अनसनकाे अाज २६ औँ दिन, सरकार र डा.केसी पक्ष पुनः वार्तामा बस्दै, अनसन आजै तोडिएता त ?

काठमाडौं, साउन ९ ।  चिकित्सा शिक्षा क्षेत्रका बेथितीविरुद्ध असार १६ देखि जुम्लाबाट अनशन शुरू गरेका डाक्टर गाेविन्द केसी १६ औं पटक अनसन बसेकाे अाज २६ दिन भएकाे छ ।  जुम्लामा अनसन सुरु गरेका डा केसीलाई गएको बिहीबार सरकारले काठमाडौं ल्याएको थियो।

डा. केसीको उपचारमा खटिएका चिकित्सकहरुले डा केसीको स्वास्थ्यावस्था अस्थिर र असामान्य रहेको बताइरहेका छन्। मुटु र श्वासप्रश्वासमा देखिएको अस्थिर अवस्थाका कारण डा केसीको स्वास्थ्य कमजोर बनिरहेको उहाँका भाइ किशोर केसीले बताए । उनका अनुसार रगतमा गुलकोजको मात्रा निकै न्युन रहेको र अन्य ‘प्यारामिटर’समेत सकारात्मक छैनन्।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा अनसन बसिरहेका डा केसीको स्वास्थ्य अवस्था ‘असामान्य’ बन्दै गएपछि सोमबारदेखि सरकार वार्ता प्रक्रियामा जुटेको छ। सोमबार र मंगलबार भएको अनौपचारिक र औपचारिक छलफल तथा वार्ता सकारात्मक दिशातर्फ अगाडि बढेको बताइएको छ।

अनसनको २५औं दिनमा मंगलबार प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल,   नेता सुवास नेम्वाङ, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, नेपाल  मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बाँस्कोटा, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डिनहरु डा मदन उपाध्याय, डा रमेशकान्त अधिकारी र डा केसीका वार्ता समितिका संयोजक डा अभिषेकराज सिंहबीच अनौपचारिक छलफल भएपछि दुवै टोलीबीच वार्ता भएको थियो।

डा केसीले उठाएका मागमध्ये अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै सहमति जुट्न बाँकी छ।

बाँकी विषयमा आज बिहान पुनः छलफल गरेर सहमति जुटाउनेगरी मंगलबारको वार्ता सकिएको हो। योसँगै डा केसीको अनसन पनि आज नै तोडिनसक्ने सम्भावना रहेको वार्तामा बसेका एक सदस्यले जनाए।

चिकित्सा शिक्षा विधेयकका अधिकांश बुँदामा सहमति जुटे पनि मुख्य बुँदामा भने अझै सहमति हुन नसकेपछि आज थप छलफल गरेर सहमतिमा पुग्ने बताइएको छ। अन्तिम सहमतिका लागि दुवै पक्षबीचको वार्ता शिक्षा मन्त्रालयमा केहीबेरमा बस्ने बताइएको छ।

दुई पक्षबीचको छलफलमा विधेयकबाट हटाइएका प्रमुख विषयहरु काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय शय्याको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायतका विषयमा छलफल भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले जानकारी दिए ।

यस्तै, विधेयकबाट हटाइएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतका कार्यक्रमहरु समेत थप गर्ने विषयमा छलफल भएको थियो।

शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने थिए।

यसैगरी, डा केसीका तर्फबाट डा जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागी थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *