जन्मदिन मनाउँ त यसरी !
“
तपाई हामी आफ्नो जन्म दिन वा आफ्ना परिवारमा कसैको जन्मदिन कसरी मनाउँछौं ? केक काटेर ! महंगो पार्टी गरेर ! वा कुनै नयाँ ठाउँ भ्रमण गरेर !
अवश्य पनि हामी अधिकांश जन्मदिन मनाउन माथि भने अनुसार कै प्लान गर्छौं । साथीभाई इष्टमित्र बोलाएर महंगो भोज र महंगा रक्सीका बोतल पनि खोल्छौं ।
तर, आज हामी तपाईलाई आफ्नो जन्मदिनमा कुनै पार्टी नगर्ने, कुनै भोज भतेर नगर्ने अनी महंगा रक्सीका गिलास चियर्स नगरी जन्मदिन मनाउने एक उदाहरणीय ब्यक्तिलाई परिचित गर्न गइरहेका छौं ।
विगत ९ वर्षदेखि विद्यार्थीलाई करियर काउन्सेलिङ गर्दै आइरहेका झापाका शिशिर सिंखडा आफ्नो हरेक जन्म दिनलाई फरक रुपमा मनाउन मन पराउँछन् ।
उनका सयौं साथीहरु जन्म दिनमा पार्टी र भोज गर्न अग्रसर हुँदा शिशिर भने आफ्नो जन्म दिन दुःखी गरीब र असहायका माझ विताउँछन् । उनीहरुसँग जिवनका सुख दुखः साटासाट गर्छन् । उनीहरुको दुखःमा थोरै भएपनि मल्हम पट्टी लगाउन मन पराउँछन् ।
गतसाता जिवनको साँढे तीन दशक पार गरेका शिशिरले काठमाडौँको गोंगबुस्थित असहाय बालबालिका आमा केन्द्रका ५० जना बालबालिकासँग मनाए । उनीहरुसँग सुख दुखः साटासाट गरे । उनीहरुको खुसीमा खुसी भए, दुखःमा दुःखी भए । ‘मलाई जन्मदिनमा केक काटेर भोज गरेर पैसा बर्बाद गर्न मन लाग्दैन, बरु यस्तै सानातिना केटाकेटीसँग दिन बिताउन मन लाग्छ ।’ असहाय केन्द्रमा बालबालिकालाई पाठ्य सामग्री वितरण गर्दै गर्दा भेटिएका उनले भने ।
प्रायः जन्मदिनमा केक काट्ने प्रचलन अहिले मौलाउँदो छ । शिशिरले जन्मदिनमा गरिब दिनदुःखीलाई सहयोग गर्न पाए आत्मसन्तुष्टि प्राप्त हुने बताए । ‘वर्षभरी ब्यवसाय र ब्यस्तताको जिवनलाई एक दिन भएपनि विश्राम दिन मन लाग्छ, त्यसका लागि मैले जन्मदिनलाई रोजें ।’ विगत ६ वर्षदेखि जन्म दिनमा सामाजिक काम गर्दै आइरहेका उनले भने ।
उनले यस पटकको जन्मदिनमा गोंगबुस्थित असहाय बालबालिका आमा केन्द्रका ५० जना बालबालिकालाई पाठ्यसामग्री, खाद्यान्न, फलफूल प्रदान गरे ।
असहाय बालबालिका आमा केन्द्रका सञ्चालक चेम्बा शेर्पाले पनि आफ्नो जन्मोत्सव बालबालिका माझ मनाएर खुसीयाली बाँडेकोमा औधि खुसी भए । ‘यसरी सबैले आ–आफ्नो जन्मदिन अनाथ बालबालिकासँग साटासाट गरिदिए बालबालिकालाई पनि प्रोत्साहन हुन्थ्यो, सधैं न्याउरो मुख लगाएर बस्ने नानीहरुमा खुसीयाली छाउँथ्यो ।’ उनले भने ।
विगत २० वर्षदेखि अनाथ असहाय बालबालिकालाई आश्रय दिँदै आउनु भएका शेर्पालाई अहिले सहयोगी हातहरुको ठूलो खाँचो पनि छ । शिशिर जस्तै हरेक नेपाली जो आर्थिक हिसाबले वर्षको १ दिन (जन्मदिन) खर्च गर्न सक्षम छन्, तिनले सामाजिक काममा खर्च गरे यस्ता अनाथ असहाय केन्द्रका बालबालिकाको भविश्य निर्माणमा ठूलो टेवा पुग्न सक्छ ।
शिशिर गत वर्ष ३४ औं जन्मोत्सव मनाउन आफ्नो जन्मथलो नै गइदिए । संखुवासभाको दुर्गम स्थल पिङडाँडा मयम स्थित श्री प्राथमिक विद्यालयलाई उनले कम्प्युटर नै हस्तान्तरण गरे । बाल्यकालमा विद्यालय तह अध्ययन गरेका शिशिर कम्प्युटर सामग्री सहित विद्यालय आएको देखेर विद्यालयका शिक्षक शिक्षिकाहरुमा खुसीयाली छायो ।
प्रायः विद्यार्थीहरु आफुले पढेको विद्यालय विर्सने गर्छन्, धेरैसँग समय पनि नहुँदा सहयोग गर्न सक्दैनन्, शिशिरले ३४ औं जन्मदिनमा राजधानी देखि संखवासभा गएर सहयोग हस्तान्तरण गरेर वाहवाही मात्रै पाएनन्, कम्प्युटर शिक्षाबाट बञ्चित सयौं विद्यार्थीलाई कम्प्युटर शिक्षाका लागि अवसर पनि दिलाए ।
बाल्यकाल सामाजिक, आर्थिक रुपमा निक्कै दुखः कष्ट भोगेका शिशिर अहिले सम्पन्नताका शिखरमा चढिरहेका छन् । राजधानीको बागबजारमा क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजी (शैक्षिक परामर्श केन्द्र) सञ्चालन गर्दै विद्यार्थीलाई करियर काउन्सेलिङ गर्दै आएका शिशिरले ब्यवसायीक क्षेत्रमा विद्यार्थीलाई समेत सानातिना सहयोग गरेकै हुन्छन् ।
‘हेर्नुस पैसा भन्ने कुरा आवश्यक्तामा मात्र काम लाग्ने हो, पैसाकै ओछ्यानमा सुतेपनि मरेपछि दुई चार जना मलामी कमाउन सकिएन भने, पैसाको के महत्व ? उनी भन्छन्–‘त्यहि भएर हामीले कमाएको दुई चार पैसा समाजसेवामा लगाउँनुपर्छ यसले भावी पिढिँलाई समेत सत्मार्गमा लाग्न प्रेरित गर्छ ।’
उनले पैसाको अभावमा उच्च शिक्षा हासिल गर्न नपाएका, विद्यालयसम्म जान नपाएका बालबालिकालाई पनि धेरथोक सहयोग गरेका छन् । उच्च शिक्षाका लागि विदेश जान खोजेका जेहेन्दार विद्यार्थीलाई उनी आफैंले आर्थिक सहयोग गरेर पठाएका छन् ।
कमाएको केहि प्रतिशत सामाजिक क्षेत्रमा योगदान गर्यो भने, त्यसले राष्ट्र निर्माणमा समेत सहयोग पुर्याउँछ भन्ने उनको तर्क छ । यसका लागि उनले समय–समयमा विद्यार्थी, बालबालिका तथा असहायलाई आर्थिक, भौतिक सहयोग गर्दै आएका छन् ।
३५ वसन्तमा हिँड्दै गरेका शिशिरले आफ्नो मात्र हैन अब परिवारका अन्य सदस्यको जन्मदिनमा समेत यस्तै सामाजिक काम गर्ने अठोट लिएका छन् । ‘संस्कार भनेको हामीले सिकाउने हो, मैले मेरा परिवारका हरेक सदस्यलाई जन्मदिनमा मात्र हैन, अन्य बेलामा समेत दिनदुखीःलाई सक्दो सहयोग गर्नुपर्छ भनेको छु ।’
मानव जिवन भनेको मोजमस्ती गर्ने मात्र हैन, हामीले सामाजिक दायित्व समेत निर्वाह गर्न सक्नुपर्दछ । जन्मदिनमा होटल रेष्टुरेन्ट गएर जाँडरक्सीमा लाखौं खर्च गर्दा क्षणिक मनोरञ्जन प्राप्त होला तर, जिवनभरको आत्मसन्तुष्ठिका लागि हामीले आन्तरआत्मादेखि नै गरिब दिनदुःखीको सेवा गर्नुपर्दछ । यसले हामीलाई सामाजिक हुन सिकाउने मात्र हैन, समाजमा उदाहरणीय ब्यक्तित्वका रुपमा स्थापित पनि गर्न प्रेरित गर्दछ ।
त्यसकारण अब हामीले शिशिर सिंखडाले जस्तै आफ्नो जन्मदिनमा सामाजिक काम गर्ने अभियान थाल्न जरुरी छ ।
“