७५ वर्षीय वृद्धा गङ्गा भन्छिन् ‘नोबेललाई आर्शिवाद लागेस्’

झापा, १ फागुन । झापाको शिवसताक्षी नगरपालिका–७ ब्याङ्गडाँडामा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट करिब १५ सय बिरामी लाभान्वित भएका छन् । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा स्थानीय कल्याणकारी व्यापारी समूहसँग सहकार्य गरी लायन्स क्लब अफ दमक माउन्ट एभरेष्टले शिविर आयोजना गरेको हो ।

स्थानीय चेतना माध्यमिक विद्यालय परिसरमा आयोजित शिविरबाट करिब १५ सय बिरामीले उपचार सेवा पाएको आयोजक लायन्स क्लबका अध्यक्ष रुद्र गौतमले जानकारी दिए । उनका अनुसार शिविरबाट शिवसताक्षी नगरवासीसहित आसपास क्षेत्रका बिरामीले बढी लाभ लिएका छन् । शिवगंज, दुधे, लालझोडा, चिल्लागढ, झिलझिले, धरमपुर लगायत स्थानबाट बढी मात्रामा बिरामी उपचारका लागि शिविरमा आएका थिए । बालबालिकादेखि बृद्धबृद्धासम्म सयौँ बिरामीले शिविरमा निःशुल्क उपचार गराएका छन् । उपचारका लागि आउँनेमा महिलाको सङ्ख्या धेरै थियो ।

शिविरमा बिरामीको भीड ।

शिविरमा नोबेलका करिब तीन दर्जन बिषेशज्ञ डाक्टरले बिरामीको उपचार गरेको नोबेल मेडिकल कलेजका मार्केटिङ मेनेजर सञ्जय मण्डलले बताए । बिषेशज्ञ डाक्टरहरूबाट आँखा, हाडजोर्नी, दन्त, स्त्री लगायत रोगको परीक्षण गरी बिरामीलाई निःशुल्क औषधी वितरण गरिएको छ । शिविरमा आएका बिरामीले भिडियो एक्सरे, ईसीजी, रगत परीक्षण, दाँत उखेल्ने लगायत सेवा पनि निःशुल्क पाएका छन् । आँखामा मासु पलाएका बिरामीको शिविरमै शल्यकृया पनि गरिएको छ । गाउँमा आयोजित शिविरमा नोबेलका बिषेशज्ञ डाक्टरहरू आएपछि बिरामीको भीड लागेको थियो । बिषेशज्ञ डाक्टरबाट उपचार गराउँन पाएपछि बिरामीले पनि राहत महसुस भएको प्रतिक्रिया दिएका छन् ।

शिविरमा बिरामीको स्वास्थ्य परीक्षण गरिँदै ।

गाउँमै बिषेशज्ञ डाक्टरबाट उपचार गराउँन पाउँदा धेरै खुसी लागेको स्थानीय ब्याङ्गडाँडाका वृद्ध राधाकृष्ण सोडारीले बताए । ‘ठुला अस्पतालमा उपचार गराउँन जान सकिँदैन ।’ ७२ वर्षीय सोडारीले भने ‘गाउँमै ठुला डाक्टरले सितैमा उपचार गरेर औषधि दिएकाले धेरै खुसी लागेको छ ।’ शिविरमा दाँत, नाक, आँखा र मुटुको परीक्षण तथा उपचार गरेर फर्किँदै गर्दा सोडारीले हाँस्दै भने ‘ठुला डाक्टरबाट सित्तैमा उपचार गर्न पाउँदा कसले छोड्छ, मैले त सबै थोक चेक गराए ।’ नोबेल अस्पतालले गाउँलेको निःशुल्क उपचार गरेर गुन लगाएको सोडारीको भनाई छ ।

त्यस्तै शिविरमा परीक्षण गरी औषधि लिएर फर्किएकी स्थानीय नहरचौककी ७५ वर्षीय वृद्धा गङ्गा खतिवडाले पनि गाउँमै बिषेशज्ञ डाक्टरबाट निःशुल्क उपचार गराउँन पाएकोमा खुसी व्यक्त गरिन् । पथरिया र सुगर रोगको उपचार गराउँन काठमाण्डौं जाँदा धेरै कष्ट बेहोर्नु परेको गुनासो सुनाउँदै वृद्धा खतिवडाले भनिन् ‘गाउँमै सित्तैमा उपचार गराउँन पाए बाबु, नोबेललाई आर्शिवाद लागेस् ।’ नोबेल अस्पतालले विपन्न वर्गलाई लक्षित गरी पूर्वका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

थप तस्बिरहरू…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + ten =