लिपस्टिक अण्डर माई बुर्का: समाजको तितो सत्य

भारतीय चलचित्र बोर्डसँगको लामो लडार्इँपछि शुक्रबारदेखि सिनेमा घरहरुमा ‘लिपस्टिक अण्डर माई बुर्का’ प्रदर्शनमा आएको छ । रिलिजमा आउनु पूर्व नै विवादले घेरिएको चलचित्र कस्तो छ त रु भारतीय अनलाइन जागरण डट कमका लागि अमित कर्णले लेखेको समीक्षाको भावानुवाद
प्रमुख कलाकारः कोन्कना सेन शर्मा, रत्ना पाठक शाह, आहना कुमरा आदि
निर्देशकः अलंकृता श्रीवास्तव
निर्माताः प्रकाश झा
समयः १ घण्टा १८ मिनेट
रेटिङः ३.५

महिलाहरुको खुशी, सपना, कल्पना, चाहना तथा महत्वाकांक्षाहरुलाई बढाइचढाई नगरिकन अलंकृता श्रीवास्तवले यस चलचित्रमा प्रस्तुत गरेकी छन् । जसरी सहादत हसन मन्टो र इस्मत चुगतई जसरी आफ्ना कथामा प्रस्तुत हुन्छन्, त्यसरी नै श्रीवास्तव पनि प्रस्तुत भएकी छन् । चलचित्रको कथाको पृष्ठभूमि भोपाल सहरमा केन्द्रित रहेको छ । भोपाल आधुनिक र पुरानो संस्कृतिको बीचमा तालमेल मिलाउने प्रयास गरिरहेको सहर हो ।
चलचित्रमा बुआजी उर्फ उषा, शिरीन असलम, लीला, रिहाना त्यहाँको खण्डहर बन्दै गरेको नदी किनारमा रहेको हवा महलमा बस्दछन् । बुआजी घरबेटी हुन्, अरु सबै भाडामा बस्ने । त्यहाँको माहोल नै पीडादायी छ । महिलाको दृष्टिकोणबाट हेर्ने हो भने त झनै ।
शिरीन श्रीमानलाई थाहै नदिइकन सेल्स गर्लका रुपमा काम गर्दछिन् । लीलाको ब्यूटी पार्लर रहेको छ तर उनी बाहिर गएर आफ्नो सपना साकार पार्न चाहन्छिन् । त्यस्तै, रिहाना कलेज पढ्दै गरेकी युवती हुन्, जो माइली साइरसजस्तै लोकप्रिय गायिका बन्न चाहन्छिन् । तर परिवारले उनलाई बुर्का सिलाउन सिक्न दबाब दिन्छन् । उनका बुवाले उनलाई सहरको सबैभन्दा राम्रो कलेजमा पढाएका त छन् तर उनलाई आफ्नो सपना पूरा गर्ने छुट छैन । लीलाकी आमा ऋणमा डुबेकी छन् । लीला एक फोटोग्राफर अरशदसँगको प्रेममा हुन्छिन् तर उनकी आमा अर्कै केटासँग लीलाको बिहे होस् भन्ने चाहन्छिन् ।
सबै जना त्यस्तो कुण्ठित समाजमा बाँच्न बाध्य हुन्छन् जहाँ महिलाको इच्छा र चाहनालाई वर्जित मानिएको हुन्छ । महिलाहरु महत्वाकांक्षी बन्न चाहेमा पनि समाजले औंलो ठड्याउँछ । निर्देशक अलंकृताले त्यस्तै महिलाको कुण्ठालाई शारीरिक आवश्यकताको माध्यमबाट प्रस्तुत गरेकी छन् ।
चलचित्रको सार यो छ कि, घरको चौघेरादेखि ‘सुरक्षित’ बेडरुममा पनि महिलाको चाहनालाई प्राथमिकता दिइँदैन, उनीहरुको संसार जित्ने सपनाको कुरा त कहाँ हो कहाँ । रिहानालाई यस्तो परिवेशमा माइली साइरस जस्तो बन्ने चाहना परिवारसामु राख्नु भनेको मंगल ग्रहको यात्रामा जाने चाहना राख्नुजस्तै हुन्छ । गायिका बन्ने उनको चाहना सुनेर उनका ‘आफन्त’ आश्चर्यचकित १ शिरीन असलमलाई उनका सहयात्रीले बच्चा जन्माउने मेसिन सम्झेका हुन्छन् ।
विधवा बुआजी ५५ वर्षकी मात्रै छन् । तर उनको लागि शारीरिक आवश्यकताको कुरा गर्नु पनि ‘पाप’ ठहरिन्छ । पुरुषप्रधान समाज चारै जना महिलाको जीवनमा पर्खाल बनेर उभिएको छ । कथित पुरुषवादी अहमको साङलो ती महिलाको खुट्टामा लगाइएको छ । उनीहरु विरोध गर्न पनि सक्दैनन् ।
यही कुराले नै चलचित्रलाई एपिक बन्नबाट रोकेको छ । त्यस्तै रिहानाको जगमगाहटप्रतिको ज्यादै नै आकर्षणले पनि व्यवहारिकताको कमी देखिन्छ । सेलिब्रेटीलाई आदर्श मान्ने र मनाउने प्रथाबाट चलचित्रकर्मीहरु टाढा बस्नुपर्दछ । त्यसको ठाउँमा सरकारी अफिसर बन्ने उद्धेश्य पनि त हुनसक्छ । लीलाको कुरामा पनि यही समस्या देखिन्छ ।
खुला विचारधारा बोक्ने लीलालाई पनि थाहा हुँदैन कि उनलाई सबैभन्दा आवश्यक कुरा के हो । उनी केबल आफ्नो प्रेमी अरशदसँग जीवन बिताउन चाहन्छिन् । यसमा पनि उनमा परिपक्वताको कमी देखिन्छ । यो पुरुषप्रधान समाजको साइड इफेक्टको कारणले पनि भएको हुन सक्छ । तर निर्देशकले कथा भन्ने शैलीमा भने नयाँपन छ ।
बुआजी ‘लिपस्टिक वाले सपने’ नामक किताबबाट प्रभावित छन्, जसमा उन्मुक्त सपना र चाहनाका किस्सा समेटिएका छन् । त्यसको नायिका रोजी बुआजी, लीला, रिहाना र शिरीनको आदर्श पनि हुन सक्दछ । तर त्यो आदर्श चलचित्रका चारै जना महिला पात्रले हासिल गर्न सक्दैनन् । कोशिश चाहिँ पक्कै गर्दछन् । रोजीको कथामार्फत चारै जना पात्रको जीवनको यौवनकालका खुड्किलाको गहन प्रस्तुति गरिएको छ । त्यो यौवन तिनिहरुलाई नै बोझ बन्दछ । यहाँ ‘यौवन’ को अर्थ इच्छा र चाहना हुन्छ । चलचित्रको सुरुवात किताब पढ्दै गरेकी बुआजीबाटै सुरु हुन्छ र अन्त्य तीनै धुजाधुजा भएको किताबका पानामा हुन्छ ।
पात्रहरुलाई निकै मेहनतपूर्वक निखारिएको छ र स्थाति गरिएको छ । तर चाहिनेभन्दा बढी वर्णन गरकोले क्लाइमेक्स सतही लाग्छ । पीडादायी माहोलमा बाँच्न बाध्य भएका चारै जन महिलाको चलचित्रको अन्त्यसम्म आइपुग्दा पनि समस्याको खाडलबाट बाहिर आउन सक्दैनन् । चलचित्रमा यो अन्तरविरोधका रुपमा देखिएको छ । सायद ‘कथित’ समाजलाई प्रहार गरिएको होला । शिरीनको वैवाहिक बलात्कार, लीलाको अरशदसँगको पटक–पटकको यौनसम्बन्ध भद्धा देखिन्छ । दोहोरिएको दृष्यलाई रोक्न सकिन्थ्यो वा प्रतिकात्मक तरिकाबाट देखाइएको भए अझ राम्रो हुने थियो ।
तैपनि कलाकारहरु रत्ना पाठक शाह, कोन्कना सेन शर्मा, अहाना कुमरा र प्लाबिता बोरठाकुरको अभिनय दमदार रहेको छ । बुआजी, शिरीन, लीला र रिहानालाई उनीहरुले जीवन्त बनाएका छन् । अरशदको भूमिकामा रहेका विक्रान्त मेस्सी र शिरीनको श्रीमानको भूमिकामा रहेका सुशान्त सिंहले पनि कथित ‘पुरुषवादी सोच’लाई चरित्रचित्रण गरेका छन् ।
अलंकृता श्रीवास्तवले पर्दामा उतारेको समाजको तितो सत्य हेर्न दर्शकलाई बानी नभएपनि दर्शकले यस चलचित्रबाट फरक स्वाद भने पाउँदछन् । चलचित्रले यस्तो सत्य देखाएको छ कि जुन हामीले दैनिक देखेभोगेका यथार्थ भन्दा निकै पीडादायी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *