स्क्रब टाइफसको चार महिना बढी जोखिम

‘स्क्रब टाइफस सामान्य रोग हो, ज्वरो आउनसाथ सम्बन्धित चिकित्सकसँग पुगेर जाँच गराए यसबाट सजिलै बच्न सकिन्छ’

किशोर खनाल, भरतपुर । चितवनलगायत यस आसपासका जिल्लामा साउनदेखि कार्तिकसम्म स्क्रब टाइफसको जोखिम रहने चिकित्सकहरुको भनाइ छ । यो चार महिनाको समयमा बढीमात्रामा खेतीपाती गर्ने र जंगल जाने काम हुने भएकाले स्क्रब टाइफसको जोखिम बढी हुने चिकित्सकहरुको भनाइ छ ।
‘साउनदेखि कार्तिकसम्म स्क्रब टाइफसको जोखिम अत्यन्तै बढी छ, यो चार महिना अत्यन्तै सतर्क हुन जरुरी छ’ जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख विजयकुमार झाले भने, ‘साउनदेखि कार्तिकसम्म स्क्रब टाइफस रोग सार्ने किर्नाले आक्रमण गर्छ । यो समयमा पानी, तापक्रम र आद्र्धताको प्रभाव हुन्छ । त्यसैले यो समयमा बढी स्क्रब टाइफसको जोखिम बढेर जान्छ ।’
जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले साउनदेखि कार्तिकसम्म सबैलाई सतर्क रहन अपिल गरेको छ । ‘स्क्रब टाइफसको मात्र होइन, डेंगुको प्रकोप पनि यो समयमा बढी देखिन्छ । यो समय त रोगको सिजनल हो । यतिबेला विभिन्न रोगसँग सर्तक रहन जरुरी छ’ जनस्वास्थ्य प्रमुख झाले भने ।
चितवन जिल्लामा ८ दिनमा १३ जना स्क्रब टाइफस देखिएपछि जनस्वास्थ्य कार्यालय भरतपुरले सतर्कता अपनाउन सबैमा अपिल गरेको हो । २०७४ वैशाखदेखि साउन ८ गतेसम्म चितवनमा २२ जनामा स्क्रब टाइफस भेटिएको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए । ‘स्क्रब टाइफसको सिजन कार्तिकसम्म मानिन्छ, गत वर्ष पनि कार्तिकपछि देखिएन । त्यसैले बढी सुरक्षित हुन जरुरी छ’ केसीले भने ।
साउनदेखि कार्तिकसम्म मलेरिया, हैजाजस्ता रोगको पनि प्रकोप बढ्ने देखिन्छ । बाढीपहिरो आउने समय भएकाले पनि यो समयमा नयाँनयाँ रोगहरु देखिन सक्ने सम्भावना हुन्छ । ‘चितवन देशकै मध्येभागमा रहेको छ, सबै ठाउँका मान्छेको यस जिल्लामा आउजाउ हुन्छ, त्यसैले पनि यो जिल्लामा रोगको जोखिम बढ्दो छ’ जनस्वास्थ्य प्रमुख झाले भने ।
कसरी हुने सुरक्षित
माइट नामको किर्नाले मानिसलाई टोकेपछि स्क्रब टाइफस लाग्छ । यो जुम्राजस्तै सूक्ष्म हुन्छ । नाङ्गो आँखाले यसलाई देख्न मुस्किल पर्छ । यो प्रायः मुसाको कानमा बस्छ । जंगलको अग्ला खरको घाँसमा यो किर्ना पाइन्छ ।
‘मानिसहरुलाई घाँस काट्न जाँदा यो किर्नाले टोकेर स्क्रब टाइफस लागेको पाइएको छ । घाँस काट्न जाँदा नाङ्गो खुट्टाले हिँड्न भएन । हातमा पातलो पञ्जा, खुट्टामा बुट लगाएर हिँडेमा यसबाट धेरै सुरक्षित हुन सकिन्छ’ जनस्वास्थ्य प्रमुख झाले बताए ।
टाउको दुख्ने, ज्यादा ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने स्क्रब टाइफसको प्रमुख लक्षण हुन् । यो रोग अघिल्लो वर्षदेखि देखिन थालेको हो । नेपालमा सबैभन्दा पहिला यो रोग चितवन जिल्लामै देखिएको हो । स्क्रब टाइफस सामान्य रोग हो, ज्वरो आउनसाथ सम्बन्धित चिकित्सकसँग पुगेर जाँच गराए यसबाट सजिलै बच्न सकिन्छ ।
स्क्रब टाइफसको किट आएन
चितवनमा स्क्रब टाइफस परीक्षण गर्न कीटको अभाव भएको छ । स्क्रब टाइफसको कीट माग गर्दै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई पत्र पठाए पनि हालसम्म नआइपुगेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
‘हामीसँग स्टक कीट छैन, एकदम सीमित मात्रामा छ’ जनस्वास्थ्य प्रमुख विजयकुमार झाले भने, आफ्नै स्रोतले किनेको १९६ वटा कीट अस्पतालहरुलाई उपलव्ध गराएका छौँ । बाँकी किट छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *