पछिल्लो बाढिपहिरो: मुलुकका विभिन्न स्थानमा आठ जनाको मृत्यु,१४ जना घाइते

काठमाडौं, असार २९ ।  बिहीबार वर्षाका कारण बाढी, पहिरो र डुबानलगायतले मुलुकका विभिन्न स्थानमा गरी आठ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले बिहीबार साँझसम्म १४ जना घाइते तथा एक जना बेपत्ता भएको जनाएको छ । केन्द्रका प्रमुख शङ्करहरि आचार्यले भक्तपुरमा तीन जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

त्यसैगरी, रुपन्देहीमा दुई जना, कपिलवस्तुमा एक जना, झापामा एक जना र बागलुङगमा एक जनाको मृत्यु भएको छ । दाङमा एघार जना तथा रसुवा, बैतडी र चितवनमा एक/एक गरी १४ जना घाइते भएका छन् । कपिलवस्तुमा एक जना वेपत्ता भएको केन्द्र प्रमुख आचार्यले जानकारी दिनुभयो ।

नेपाल प्रहरीको समाचार कक्षका अनुसार, अविरल बर्षाका कारण भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँमा घर भत्केर ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ७० वर्षीय हिरा लामा, उनकी ६५ वर्षीया श्रीमती पानमाया लामा र साढे दुई वर्षीया नातिनी सम्पदा लामा छन् ।

भक्तपुरमा मृत्यु भएकाकोे परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट जनही एक लाख रुपियाँका दरले राहत वितरण गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी, भक्तपुर नगरपालिकाको लिवाली र आदर्शवस्ती, मध्यपुर ठिमी नगरपालिका–१ को सुकुमबासी वस्ती, सूर्यविनायक नगरपालिकाको वडा नंं. ३ र ४ को नयाँवस्ती क्षेत्रका बाढी तथा पहिरोबाट विस्थापित भएका परिवारलाई प्रति परिवार दश हजार रुपियाँका दरले राहत वितरण गर्ने निर्णय भएको पनि प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

मनसुन अझै सक्रिय
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले अझै केहि दिन मुलुकको मध्य र पश्चिमी भूभागमा वर्षा हुने बताउनुभयो । मुलुकको पूर्वी तराई क्षेत्रमा वर्षा भए पनि मध्य र पश्चिमी भूभागको तुलनाामा वर्षाको गतिविधि केही कम हुने उहाँले बताउनुभयो ।

शुक्रबारको तुलनामा शनिवार वर्षा केही कम हुने देखिए पनि मध्य र पश्चिमी भूभागको एक दुई स्थानमा भारी वर्षा हुने उहाँले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा बढी वर्षा
बुधबार र बिहीबार मुलुकको अन्य भूभागको तुलनामा काठमाडौँ उपत्यकामा वढी पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रिमालले काठमाडौँ उपत्यकामा शनिवारसम्म मौसम बदली रहने र हल्कादेखि मध्यम खालको वर्षा भइरहने बताउनुभयो ।
महाशाखाका अनुसार, बुधबार बिहान ८ बजेदेखि बिहीबार आठ बजेसम्म काठमाडौँ उपत्यकाको भक्तपुरमा १२९ मिलिमिटर, नगरकोटमा ११७ मिलिमिटर, गोदावरीमा ११५ मिलिमिटर र थानकोटमा ५१ मिलिमिटर पानी प¥यो ।

करिब डेढ दशकयता काठमाडौँ उपत्यकामा चौबीस घण्टाभित्र मापन गरिएको यो सबभन्दा बढी वर्षा हो । यसअघि, सन् २००२ जुलाई २३ मा काठमाडौं उपत्यकामा चौविस घण्टाभित्र १७७ मिलिमिटर वर्षा मापन गरिएको थियो ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाका हाइड्रोलोजिष्ट विनोद पराजुलीले अतिक्रमण तथा विकासको नाममा उपत्यकाका खोला नदीलाई खुम्च्याइएका कारण काठमाडौँ उपत्यका जलमग्न हुन पुगेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *