भारतसँग शीर उठाएर सम्बन्ध सुधार गरेका छौं : ओली

काठमाडौं,जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग शीर उठाएर सम्बन्ध सुधार गरेको बताएका छन् ।

सोमबार प्रदेश ३ को संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेत्र गर्दिन भनेपछि सम्बन्ध पुनःस्थापना भएको बताए ।

‘छिमेकिसँग सम्बन्ध सुमधुर भएको छ । सम्बन्ध पुनःस्थापित भएको छ । म गर्वका साथ भन्न चाहन्छु । सम्बन्ध सुधार हुनुपर्छ भनेर निहुरिएर होइन, झुकेर होइन । आफ्ना आन्तरिक मामिलामा हस्तक्षेप स्वीकार गरेर होइन । सार्वजनिक सत्तालाई अण्डरमाइन गर्न दिएर होइन । स्वतन्त्रता र भौगोलिक अखण्डतालाई नजरअन्दाज गरेर होइन । मिल्नै पर्छ जसरी पनि भनेर होइन । आन्तरिक मामिलामा हस्तक्षेप गर्दिन भनेर, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनतालाई मानेर, शीर उठाएर सम्बन्ध सुधार गरेका छौं ।’

प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका बेला केही गलत चर्चा गरिएको भन्दै हल्ला गरिए जस्ता राष्ट्रहित विपरीत र अनुचित कुनै सम्झौता नभएको दावी गरेका छन् ।

सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा उठाएको भन्दै प्रधानमन्त्री ओलीले त्यसका प्रमाणहरु रेकर्ड भएको बताए । ‘अन्तर्राष्ट्रिय सम्बन्ध उचाइमा पुगेको छ ,’ प्रधानमन्त्री ओलीले भने, ‘छिमेकिसँगको सम्झौता र संयुक्त प्रेस वक्तव्य भए । यी सबै कुराले पुष्टि गर्छ । हामी खोक्रो दावी गर्दैनौं । सबै कुरा रेकर्ड छन् ।’

सरकारले राष्ट्रियतालाई असाधारण महत्व दिएको भन्दै आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न नसक्ने दावी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − four =