“काठमाडौँबाट भारततर्फ जाँदै गरेको गाडीमा भेटियो सुन, शैनी भन्छन् “”मेरै हो”””

“
कञ्चनपुर, जेठ २ । काठमाडौँबाट भारततर्फ जाँदै गरेको बसबाट सुन बरामद गरिएको छ । काठमाडौंबाट महेन्द्रनगरस्थित गड्डाचौकी नाका भएर भारतको हरियाणा जाँदै गरेको एच आर १२ ए एफ ००६ नम्बरको भारतीय गाडी चेक जाँच गर्ने क्रममा सो गाडीबाट प्रहरीद्वारा आधा किलो सुन बरामद गरिएको हो ।
सो गाडिमा सवार हरियाणाका जितेन्द्र शैनीले उक्त सुन आफ्नो भन्दै काठमाडौंबाट खरिद गरेर सुन लिएर भारत जाँदै गरेको बताएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गत वैशाख ३१ गते गड्डाचौकी नाका भएर सो गाडी नेपाल भित्रिएको भन्सार कार्यालयको रेकर्डमा छ ।
तेस्रो मुलुकबाट अवैध सुन काठमाडौं भित्राउने र काठमाडौंबाट भारतमा निकासी हुने गरेको प्रहरीले यसअघि गरेका अनुसन्धानबाट पत्ता लागेको छ ।
तर, हरियाणा जाँदै गरेको बसबाट बरामद आधा किलोको उक्त सुन अवैध हो कि होइन भन्ने खुलेको छैन । यसबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
“








