वृक्षरोपण गरेर बिपीको ३५औँ स्मृति दिवस मनाइयो

भक्तपुर, साउन ६ । प्रजातन्त्र सेनानी एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३५औँ स्मृति दिवस भक्तपुरमा विविध कार्यक्रम गरेर मनाइएको छ । बिपी चिन्तन प्रतिष्ठानले आज मध्यपुरथिमि–१ लोकन्थलीस्थित बिपी वनवाटिकामा वृक्षरोपण गरेर स्मृति दिवस मनाएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व वनमन्त्री शंकर भण्डारीले पश्चिमा देशहरुले नेपालको समृद्धि र धरोहरलाई कमजोर पार्ने प्रयास गरेको बताउँदै यसतर्फ सचेत हुनुपर्ने बताएका थिए ।

स्थानीय तहको निर्वाचनको प्रसंग कोट्याउँदै उनले पहिलो चरणको निर्वाचनको समीक्षा नगरी दोस्रो चरणको निर्वाचनमा जथाभावी टिकट बाँड्दा काँग्रेसले धेरै ठाउँमा हार व्यहोर्नुपरेको जिकिर गरे । चुनावमा सिंगो पार्टी लाग्न नसकेको टिप्पणी गर्दै
उजले पार्टीले चुनाव नलडी, व्यक्तिले चुनाव लडेको आरोप लगाए ।

कार्यक्रममा सांसद मनमोहन भट्टराईले बिपीको मेलमिलापको नीतिलाई काँग्रेसले पालना गर्नुपर्नेमा जोड दिए । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हरिबोल भट्टराई, जिल्ला अध्यक्ष गणेश प्रजापतिलगायतले बिपीकोे विचारलाई काँग्रेसले आत्मसात् गर्न नसकेको गुनासो गरे ।

कूल पाँच रोपनी क्षेत्रफलमा फैलिएको बिपी वनवाटिकामा पार्क निर्माण गरी बिपी कोइराला, स्थानीय नेता जगन्नाथ आचार्य र कमलबहादुर खड्काको शालिक निर्माण गरिने वाटिका जग्गा व्यवस्थापन समितिका संयोजक विजयकृष्ण खड्काले बताएका थिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *