प्रकृतिको कुचिकार मानिने पंक्षी गिद्ध बर्दियाबाट हराए

बर्दिया, असार २८ । प्रकृतिको कुचिकार मानिने पंक्षी गिद्ध बर्दियाबाट हराएका छन्। आहारा प्रजातीको कमी वासस्थान विनासलगायत पशुमा डाईक्लोफेनेक नामक औषधिको प्रयोगका कारण गिद्धको विनास भएसँगै बर्दियाबाट गिद्ध हराएका हुन्।

गाउँघरमा फालिएका सिनोहरु खाएर नष्ट गर्दै स्वच्छ वातावरण गर्ने भएकाले गिद्धलाई प्रकृतिको कुचिकार भनिएको हो। केही दशक अघि बर्दियामा प्रशस्त मात्रामा पाइने भउ पनी अहिले फाट्टफुट्ट मात्र देख्न पाइन्छ । आहारा प्रजातीको कमी लगायत गिद्धको वासस्थान ठूला सिमलका वृक्ष प्रजातीहरु विनास भएपछि गिद्धको संख्या जिल्लामा कमी भएको संरक्षणकर्मी बताउँछन्।

नेपालमा ९ प्रजातीका गिद्धहरु पाइने नेपाल गिद्ध संरक्षण अभियानका सदस्य सचिव राम बहादुर शाहीले बताउनु भयो। उहाँका अनुसार हाडफोर, सेतोगिद्ध, डंगर, सानोखैरो गिद्ध, हिमाली गिद्ध, खैरोगिद्ध, राजगिद्ध, सुनगिद्ध र लामोठुँडे गिद्ध नेपालमा पाइन्छन्।

डंगरगिद्ध, सानोखैरो गिद्ध, सुनगिद्ध र लामो ठूँडेगिद्ध अति संकटापन्न अवस्थामा रहेको उहाँले प्रष्ट्याउनु भयो। त्यस्तै सेतो गिद्ध संकटापन्न अवस्थामा रहेको र हिमाली गिद्ध पनि संकटापन्न उन्मुख रहेको छ। डाइक्लोफेनेक नामक औषधिको प्रयोगबाट मृत्यु भएका पशुहरु गिद्धले खाएपछि मृर्गौला फुटेर मर्ने लगायत प्रजनन् क्षमता हस हुने हुँदा गिद्ध लोप भएको वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ।

नेपालमा प्रशस्त पाइने गिद्ध सन् २००६ मा १ हजार २ सय जोडी मात्र भेटिएको थियोे। अचेल नेपालका करिव ६४ वटा जिल्ला डाइक्लोफेनेक मुक्त घोषणा भैसकेपछि गिद्धको संख्या १२ हजारको हाराहारीमा पुगेको शाहीको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *