अधिकांश स्थानमा पानी पर्ने, नदी आसपासमा सतर्कता अपनाउन आग्रह

काठमाडौं, साउन १३ । तीन दिनसम्म देशका धेरै ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार धेरै ठाउँमा हल्कादेखि मध्यम खालको तथा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

शनिबार बिहानैदेखि काठमाडौं सहित देशका धेरै ठाउँमा पानी परेको छ । राती पनि देशभर बदली रही पूर्व र मध्यका धेरै ठाउँमा तथा पश्चिमका केही ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । पूर्व र मध्यका केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविदले बताएका छन् ।

आइतबार दिउँसो र रातको दुबै समयमा देशभर सामान्यदेखि पूर्ण बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । साउन १४ गते पनि देशभर बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनुको साथै एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

निरन्तरको वर्षाले देशका मुख्य नदीमा बाढीको सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्मको बाढी बुलेटिन सार्वजनिक गर्दै नदीमा बहाब खतरा भन्दामाथि रहनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

आज देशका प्रमुख नदी कन्काई, कोशी, कमला, पश्चिम राप्ती, बबईलगायतमा जलसतह उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

कर्णाली, महाकाली र यसका शाखा नदीमा बहाब खतरा भन्दामाथि रहने सम्भावना नरहे पनि आइतबार बिहानसम्म कन्काई, कमला, बाग्मती, पश्चिम राप्ती, बबई लगायतका नदीमा बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।

आइतबार बिहान प्रमुख नदीमा बहाब बढ्दो क्रममा हुने तथा कन्काई, कमला, बागमती, कोसी र यसका शाखा नदीमा बहाब उल्लेख्य बढ्ने तर खतरा भन्दा तलैहुने तथा पूर्व र मध्य भागको चुरे र पहाडबाट बहने साना नदीमा आकस्मिक बाढी आउनसक्ने सम्भावना भने कायमै रहेको शाखाको पूर्वानुमान छ ।

खासगरी पूर्व र मध्य भागको चुरे र पहाडबाट बहने साना नदीमा बाढीको सम्भावना रहेको छ । पहिरो जान सक्ने स्थानमा पनि सतर्कता खपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *