डा. केसीलाई अस्पताल नलैजान गृहमन्त्रीको निर्देशन, चिकित्सक संघले आन्दोलन गर्ने

“
जुम्ला, असार १८ । तीन दिनदेखि आमरण अनशन बसेका डा. गोविन्द केसीलाई नेपाल चिकित्सक संघ कर्णाली शाखाले सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेको छ ।
अनसन बस्ने भनि जुम्ला पुगेका डाक्टर गोविन्द केसीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल चिकित्सक संघले विज्ञप्ती मार्फत माग गरेको हो ।
अनसनका कारण डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र प्रशासनले अस्पतालमा जान समेत अवरोध गरेपछि संघले संघले डा केसीको उपचारको माग गरेको हो ।
यथासिघ्र सुरक्षित स्थानमा स्थानान्तरण गरिएन भने हामी चिकित्सकहरु क्डाभन्दा कडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुनेछौं,’ विज्ञप्तिमा भनिएको छ ।
संघले डा. केसीलाई कबर्ड हलमा कैदी सरहको अवस्थामा राखेको भन्दै विरोध गरेको छ । अनसनका लागि जुम्ला पुगेका डा. केसीलाई शनिबार प्रहरीले हिरासतमा लिएको घटनाप्रति संघले आपत्ती जनाएको छ ।
पटक पटकको अनसनका कारण डा केसीको अवस्था यसपटक अनसनको दोस्रो दिनमा नै जटिल बनेको बताइएको छ ।
डा. केसीको अवस्था जटिल बनेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले अस्पताल सार्नुपर्ने भन्दै जुम्लास्थित जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई जानकारी गराएका थिए । लगातारको अनसन र चिसो तथा फोहोर कोठामा अनसन बस्दा डा केसीलाई आइसियुमा लैजानु पर्ने अवस्था आइसकेको भन्दै चिकित्सकहरुले प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई जानकारी गराएका थिए ।
चिकित्सकको टोलीले डा केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएपछि प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा डा केसीको अवस्था र आइसियुमा लैजानु पर्ने विषयमा अवगत गराएका थिए। तर, गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्री कार्यालयबाट डा केसीलाई अस्पताल नलैजान र यथास्थानमा नै राख्ने कुरा भएको भन्दै अस्पताल नलैजान निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।
गृहमन्त्रीबाट नै उपचारमा नलैजान भन्ने आदेश आएपछि जुम्ला प्रशासनले डा केसीलाई शनिबारबाट अनसन गरिरहेको स्थान कवर्डहलमा नै राख्न भनेको छ । प्रतिष्ठानका चिकित्सकले भने अध्याँरो र फोहोरी कोठामा राख्दा डा केसीको स्वास्थ्यमा जतिबेला पनि संक्रमण फैलनसक्ने बताइरहेका छन्।
तर, प्रशासनले माथिको आदेश नआएसम्म पठाउन नमिल्ने भन्दै अवरोध सिर्जना गरिरहेको छ ।
चिकित्सा शिक्षामा सुधार गर्नुपर्ने माग राखेर जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न जाँदै गर्दा पक्राउ परेपछि डाक्टर केसीले शनिबार दिउँसो ३ बजे प्रहरी कार्यालयमा अनसन सुरू गरेका थिए ।
“








