मुख्यमन्त्री फेरिदैछ भनेर अफवाह मात्र फैलाइएको हो : मुख्यमन्त्री राउत

रौतहट, जेठ २२ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश दुईमा मुख्यमन्त्री फेरिदैछ भनेर अफवाह मात्र फैलाइएको बताएका छन् । उनले मुख्यमन्त्री फेरिने हल्ला निराधार रहेको जिकिर समेत गरेका छन् ।

रौतहटको गौरमा पत्रकारसँग कुरा गर्दै उनले संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदा पनि प्रदेश २ मा राजपासँगको गठबन्धन नटुट्ने समेत दाबि गरे ।

प्रदेश सरकारको म्याण्डेट भनेकै फोरम र राजपा गठबन्धन भएको भन्दै मुख्यमन्त्री राउतले दुवै पार्टीले मिलेर चुनाव लडेकोले जनताले दिएको म्याण्डेटकै अनुसार सरकार ५ वर्षसम्म टिक्ने बताए ।

प्रदेश सरकारले केही गल्ती गरेको भए खबरदारी गर्न आग्रह गर्दै मुख्यमन्त्रीले सञ्चारमाध्यममा आएजस्तो प्रदेश सरकार परिवर्तन नहुने प्रष्ट पारे ।

मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारीमा केन्द्र सरकारले सात पैसा पनि निकासा नगरेको दावी गरे । मोदी भ्रमणका बेला मञ्च व्यवस्थापन तथा अन्य खर्चको भुक्तानी गर्न अझै बाँकी रहेको भन्दै उनले कति रकम खर्च भएको छ सो को पूर्ण विवरण अझै नआएको बताए ।

शिक्षा र स्वास्थ्यमा निकै पछाडि रहेको यस प्रदेशलाई सबल र समृद्ध प्रदेश बनाउने लक्ष्य रहेको मुख्यमन्त्री राउतले बताएका छन् ।

रोजगारीको ठूलो समस्या रहेको यस प्रदेशमा मानवीय सूचकांंकको अवस्था हेर्दा प्रदेश निकै पछाडि रहेकोले संघियता पछिको पहिलो सरकारलाई सबै समस्याहरु समाधान गर्दै अगाडि बढनुपर्ने चुनौती रहेको बताए ।

मुख्यमन्त्री लालबाबु राउतले मंगलबार नै गौर नगरपालिकाले अधिग्रहणको प्रक्रिया अगाडि बढाएको गौर राइसमिलको समेत निरीक्षण गरेका छन । मुख्यमन्त्री राउत गरुडा नगरपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमका लागि रौतहट आएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + ten =