सप्तकोशीमा पानीको बहाब बढ्यो, खतराको संकेत ! सुनसरीका कैयौँ बस्ती डुबानमा

धरान, असार २२ । सप्तकोशी नदीमा पानीको बहाब निरन्तर बढिरहेको छ । पानीको बहाब यो मौसमकै सबैभन्दा बढि एक लाख ५४ हजार ३ सय ९३ क्यूसेक पुगेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

पानीको बहाव बढेपछि खतरा चिन्ह स्वरुप रातो बत्ती समेत बालिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमरियाका अनुसार पानीको बहाब एक लाख ५० हजार क्यूसेक नाघेकोले खतराको सूचक रातो बत्ती बालिएको हो । उनले सप्तकोशीका सहायक नदीहरुमा बाढी आएका कारण पानीको बहाब बढेको बताए ।

उता सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकाको दक्षिणी क्षेत्र, भोक्राहा, नरसिंह लगायतका बस्तीमा सुनसरी खोलाको पानी पसेपछि जनजीवन प्रभावित बनेको छ ।

सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोलासहितका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले आधा दर्जन बस्ती डुबानमा परेको हो ।

डुबानका कारण निर्माण सामग्री, बाली र अन्य सामग्रीमा गरी करोडौँको क्षति भएको स्थानीयले बताएका छन् । बाढीका कारण इनरुवा–१०, जल्पापुरमा हाटसेट निर्माणका लागि राखिएका विभिन्न सामान सहित निर्माणका सामग्री बगाएको छ भने मरिया खोलाको बाढीले डुबानमा पारेको छ ।

खोला आसपास क्षेत्रका लहरे र तरकारी बालीमा समेत नोक्सानी पुगेको छ । जल्पापुर मुस्लिम निर्माणका सञ्चालक ऐयुव मियाँले ६० बोरा सिमेण्ट सहितका विभिन्न निर्माण सामग्री र मजदूरका खाद्यान्न तथा तरकारी बाली गरी गाउँमा करोडौँको क्षति हुनुका साथै जनजिवन प्रभावित बनेको जानकारी दिए ।

बाढीको कारणले जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–७, नरसिंह टाप्पुको दलित बस्ती डुबानमा परेको छ ।

नरसिंहको दास टोल र सुकुम्बासी टोलका गरी १०० परिवार डुबानको चपेटामा परेका छन् । स्थानीय जगदीश यादवका अनुसार नरसिंह क्षेत्रमा डुबानका कारणले केही परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् भने केहीलाई घरमा भान्सा गर्ने अवस्था समेत रहेको छैन ।

सुनसरी खोलाको किनारमै रहेको बस्तीका धेरै घर डुबानमा रहेको स्थानीय चन्देश्वर मण्डलले जानकारी दिए ।

उता हरिनगर गाउँपालिका–७ घुस्कीका साथै वडा नं २ र ४ मा समेत मरिया खोलाको बाढीले सयौँ घर डुबानमा परेको स्थानीय अब्दुल कैयुम खाँले जानकारी दिए । मरिया र सुनसरी खोलाको बाढीले १२० घर डुबानमा परेको खाँले बताए ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीले भने बाढी आएको तर हालसम्म कुनै धनजनको क्षतिको विवरण नआएको बताएको छ ।

नदी र खोला आसपासमा भने सतर्कताका साथ बस्न आग्रह गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

यसैबीच अबिरल वर्षाका कारण सुुनसरी खोलामा आएको बाढीले हरिनगरा—बसन्तपुर जोड्ने बाटो पूर्णरुपमा अवरुद्ध भएको छ । सुनसरी खोलाको पानी मोरिया खोलामा मिसिएपछि बाटो पूर्णरुपमा अवरुद्ध भएको हो ।

बाटो अवरोध भएपछि हरिनगरा मावि र वासुदेव एकेडेमीमा अध्ययनरत बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् ।  बाढीका कारण पहिलो त्रैमासिक परीक्षा दिनबाट समेत बालबालिका वञ्चित भएको स्थानीयवासी सरोज मण्डलले जानकारी दिए ।

त्यस्तै मोरङमा पनि गत तीन दिनदेखि परेको वर्षाको कारण बढेको बक्राहा खोलाले रंगेलीको पुलको उत्तर पट्टिको पुर्वी छेउमा कटान गर्न थालेको रंगेली प्रहरीले जनाएको छ । गत वर्षको बाढीले बगाएर पुरीएकै स्थानबाट पुन कटान गर्न थालेको प्रहरीले जनाएको छ ।

अहिले त्यो भाग पुनः बगाउन थालेपछि जनपद र सशस्त्र प्रहरीले नियन्त्रणको गर्ने काम सुरु गरेका छन् । खोलामा बाढी नघटेकोले जोखिम भने कायमै रहेको छ । खोला अझै बढेको खण्डमा ठुलै जोखिम रहेको प्रहरीको अनुमान रहेको छ ।

त्यस्तै विराटनगर –रंगेली रोडमै पर्ने लोहोन्द्र,चेका र चिसाङ खोलामा पनि पानीको बहाव बढेका छन । कटहरी गाउँपालिकाको लोहोन्द्र खोला बढेर स्थानिय नयाँ बजार आसपास क्षेत्रको घरहरुमा पानी पुगेको छ । खोला घर–घरमा पसेपछि स्थानिय त्रसित बनेका छन् । विराटनगर–रंगेली सडकमा पर्ने सो पुल आवागमनको मुख्य मार्ग पनि हो ।

उता लगातारको झरी पछिको बाढीका कारण झापाका ८ स्थानीय तहमा डुवान र कटानको जोखिम बढेको छ । जिल्लाको झापा गाउँपालिका, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गौरादह नगरपालिका र शिवसताक्षी नगरपालिका बाढीको उच्च जोखिममा रहेको रेडक्रस झापाको आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

त्यस्तै भद्रपुर नगरपालिका १ र २ तथा कन्काई नगरपालिकाका केही वडा बाढीको उच्च जोखिममा रहेको जनाइएको छ । यसैबीच रतुवा खोलामा आएको बाढीले आज झापा, दमक ९७ का दुई घर परिवार विस्थापित भएका छन्।

बाढीले घरतर्फ कटान तीव्र बनाएपछि स्थानीय रेडक्रस मार्गको अविकेशर श्रेष्ठ र अर्जुन तिम्सिनाको परिवार विस्थापित भएका हुन्। विस्थापित श्रेष्ठको ४ कोठे पक्की घर र तिम्सिनाको घरको दक्षिण तर्फको भाग खोलाले कटान गरेको छ ।

केही दिन यता परेको अविरल वर्षाका कारण रतुवा खोला नजिकैका वस्तीहरू कटानको जोखिममा परेको स्थानीयबासीले बताएका छन्।

वर्षाकै कारण त्यहाँको नेपाल रेडक्रस सोसाइटी उपशाखा डुबानमा परेको छ । उपशाखाको कार्यालय भवन जलमग्न हुँदा जेनेरेटरमा क्षति पुगेको छ ।

दमक ७ का वडाध्यक्ष भीम पौडेलका अनुसार बाढीले वस्ती क्षेत्रमा कटान तीव्र बनाएपछि विस्थापितसहित त्यस वस्तीमा बसोबास गरी आएका दुई दर्जन बढी घरपरिवार प्रभावित भएका छन्।

बाढी कटान क्षेत्रमा परेको सो वस्तीको बिहीबार नै दमक नगरपालिकाको टोलीले अवलोकन समेत गरेको छ । अवलोकनमा नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, वडाध्यक्ष पौडेललगायतको सहभागिता थियो ।

उता वर्षाका कारण इलामका कतिपय स्थानहरुमा पहिरोको जोखिम बढ्न थालेको छ । लगातारको वर्षाका कारण मेची राजमार्गका कतिपय स्थानहरुमा सामान्य पहिरो गएको छ । मेची राजमार्गको इलामको भालुखोपमा केहि दिन अगाडि गएको पहिरोका कारण सडक अवरोद्ध भएको थियो ।

सडको छेउ भागमा गएको पहिरोका कारण ठूला ठूला सवारी साधनलाई समस्या भएतापनि शसस्त्र प्रहरी बलले आइतबार पहिरो गएको स्थानमा ढुंगा तथा मुडा राखेर यातायातका साधनहरुलाई जोखिम स्थानको जानकारी दिएको छ ।

यस्तै सूर्योदय नगरपालिका वार्ड नम्बर १२ स्थित राम बहादुर राईको घरदेखि १५ मिटरमा रहेको बाँसको सेन्टर बेरा भएको भान्सा र पक्की सौचालय क्षति भएको प्रहरीले जनाएको छ । यसले गर्दा जर्सिङ गाँउको अम्लिसे जाने बाटो अवरोध भएको छ ।

पहाडी क्षेत्र इलाम जिल्लाका ग्रामिण बस्तीहरुमा समेत पहिरोको त्रास बढेको छ । इलाममा पहिरोको धेरै जोखिम क्षेत्र अन्तर्गत कोलबुङ, शान्तिपुर, गोदक, उत्तरी नयाँबजार, प्याङ रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *