साउदीलार्इ हराउँदै उरूग्वे विश्वकपकाे दाेस्राे चरणमा, सुवारेज भए नायक

काठमाडाैं, असार ६ । साउदी अरेबियालाई  पराजित गर्दै उरुग्वे प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । समुह ए मा रहेको उरुग्वेले दोश्रो चरणको खेलमा पनि जीत हासिल गर्दै अघिल्लो चरण प्रवेश गर्न एसियाली टीम साउदी अरबलार्इ १–० ले पराजित गर्याे  ।

उरुग्वेको जीतका लागि खेलको २३ औं मिनेटमा स्टार स्ट्राइकर लुइस सुवारेजले गोल गरे । समूह बिजेताका लागि अब उसले रुससँग खेल्ने छ । रुसलाई हराउन सके एरुग्वे समूह बिजेता र हराउन नसके वा बराबरी भएपनि समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुग्ने छ । सुआरेजको यो ५२औं अन्तर्राष्ट्रिय गोल हो।

उरुग्वेले अहिलेसम्म साउदीलाई हराउन सकेको थिएन । साउदी पहिलो खेलमा आयोजक रुससँग ५–० ले पराजित भएको थियो । उरुग्वेले पहिलो खेलमा इजिप्टलाई १–० ले पराजित गरेको थियो ।

दुई पटकको पुर्व विजेता उरुग्वे अघिल्लो संस्करणमा प्रिक्वाटरफाइनलबाट बाहिरिएको थियो। साउदी अरब भने सन् २००६ पछि पहिलो पटक विश्वकप खेलेको हो । साउदीले सन् १९९४ यता विश्वकपमा जित हात पार्न सकेको थिएन । साउदीले सन् १९९४ मा आयोजित विश्वकपमा दोस्रो चरणसम्मको यात्रा तय गरेको थियो।

यी दुई टोलीबीच अन्तिम पटक सन् २०१४ मा भेट भएको थियो जुन खेल १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसअघि एकपटक मात्र भेट भएकामा सन् २००२ को उक्त प्रतिस्पर्धा साउदी अरबले ३–२ गोलले जितेको थियो। समूह बी को दोश्रो चरणको खेलमा स्पेन र इरानबीच राती पाैने १२ बजे खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *