षमा चित्रा ढुङ्गानालाई चयन गरेको नेपाल बाल विकास शिक्षक समिति कैलालीका सचिव पार्वती कंडेलले बताइन् ।
बैठकले नेपाल बाल विकास शिक्षक केन्द्रिय समितिको २०७५ साल साउन १६ गते बसेको बैठकले बाल विकास शिक्षकका विभिन्न माग राखी आगामी साउन २५ गतेदेखि भाद्र २२ गते सम्मका लागि जारी गरेका आन्दोलनका कार्यक्रमहरुलाई कैलाली जिल्लामा समेत सशक्त बनाउने निर्णय गरेको नव निर्वाचित अध्यक्ष निर्मला तिमिल्सैनाले बताइन् ।
प्रारम्भिक बाल विकास ( इसिडी) मा कार्यरत शिक्षकहरु शिक्षा ऎनको आठौं संशोधनले इसिडिलाई विद्यालय तहमा समायोजन गरेपछि अन्य शिक्षक सरह सेवा सुविधा पाउनुपर्ने भन्दै आन्दोलनमा रहेका छन ।
“








