अनुमति विना शैक्षिक मेला गर्ने एइसिसि ग्लोवलमा प्रहरीको हस्तक्षेप


काठमाडौं, साउन १८ । शिक्षा मन्त्रालयबाट अनुमति नलिइकन शैक्षिक मेला गर्नेलाई प्रहरीले रोक लगाएको छ । राजधानीको डिल्लीबजार चारखाल स्थित एइसिसि ग्लोवलले शिक्षा मन्त्रालयबाट अनुमति नलिइकन आज शैक्षिक मेला गर्न लागेकोमा प्रहरीले रोक लगाएको हो ।
अनुमति नलिइकन शैक्षिक मेला आयोजना गरेको तथा कार्यालयमा अनाधिकृत गतिविधि गरेको भन्दै प्रहरीले एइसिसि नेपालको मुख्य कार्यालयमै छापा मारेको हो ।
शिक्षा मन्त्रालयबाट अनुमति नलिइकन शैक्षिक मेला गरी विद्यार्थीलाई गलत सुचना प्रवाह गरेको सुचनाका आधारमा प्रहरीले मेला स्थगित गरेको हो ।
मन्त्रालयका एक उच्च अधिकारीले दिएको अनुसार एइसिसिका प्रतिनिधिले हिजो बिहिबार मन्त्रालयमा शैक्षिक मेला गर्न अनुमति लिन गएका थिए । तर, शैक्षिक मेला आयोजना गर्नु १५ दिन अगाडी नै अनुमति लिनुपर्ने प्रावधानले एइसिसिले अनुमति पाएन ।
‘आजको फेयरका लागि हिजो २ बजेपछि अनुमति चाहियो भनेर आएका थिए, हामीले १५ दिन अगाडी नै अनुमति लिनुपर्ने भन्दै फर्काएका थियौं ।’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने ।
मन्त्रालयका अधिकारीले १५ दिन अगाडी अनुमति लिनुपर्ने आजको भोली नै नमिल्ने भनेपछि एइसिसिका महेश नाम गरेका ब्यक्ति रिसले चुर हुँदै फर्किएका थिए ।
प्रहरीले एइसिसि ग्लोवलको कार्यालयमा नियमित निगरानी राखेको थियो । आज शैक्षिक मेला गरेको पाएपछि हस्तक्षेप गरेको हो ।
प्रहरीले एइसिसिका प्रतिनिधिलाई कार्यालयमा ल्याएर केरकार गरेको थियो भने, बेलुकी मात्र अब आइन्दा अनुमति लिएर मात्र मेला लगाउने शर्तमा छाडेको प्रहरी स्रोतको भनाइ छ । विभिन्न सञ्चारमाध्यममा ठूल्ठूला विज्ञापन गरेर हल्ला गरेको एइसिसि ग्लोवल नेपालले शिक्षा मन्त्रालयको प्रावधानलाई लात हानेको छ ।
अष्ट्रेलिया, क्यानडा, न्यूजलेण्ड, बेलायत र अमेरिकाका विभिन्न कलेज तथा विश्वविद्यालयमा विद्यार्थी पठाउने भन्दै एइसिसिले परामर्श दिने गरेको भएपनि विद्यार्थीलाई विभिन्न प्रलोभन समेत देखाउने गरेको थियो । अन्तराष्ट्रिय फ्रेन्चाइज रहेको एइसिसिले पछिल्लो समय नेपाल सरकारको नियम कानुन मिचेर काम गरिरहेको बुझिएको छ । खासगरी उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीको डकुमेन्टेशनमा एइसिसिले गलत काम गर्ने गरेको स्रोतको दावि छ ।
यस विषयमा एइसिसिका नेपाल प्रतिनिधिसँग कुरा गर्न सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *