दुई हजारको भारु नोट नेपालमा नचल्ने

काठमाडौं, असार ३० । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले सहमति नदिएकाले नेपालमा २ हजार दरका भारु नोट नचल्ने भएको छ । भारतले ५ सय र १ हजार दरका पुराना भारु प्रतिबन्ध लगाएर नयाँ २ हजार दरको नोट जारी गरेपनि आरबीआईले स्वीकृति नदिएकाले नेपालमा नचल्ने भएको हो ।
२ हजारका भारु नोट नेपालमा अवैध हुने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए ।

जनता बैंकले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबारको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय भारतले दुई हजारको नोट चल्तीमा ल्याए पनि नेपालमा उक्त नोट चलाउने सम्बन्धमा कुनै पनि जानकारी आइनसकेको बताए । “दुई हजारको नोट चलनलल्तिमा ल्याउन भारत सरकारले नेपाललाई पत्र लेख्नुपर्छ,” उनले भने, “त्यसपछि राष्ट्र बैंकले सर्कुलर जारी गर्न पर्छ । अनिमात्र चल्तिमा आउँछ ।”

उनका अनुसार अहिलेसम्म त्यस सम्बन्धमा कुनै पनि जानकारी आएको छैन । “५ सय र हजारको भारु नोटको लागि नयाँ सूचना जारी गर्न पर्दैन, पुरानैले हुन्छ । ती नोटहरु ‘लिगल टेण्डर’ नभएको भारतले पहिल्यै घोषणा गरिसकेको छ,” उनले भने । भारु ५ सय, हजार र २ हजारको नोटको कारोबार नगर्न डेपुटी गभर्नर सिवाकोटीले सचेत गराएका छन् ।
त्यस्तै, उनले बैंकले लिएको एकआपसमा गाभिने र खरिदको नीति सफल हँुदै गएको बताए । उनले भने, “अब औंलामा गन्न सकिने बैंकहरु मात्र गाभिने र खरिद प्रक्रियामा रहेका छन् । बाँकी ठूल–ठूला बैंक तथा संस्थाहरु गाभिने र खरिद गरेर पुँजी बृद्धि गरिसकेका छन् ।”

उनका अनुसार चालू आर्थिक वर्ष आर्थिक दृष्टिकोणले उत्साहजनक छ । लामो समयसम्म न्यून रहेको बचतको ब्याज उत्साहजनक रुपमा बढेको छ । आपूर्तिमा उल्लेख्य सुधार भएको छ ।
आगामी वर्ष ७.२ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य छ । त्यसलाई आत्मसात गर्न राष्ट्र बैंकले मौद्रिक नीति भर्खरै जारी गरेको उनले जानकारी दिए ।

लामो समयसम्म ८÷९ प्रतिशत वृद्धि रहेको र गत वर्ष विभिन्न अवरोधहरुका कारण १२.६ प्रतिशतसम्म पुगेको मूल्यवृद्धिलाई यो वर्ष ७.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य रहेको उनले बताए । जेठ मसान्तसम्मको आँकडा अनुसार मूल्यवृद्धि ४.६ प्रतिशतमा रहेको उनले जनाए । “आगामी वर्ष ७ प्रतिशतमा मूल्य वृद्धि सीमित गर्नेछौं,” उनले भने, “मुलुकको सोधानान्तर पनि जेठ मसान्तसम्म आइपुग्दा ७४ अर्बले सकारात्मक रहेको छ ।” यो वर्षको अन्तमा आइपुग्दा ४÷५ प्रतिशतको हाराहारीमा मूल्यवृद्धि रहने उनले बताए ।

वित्तीय पहुँचमा पनि सुधार आएको सिवाकोटीले जानकारी दिए । अहिले नेपालमा ए, बी, सी र डी गरेर १५३ वटा बैंक तथा वित्तीय संस्थाहरु छन् । गएको वर्षम्म यो संख्या २२० थियो ।

अहिले मुलुकभर २८ वटा वाणिज्य बैंकका २ हजार ११६ वटा शाखा छन् । त्यस्तै, ४४ वटा विकास बैंकका ८०५ वटा शाखा सञ्चालनमा छन् । ३० वटा वित्त कम्पनीका १४८ वटा शाखा रहेका छन् र ५१ वटा लघु वित्तका १ हजार ८२५ वटा शाखा रहेका छन् । कुल ४ हजार ८९४ शाखाले मुलुकको ७५ जिल्लामा सेवा पुर्याइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *