मोदी विरोधी अभिव्यक्तिमा प्रम ओलीको प्रश्न, त्रुटीमै अल्झिएर बस्ने कि सम्बन्धलाई अगाडी बढाउने ?

काठमाडौँ, वैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा राष्ट्रिय हित तल माथि नभएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीको नेपाल भ्रमण राष्ट्रियताको विरोधमा नभई उपलब्धीपूर्ण र तीन वर्षअघि तनावपूर्ण रहेको नेपाल भारत सम्वन्ध नयाँ स्तरमा प्रवेश गरेको र बराबरीको हैसियतमा अगाडि लैजाने वातावरण बनेको बताएका हुन् ।

मोदीको नेपाल भ्रमणबारे ओलीले राष्ट्रियताप्रति देखाएको सजगताका लागि जनतालाई धन्यवाद दिँदै आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नाकाबन्दी लागेको स्मरण गर्दै ओलीले भने, ‘हामीले लगातार भन्दै आयौं, सम्बन्ध दुई सार्वभौमसत्ता सम्पन्न राष्ट्रको हैसियतमा हुन्छ, हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा सम्वन्ध र व्यवहार गर्छौं ।’

प्रम ओलीका अनुसार, ‘मलाई खुसी लागेको छ, यसपल्ट प्रधानमन्त्री मोदीका अभिव्यक्तिहरुमा हाम्रा अखण्डता र सार्वभौमसत्ताको प्रश्न, हाम्रा आवश्यकता र प्राथमिकता अनुसार हामी अगाडि बढेकोमा आफ्नो चित्त नदुख्ने र त्यसमा सहयोग गर्ने खुलस्त प्रकट भएको छ । र यो सम्वन्धलाई बराबरीका आधारमा अघि बढाउने प्रस्थान विन्दु भएको छ ।

मोदीको स्वागत गर्न नहुने अभिव्यक्तिप्रति औला उठाउँदै ओलीले भने विगतका त्रुटीमै अल्झिएर बस्ने कि अगाडी बढ्ने भनी प्रश्न उठाएका थिए ।

दुई उत्तर कोरियाका नेताको भेट, ट्रम र किमको आगामी वार्ता तथा शी जिनपिङ र मोदी वार्ता उल्लेख गर्दै ओलीले भने, ‘सम्बन्धहरु बिग्रिनु नराम्रो हो तर, दुर्भाग्य विभिन्न कारणले कहिले बाँकी तलमाथि पर्छ । चिसोपनमा खुसी हुने होइन, हटाउने कोसिस गर्नुपर्छ ।’

नेपाल भारत सम्वन्ध बिग्रिएको बेलामा पनि आफूले ‘हामी सम्वन्ध विग्रिएर खुसी छैनौं । दुखी छौं । विग्रिएको हाम्रो कारणले होइन । हामी विग्रिने कारणहरु हटाउन चाहन्छौं र सम्वन्ध सुधार गर्ने बाटोमा फर्काउन चाहन्छौं’ भनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले यदि त्यसमा सफल भए खुसी हुनु पर्ने बताए ।

स्वाभिमानपूर्ण ढंगले विग्रिएको सम्वन्ध सुसम्वन्धमा ल्याएको भन्दै उनले भने, ‘हैस्तक्षेप शिरोधार्य गर्ने होइन, अ(हस्तक्षेप, पारस्परिक लाभ र सम्मानका आधारमा अगाडि बढाएर लैजान सकिने वातावरण निर्माण भएको छ ।’

नेपाल आएर मित्रता अभिबृद्धिमा योगदान गरेको भन्दै उनले भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए । ‘उहाँले सिमानामा बाँध बाधेर डुवाउँछु भन्नु भएन, बाँध बाँधिएर डुवान भएकोमा खोल्छु भन्नु भएको छ । नबनिएको कुरा नबनाएरै छोड्नु भन्नु भएको छैन, बनाउने भन्नु भएको छ,’ ओलीले भने, ‘म अपेक्षा गर्छु ति कुराहरुको कार्यान्वयनमा हामी रुची साथ अघि बढौं र भारत त्यही रुचीका साथ अघि बढ्नेछ ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय हित, स्वाभिमानमा कुनै तलमाथि नभएको भन्दै ढुक्क रहन आग्रह गरे । उनले भने, ‘अध्ययन गर्नु भएहुन्छ, वक्तव्यहरु सार्वजनिक छन् । कुनै शब्दमा पनि तलमाथि परेको छ भने म जिम्मा लिन्छु ।’ राष्ट्रहितललाई शिरोधार्य गरिएको छ, मनमा राखिएको छ, कहिल्यै पनि छोडिएको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *