भेलले बगाउँदा बाँकेमा चारको मृत्यु, सडक सम्पर्क टुट्यो

“
नेपालगन्ज, असार १८ । विभिन्न खोला र नहरमा आएको भेलले बगाउँदा बाँकेमा चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङका अनुसार मृत्यु हुनेमा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा, सोही गाउँपालिका–५ का ३५ वर्षीय लोकबहादुर सुनार, कोहलपुर नगरपालिका–४ का चार वर्षीय रञ्जीत पासी र डुडुवा गाउँपालिका–२ का चार वर्षीया रिमादेवी यादव छन् ।
जिल्ला दैवी विपद् व्यवस्थापन समितिले वर्षाको स्थितिको आकलन गर्दै समितिअन्तर्गतका विभिन्न समूहलाई उद्धार तथा राहतका काममा परिचालन गरिसकेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।
नरैनापुरको नेपालगञ्जसँग सडक सम्पर्क टुट्यो
अविरल वर्षाका कारण राप्तीपारि नरैनापुर गाउँपालिकाको नेपालगञ्जसँग सडक सम्पर्क टुटेको छ ।
आइतबार रातिदेखि परेको वर्षाका कारण सडक पूरै अवरुद्ध भएको छ । निर्माणाधीन हुलाकी सडक निर्माणका क्रममा लापर्बाही गर्दा आवतजावत प्रभावित भएको हो ।
पुल निर्माणको काममा ढिलाइ हुँदा उचित डाइभर्सनको अभाव भएर गएरातिदेखि आवतजावत ठप्प भएको हो । “ठाउँठाउँमा पुल बनिरहेका छन्, तर पुल बनाउनुअघि डाइभर्सन बनाउनुपर्ने मापदण्डलाई बेवास्ता गरिएकाले अहिले पानी पर्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ,” गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आक्रोश पोखे ।
वर्षायाममा यस्तै अवस्था हुन्छ भनेर आफूले पहिल्यैदेखि नै हुलाकी सडक आयोजना प्रमुख, ठेकेदार र प्रमुख जिल्ला अधिकारीलाई सचेत गराउँदै आएको भए पनि सुनुवाइ नहुँदा यो अवस्था आएको उनले बताए ।
“अब न भारततिर जान सक्ने अवस्था छ, न नेपालगञ्ज आउने अवस्था छ, आफ्नो २ नं वडामा रहेको घरबाट गाउँपालिका कार्यालय पनि जान सकिरहेको छैन,” अध्यक्ष शाहले भने ।
यस सम्बन्धमा रासससँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले अस्थायी भए पनि नेपालगञ्जसँग नरैनापुर क्षेत्रको सडक सम्पर्क जोड्न निर्माण कम्पनी र आयोजना कार्यालयमा निर्देशन दिएको बताए ।
यसैगरी, मनसुन शुरु भएसँगै बाँके जिल्ला विपत् व्यवस्थापन समितिअन्तर्गतका कलस्टर समूहलाई उच्च सतर्कताको स्थितिमा राखिएको पनि उनले बताए ।
भारतले अन्तर्राष्ट्रिय नियमविपरीत बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्र नजिक बनाएको लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी त्यहाँका गाउँ डुबानमा पर्ने गरेका छन् ।
करीब ६० घर डुबानमा
अविरल वर्षापछि बाँके जिल्ला कट्कुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुरका करीब ६० घर डुबानमा परेका छन् । पानीको सहज निकास नभएका कारण घर डुबानमा परेका हुन् ।
डुबानमा परेका घरका सदस्यको उचित राहतका लागि स्थानीय प्रशासन कार्यालयले अहिले उच्च सतर्कताका साथ काम गरिरहेको प्रजिअ केसीले बताए । कार्यालयले पानी अझै पर्ने सम्भावना रहेकाले विभिन्न नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रहसमेत गरेको छ ।रासस
“








